महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने बताए ।
शनिबार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले क्रियाशील सदस्यतामा देखिएको विवादलाई पार्टीको विधान र नियम संगत रूपले सम्बोधन गर्नुपर्ने बताए । उनले निर्वाचन समिति निष्पक्ष हुनुपर्ने र निर्वाचन समितिले गरेका काम पनि निष्पक्ष देखिनुपर्नेमा जोड दिए । विवाद भएको ठाउँमा स्थगन गरेर प्रक्रिया पूरा भएको ठाउँको अधिवेशन गर्ने पार्टीको निर्णयअनुसार अधिवेशन नगरेमा अलोकतान्त्रिक गतिविधि बढ्ने भन्दै उनले अधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन पार्टी सभापतिले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘पार्टीलाई शुद्धीकरण गर्नको लागि, पार्टीलाई सुदृढ गर्नको लागि हामीहरू अगाडि बढ्नुपर्छ । डडेल्धुरामा भएको, निर्वाचन समितिमा डेलिगेशन गएर भनिसकेका छौं । उजुरी परेका जुन–जुन जिल्लामा जुन–जुन वडामा परेको छ । त्यसलाई पार्टीको विधान, नियमसम्मत् तवरले सम्बोधन गर्नुपर्छ । निष्पक्ष निर्वाचन समिति हुनुपर्छ । देखिनु पनि पर्छ र काम पनि त्यही अनुसार गर्नुपर्छ भनेका छौं । विवाद मिलाउन नसक्ने क्रियाशील सदस्यतालाई स्थगन गरेर विधि प्रक्रिया पूरा गरेका, नवीकरण गरेकालाई राखेर अधिवेशन प्रारम्भ गर्ने निर्णय भएको छ, त्यसको स्प्रिट अनुसार गर्न सकेन भने अलोकतान्त्रिक गतिविधि बढ्ने भएकाले सभापतिले ध्यान दिनुपर्छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपले सम्पन्न गर्नुपर्छ ।’
नेता सिंहले गठबन्धनका अन्य दलले आन्तरिक व्यवस्थापन समयमै गर्न नसकेका कारण सरकार बिस्तारमा ढिलाइ भएको बताए । उनले प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले संसदमा देखाएको व्यवहार असंसदीय भएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।
उनले वर्तमान सरकारले कोरोनाविरुद्धको खोपलाई रफ्तारमा अघि बढाएको बताए । नेता गणेशमान सिंहले नेपाली राजनीतिको आदर्शवान, राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्त नेताको छवि बनाएको पनि उहाँले उल्लेख गरे ।