बिमाको बढ्दो लोकप्रियता र यसका फाइदा «

बिमाको बढ्दो लोकप्रियता र यसका फाइदा

मानिसको जीवन अमूल्य अनि अनिश्चित छ । भोलिका दिनमा कसलाई के हुन्छ, थाहा हुँदैन । आज मज्जाले हाँस्दै, बोल्दै गरेको मानिस भोलि नहुन पनि सक्छ । यसको उदाहरणका रूपमा हामी २०७२ सालमा गएको भूकम्प अनि यही कोरोना महामारीलाई पनि लिन सक्छौं । त्यसैले आफ्नो क्षमताअनुसार हामीले थोरै–थोरै मात्रामा भए पनि बचत गर्ने बानी बसाल्नुपर्छ । यदि हामी आगामी दिनहरूमा परिवारको साथमा रहेनौं भने पनि हामीले गरेको बचत घरपरिवारका लागि आवश्यक समयमा सदुपयोग गर्न सकिन्छ । त्यसैले घरको खुत्रुकेमा होस् या बैंकमा, सहकारीमा होस् या बिमा गरेर होस्, जुन तरिकाबाट भए पनि समयमा नै थोरै भए पनि बचत गर्ने बानी बसाल्नुपर्छ ।
अझै आजभोलि बिमाप्रतिको लोकप्रियता बढ्दै गएको छ । त्यसमाथि पनि २०७२ सालमा आएको महाभूकम्पपछि बिमाबारे नेपालीहरूले सोच्ने विचारमा ‘सकारात्मक’ परिवर्तन आएको देखिन्छ र नेपालीहरूमा बिमाप्रतिको आकर्षण बढेको छ । तर पनि जति अघि बढ्नुपर्ने हो त्यो गतिमा अझै बिमा व्यवसाय अघि बढ्न सकेको छैन ।
नेपालमा बिमा व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारणहरू नेपाली समुदायमा बिमासम्बन्धी आवश्यक जानकारीको अभाव नै हो । बिमा भनेको के हो ? यसबाट के फाइदा हुन्छ भन्ने जानकारी सर्वसाधारणमा प्रभावकारी ढंगबाट प्रचार–प्रसार हुन सकेको छैन । पश्चिमी मुलुकहरूमा हेर्ने हो भने त्यहाँ हरेकजसो नागरिकले बिमा गर्नैपर्ने व्यवस्था छ । तर, नेपालमा त्यस्तो व्यवस्था छैन । मानिसको जीवन वा धन सम्पत्तिको कुनै टुंगो हुँदैन भन्ने कुरा भूकम्प र कोरोनाले सिकाइराखेको छ । त्यसैले आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रूपमा पनि बिमालाई लिन सकिन्छ ।
बिमा पनि धेरै प्रकारको हुन्छ । जस्तै— जीवन बिमा, स्वास्थ्य बिमा, दुर्घटना तथा सवारी साधन बिमालगायत अन्य प्रकारका बिमा हुने गर्छ । सबैको मुख्य ध्येय पनि यही हो कि भविष्यमा हुन सक्ने जोखिमबाट यसले हामीलाई सुरक्षित राख्छ । बिमा निश्चित समय र निश्चित रकमका लागि गरिने हुँदा हामीले आफ्नो क्षमताअनुसारको रकमको बिमा गर्न सक्छौं । यसरी गरिएको बिमाबाट प्राप्त रकमबाट भविष्यमा हामीले हाम्रा सन्तानहरूलाई राम्रो शिक्षा दिन सक्छौं । छोराछोरीको विवाह, व्रतबन्ध गर्नका लागि पनि उक्त रकम सदुपयोग गर्न सकिन्छ । उक्त रकमबाट हामीले आफ्नो सानोतिनो व्यवसाय गर्न पनि सक्छौ । आफु जीवित नरहे पनि उक्त रकमबाट परिवारलाई धेरै राहत मिल्छ । किनकि जीवन बिमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण गर्नु हो ।
भविष्यमा कसैसँग ऋण लिनुपर्ने जरुरत पर्दैन । बुढेसकालमा कसले पाल्छ, स्याहारसुसार कसले गर्छ होला भन्ने जस्ता चिन्ताबाट पनि यसले मुक्त गराउँछ, किनकि भविष्य अनिश्चित छ ।
आज हामी सक्षम छौं, केही कुराको कमी नहोला तर भोलिका दिनहरूमा आफूले गरेको व्यापार–व्यवसायदेखि रोजगारी सम्पूर्ण गुम्न पनि सक्छ । आफ्नो स्वास्थ्य अवस्था सधैं सबल नहुन पनि सक्छ । त्यसैले आफ्नो अनुपस्थितिमा पनि आफूले गरेको बिमा रकमबाट परिवारलाई राहत मिल्छ भने त्यो धेरै राम्रो कुरा हो । स्वयम् म आफुले नै भविष्यमा बाबुलाई पढाउन सजिलो हुन्छ भनेर बाबुको १९ वर्षे बिमा गरेको छु । त्यसका साथै कार्यालयद्वारा गरिएको स्वास्थ्य बिमा पनि यति धेरै लाभदायक भएको छ कि अब आफू तथा परिवारलाई नै स्वास्थ्यमा केही समस्या भएमा समयमा नै उपचार गराई बिमा कम्पनीमा कागजात पेस गरेमा निश्चित रकम कट्टा गरी बाँकी खर्च भएको रकम फिर्ता आउँदा पनि धेरै नै राहत मिल्दो रहेछ । त्यसैले आफ्नो तथा आफ्नो परिवारको भविष्य सुनिश्चित बनाउनका लागि बिमा एकदम राम्रो उपाय हो ।

प्रतिक्रिया दिनुहोस्