जापानमा जागिर खोज्ने १००, उपलव्ध जागिर १६१

टोकियो-गत वर्ष जापानमा औसत १०० जागिर खोज्नेका लागि १६१ जागिर उपलव्ध रहेको जापान टुडेले जनाएको छ । जागिर खोज्ने र उपलव्ध जागिरको यो अन्त्र १९७३ देखिकै उच्च हो । यसले विश्वकै तेस्रो ठूलो अर्थतन्त्र र पाका उमेरका मानिसको संख्या वृद्धि भएको मुलुकमा मजदुर अभावको अवस्था उजागर गरेको छ ।
श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो अनुपात डिसेम्बरमा अझै उच्च देखिएको छ । डिसेम्बरमा १६३ जागिरका लागि जागिर खोज्ने मानिसको संख्या १०० मात्रै थियो ।
पाका उमेरका मानिसको संख्यामा भएको तीव्र वृद्धि र न्यून जन्म दरका कारण जापानको श्रमबलमा धेरै वर्षदेखि कसिलो रहदै आएको छ र संकुचनको अवस्थामा रहेको छ ।
देशको बेरोजगारी दर पनि डिसेम्बरमा २.४ प्रतिशतको न्यून रहेको छ । यो अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतको गिरावट भएको आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको छुट्टै तथ्यांकले देखाएको छ ।
मजदुर अभावसँगै जापानले अवमूल्यनको अवस्थासँग पनि लामो समयदेखिको युद्ध लडिरहेको छ । गत महिना बैंक अफ जापानले आफ्नो मुद्रास्फीतिको प्रक्षेपणलाई घटाएको थियो ।