रोकिएका श्रमिक कोरिया लैजाने तयारी «

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

भाषा परीक्षा नयाँ प्रविधिबाट गरिने
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएकोे छ । कोरियन पक्षले नेपालबाट सिधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।
कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।
ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ । कोरियन पक्षले राखेका शर्त पूरा गर्ने सम्बन्धमा नेपाल सरकारले प्रक्रिया पूरा गरेका कारण अब भने कोरिया जाने बाटौ खुल्ने छ ।
अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले कोरियन पक्षले राखेका शर्त नेपालले पूरा गरेका कारण रोकिएका नेपाली जाने वातावरण बनेको बताए । “कोरोना संक्रमणका कारण विगत १ वर्षभन्दा बढी समयदेखि रोकिएका श्रमिकको कोरोना बिमा र नेपाल कोरियाबीच सिधा उडानका विषयहरु रहेका छन्,” उनले भने, “कोरोना बिमाको लागि बिमा कम्पनीहरु छनोट भइसकेको र सिधा उडानका लागि पनि टेण्डर आह्वान भइसकेको छ ।” सिधा उडानको लागि अक्टोबर ६ मा सम्झौता गरिने तयारी छ । सम्झौतापछि उडान नियमित उडान सुचारु हुने ईपीएस शाखा नेपालका निर्देशक सुरेश राउतले बताए ।
कोरिया जाने व्यक्तिहरूको पिसिआर परीक्षण नेपालमै व्यवस्थित तथा कडा क्वारेन्टिनको व्यवस्था गरी सिधै एयरपोर्टमा लैजाने गरी तयारी भइरहेको छ । यति गरेर पनि कोरिया पुग्दा कोभिड संक्रमण देखिएमा पुनः यो प्रक्रिया रोकि सक्ने भएकोले सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ । यसअघि यही प्रक्रिया अपनाई ८ वटा देशबाट थोरै संख्यामा लैजान सुरु गरेकोमा हाल ३ वटा देशबाट मात्र श्रमिक कोरिया गइरहेका छन् ।
एनआरडी कोरियाका नेपाल निर्देशक किम उन डकले सबै प्रक्रिया पूरा गरेर रोकिएर रहेका नेपाली श्रमिकलाई लैजाने तयारी भएको बताए । सबै शर्त अनुसारको टेण्डर आह्वान सकिएपछि उडान मिति सार्वजनिक गर्ने बेलामा भिसा प्रक्रिया (सिसिभिआई) को फर्म भर्न सूचना निकालिने भएको छ । कोभिड संकटका कारण कोरिया जाने प्रक्रिया रोकिएको र रोस्टर म्याद सकिएका युवाको लागि म्याद सकिएपछि पुनः अर्को परीक्षा दिनुपर्ने नियम यथावत् राखिएको छ भने श्रम सम्झौता तथा भिसा प्रक्रियामा रहेको म्याद स्वतः थपिने कोरियन पक्षले प्रष्ट पारेको छ ।
संक्रमण कम हँुदै गएपछि नयाँ परीक्षा गराउनका लागि भैंसेपाटीमा भवन तथा आवश्यक सम्पूर्ण सामग्रीहरू तयारी भइसकेको र विगतका परीक्षाहरुमा केहि अनियमित क्रियाकलापलाई नियन्त्रण गर्न पिंmगरको बायोमेट्रिक र क्यूआर कोड प्रविधिबाट प्रमाणित गरिने छ ।
परीक्षा भवन निर्माण भइसकेको कारण पहिलो चरणमा कोरियाबाट फर्किएकाहरुले विशेष कम्प्युटर बेस्ड टेस्ट गराइने र त्यसपछि युविटी प्रक्रियाबाट नयाँ कोरिया जान चाहने युवाको परीक्षा गराउने तयारी भइरहेको छ । युविटी संयुक्त परिक्षण बेस नयाँ परीक्षा प्रणाली हो । अब हुने नयाँ परीक्षामा सीप परीक्षणमा शारीरिक परीक्षणको रुपमा कलर ब्लाइन्ड टेस्टमात्र गराइने छ । यो टेस्ट पनि युविटी परीक्षामा एउटा निश्चित अंक छुट्याई सो अंक भन्दा बढी ल्याउनेलाई सोही दिन नै गराउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्