खाना, नाना र आवासको ग्यारेन्टी «

खाना, नाना र आवासको ग्यारेन्टी

कारोबार, मेरो पालिका

अध्यक्ष : नरबहादुर श्रेष्ठ
उपाध्यक्ष : कल्पना भण्डारी
प्रमुख प्रशासकीय अधिकृत : महेन्द्र विक
प्रदेश : बागमती
जिल्ला : दोलखा
गाउँपालिका : मेलुङ
वडा : ७
गाउँपालिकाको क्षेत्रफल : ८६.५४ वर्गकिलोमिटर
राष्ट्रिय जनगणना २०६८ अनुसार
जनसंख्या : २०,२१०
सिमाना
पूर्व : तामाकोसी गाउँपालिका
पश्चिम र दक्षिण : रामेछाप जिल्ला
उत्तर : शैलुङ गाउँपालिका

गाउँपालिकाको विकास र सेवा गर्न जुन उत्साहका साथ साढे चार वर्षअघि निर्वाचनमा होमिए, मेलुङ गाउँपालिकावासीको समृद्धि नै उनको मुख्य लक्ष्य हो । आफ्नै माटोको उत्पादनबाटै सबै नागरिक सम्पन्न हुन्छन् भन्ने लक्ष्यअनुसार कृषि क्षेत्रलाई नै व्यवसायीकरण गर्ने र वातावरण संरक्षणबाटै आफ्नो गाउँपालिकाको काम सुरु भयो ।
सुन्दा सामान्य लाग्छ, तर त्यसको महत्व परापूर्वकालदेखि उत्तिकै भएको वातावरण संरक्षणका लागि वरपीपल र शमीको रूखको संरक्षण सुरु भएको छ । कृषिलाई आधुनिकीकरण गर्न ठाउँअनुसार मौसमी तथा बेमौसमी फलफूलका बिरुवा वितरक किसानलाई तालिम भयो । केरा, सुन्तला, किबी, एभोकाडो, लिची, आँप र स्याउका बिरुवा किसानलाई पकेट क्षेत्र बनाएर वितरण भयो । सुरुमा लगाएका बिरुवाले केही ठाउँमा फल दिन थालेका छन् ।
गाउँगाउँसम्म सडकका ट्र्याक त पुगेकै थिए । तर, वक्ररेखा कोरेजस्तो मात्र, न त त्यहाँ राम्रोसँग गाडी नै चढ्न सक्थ्यो, न त अर्को गाडी आइहाले पास दिने ठाउँ नै । यस्तो अवस्थामा भएका सडक फराकिला बनाउँदै १२ महिना चल्न सक्ने सडक बनाउने अठोट लिएरै काम सुरु भयो ।
गाउँपालिकाभित्रका मुख्य रणनीतिक सडकका रूपमा १४ वटा सडक छनोट गरेर डीपीआर बनाएर काम सुरु भयो । तिनै सडकले अहिले गाउँपालिका केन्द्रदेखि हरेक वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकी, सामुदायिक भवनलाई छोएको छ । गाउँपालिकाभित्रका हरेक वडामा सडक पुगेको छ । उत्तर–दक्षिण लोकमार्गको त्रिदेशीय सडक विस्तारमा सहज बनाउन मालुखोला–रातामाटे–तामाकोसी बजारसम्मको नयाँ ट्र्याक खोलिएको छ । यो १० किलोमिटर छ । यो सडक खुलेपछि हाल चलिरहेको भीरकोट क्षेत्रको धेरै मोड भएको र जोखिमपूर्ण सडकको यात्रा सुरक्षित र ६ किलोमिटर छोटो समेत हुन्छ ।
पछि विस्तार गर्न समस्या नहोस् भनेर अहिले सडक ६ देखि ८ मिटर हुने गरी विस्तार गरिएका छन् । ट्रिपल आरको सहयोगमा १२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । थप ८ किलोमिटर प्रक्रियामा छ । आफ्नो निर्वाचन घोषणा पत्रअनुसार नै समीक्षा गर्दा उल्लेखनीय काम गर्न सकेकोमा गाउँपालिका अध्यक्ष नरबहादुुर श्रेष्ठ सन्तुष्ट छन् । संघीय र प्रदेश सरकारसँगको समन्वयमा १४ वटै गाउँपालिकाभित्रका गौरवको सडक योजनाहरू ग्राभेल, सोलिङ, ढलान र नाली बनाएर १२ महिना गाडी चल्न सक्ने बनाउँदै लैजाने गरी काम भइरहेका छन् ।
२०७४ को सुरुवातमा अत्यन्तै उत्साहका साथ गाउँपालिका अध्यक्ष विजयी भएर कार्यालय पुग्दा एक जना प्रमुख प्रशासकीय अधिकृतसहित ५÷६ जना कर्मचारी मात्र थिए । ७ वटा वडा रहेको गाउँपालिकामा वडाको सचिवदेखि गाउँपालिकासम्मको काम गर्न कहिलेकाहीं दर्ता चलानी गर्ने कर्मचारीसमेत नहुँदा सुरुमै काम सुरु गर्न समस्या परेको उनको अनुभव छ । १० वर्ष निजामती कर्मचारी, ५ वर्षे तत्कालीन भेड्पू गाविसको अध्यक्षसमेत भएको अनुभवले थोरै कर्मचारी, जनताको अत्यधिक महत्वाकांक्षा, अव्यवस्थित कार्यालयका बाबजुद काम सुरु अहिले आफू सन्तुष्ट हुने गरी काम भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
२०७२ को विनाशकारी भूकम्पले ढलेका निजी आवास उठेका छन् । अधिकांश विद्यालय अत्याधुनिक भवन भौतिक पूर्वाधारसहित भएका छन् । केही वडा कार्यालय बनेका छन्, केही निर्माणाधीन छन् । ती पनि केही महिनामै पूरा गर्ने गरी काम भइरहेका छन् । स्थानीय स्तरमा सहमति गरेर यसै वर्ष गाउँपालिका कार्यालयका लागि भवन निर्माण गर्न पनि १ करोड ६ लाख बजेट विनियोजन भएको छ ।
भेड्पूमा अस्पताल निर्माणाधीन छ । साबिकका सबै स्वास्थ्य चौकी पक्की भवन र केही टाढाका बस्तीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएका छन् । निःशुल्क वितरण हुने औषधि समयमा खरिद हुन्छ । डिफ्रिज, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर हरेक स्वास्थ्य चौकीमा छन् । आइसोलेसन सन्टर व्यवस्थित छ ।
कुनै पनि नागरिक खाना, नाना र आवासबाट वञ्चित नहुन् भनेर कार्यक्रम सञ्चालन गरिएको छ । आगलागी वा कुनै विपत्बाट घर पूर्ण क्षति भएमा एक प्रहरी प्रतिवेदन आएलगत्तै ३ लाख पाउँछन् । पोस्टमार्टम खर्च सबै गाउँपालिकाले बेहोर्छ । त्यस्तै सुत्केरी खर्च ५ हजार उपलब्ध हुन्छ, तर सुत्केरी हुन नसकेर अन्यत्र रिफर गर्नुपरे सबै खर्च गाउँपालिकाले बेहोर्ने गरेको छ । काजक्रिया खर्च ५ हजार समेत गाउँपालिकाले नै बेहोर्छ । मुटु, कलेजो, क्यान्सरजस्ता रोगको उपचारका लागि अध्यक्ष आर्थिक सहायता कार्यक्रममार्फत १० हजार उपचार खर्च दिने गरिएको छ ।
किसानको गोठमा आगलागी भए ५ हजार क्षतिपूर्ति पाउँछन् । पशु बिमालाई प्रोत्साहन गर्न राज्यले उपलब्ध गराएको सहुलियतमा थप १० प्रतिशत खर्च गाउँपालिकाले गर्छ । बाली बिमा कार्यक्रम पनि सुरु भएको छ । कृषिमा आधुनिकीकरणका लागि कृषिमा ट्याक्टर, हलो, थ्रेसर अनुदानमा वितरण भएको छ । कृषि कारखाना खोल्नका लागि अनुदानको व्यवस्था गरेको छ, जसले रोजगारीसमेत सिर्जना गर्छ ।
नस्ल सुधार गर्न पाडापाडी संरक्षण कार्यक्रम गरेको छ । जर्सी बहर र मुर्रा जातको राँगो वितरण गरेको छ । बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ भने बोयर जातका बोका वितरण किसानहरूलाई गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित र स्रोतसाधन सम्पन्न बनाउन सहकारी संस्थाको भवन नै गाउँपालिकाले निर्माण गरिदिएको छ । केहीको प्रक्रियामा छन् ।
सिजनको आलु, तरकारी, किबीजस्ता फलफूल भण्डारणका लागि दुईवटा रस्टिक स्टोर बनेका छन् । यसले बीउ राख्न किसानलाई सहज भएको छ । वडा नं. ३ मा आलु महोत्सव र वडा नं. १ मा सुन्तला महोत्सव गरेर यसलाई पकेट क्षेत्र बनाएर कार्यक्रम सुरु भएको छ ।
पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि गाउँपालिकाले सार्वजनिक स्थल र बजार क्षेत्रमा सोलार बत्ती राखिएको छ । मठमन्दिर गुम्बा र पोखरी संरक्षणको काम गरिएको छ । शैलुङमा निर्माण भएको छ्योर्तेनमा गजुर राखिएको छ । पञ्चे बाजा र परम्परागत स्थानीय बाजा संरक्षणका लागिसमेत गाउँपालिकाले सहयोग गरेको छ ।
संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारी कम्तीमा एक आर्थिक वर्ष बस्ने गरी व्यवस्था गरे सहज हुने उनीहरूको भनाइ छ । बीचबीचमा कर्मचारी सरुवाले पनि समयमा ठेक्कापट्टामा र भुक्तानीमा समस्या हुँदा गाउँपालिकाको काममा केही असहज भयो ।

प्रतिक्रिया दिनुहोस्