ओरालो लाग्दै मकवानपुरको निर्यात व्यापार «

ओरालो लाग्दै मकवानपुरको निर्यात व्यापार

हेटौंडा-मकवानपुरको निर्यात व्यापार वर्सेनि खस्कँदो अवस्थामा रहेको छ । नेपालकै ठूला औद्योगिक सहरमध्येको एक हेटौंडाबाट भारतलगायत तेस्रो मुलुकमा हुने निर्यातमा एक दशकअघिको तुलनामा ८० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
१२ वर्षअघि आव २०६५-०६६ मा मकवानपुरका २८ वटा उद्योगले एक अर्ब २७ करोड १५ लाख रुपैयाँको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेकोमा आव २०७७-०७८ सम्म आइपुग्दा ३३ करोड १७ लाख ६६ हजार रुपैयाँमा खुम्चिन पुगेको छ । केही वर्ष अघिदेखि मकवानपुरको निर्यात व्यापार वर्सेनि ओरालो लाग्दै आएको छ । आर्थिक वर्ष २०७६-०७७ मा पनि जिल्लाका ५ वटा उद्योगले ३६ करोड ११ लाख ७३ हजार रुपैयाँको सामान मात्र निर्यात गरेका थिए । बितेको वर्ष ६ वटा उद्योगले आफ्ना उत्पादन अन्य देशमा निर्यात गरेपनि अघिल्लो वर्षको तुलनामा करिब ३ करोडभन्दा बढीले गिरावट आएको छ ।
आर्थिक वर्ष २०७५-०७६ मा मकवानपुरको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेको थियो । २०७४-०७५ को तुलनामा भने बितेको वर्षको व्यापार सन्तोषजनक नै हो । आव २०७४-०७५ मा भने निर्यात खुम्चिएर २० करोड ७८ लाख २७ हजारमा झरेको थियो । आव २०७०-०७१ सम्म मकवानपुरबाट निर्यात व्यापार गर्ने उद्योगको संख्या २२ रहेको मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । आव २०७१-०७२ मा ४८ करोड ७७ लाख रुपैयाँको उत्पादन निर्यात भएकोमा आव २०७२-०७३ मा ३७ करोड ५ लाख रुपैयाँमा निर्यात व्यापार झरेको संघले जनाएको छ ।
आव २०७३-०७४ मा पनि ३५ करोडको सामान निर्यात भएको थियो । मकवानपुरमा भएका बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योगहरु बन्द हुनुका कारणले पनि मकवानपुरको निर्यात व्यापारमा कमी आएको उद्योग वाणिज्य संघको बुझाइ छ । बितेको आर्थिक वर्ष २०७७-०७८ मा सीएसआई नेपाल प्रालिले सबैभन्दा धेरै १९ करोड ८८ लाख ७२ हजार रुपैयाँको सामान निकासी गरेको छ । बहुराष्ट्रिय उद्योगहरु पेय पदार्थको बिर्को उत्पादन गर्ने सीआएसआईको व्यापार पनि अघिल्लो वर्षको तुलनामा करिब ५ करोड रुपैयाँले गिरावट आएको देखिन्छ । अघिल्लो आव २०७६-०७७ मा सीएसआईले २४ करोड ९२ लाख ८० हजार रुपैयाँको सामान निर्यात गरेको थियो ।
यसैगरी बितेको आवमा हिमालयन कत्था उद्योगले ९ करोड ३१ लाख ३२ हजार रुपैयाँको सामान भारत र बंगलादेशमा निर्यात गरेको छ । उक्त उद्योगको व्यापार पनि अघिल्लो वर्षको तुलनामा करिब सवा करोड रुपैयाँभन्दा बढीले गिरावट आएको तथ्यांकमा देखिएको छ ।
बितेको आवमा गोदावरी पोलिप्याक्स एण्ड फेबिकले पनि ३ करोड २३ लाख ४५ हजार रुपैयाँको प्लाष्टिकको बोरा निर्यात गर्न सफल भएको छ । त्यस्तै स्थानीय जडिबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाइफ साइन्सेस प्रालिले पनि ५० लाख ४० हजार रुपैयाँको औषधि विदेश निर्यात गरेको छ । आव २०७५-०७६ मा ३ करोड ७ लाख रुपैयाँको ट्रान्सफर्मर भुटान, बंगलादेशलगायतका मुलुकमा निकासी गरेको इकरात इन्जिनियरिङ कम्पनी प्रालिले पनि दुई आर्थिक वर्षयता निर्यात गर्न सकेको छैन ।
आव २०७५÷०७६ मा २९ लाखभन्दा बढी रुपैयाँको खरिढुङ्गा निकासी गरेको टेन माइक्रोन्स नेपाल प्रालिले पनि दुई वर्षयता निर्यात गर्न सकेको छैन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, कार्पेट उत्पादन गरी निर्यात गर्ने एमएम पोलिमर्सको निर्यात पनि शून्य नै रहेको छ । कोरोना महामारीले निर्यात व्यापारलाई निकै ठूलो प्रभाव पारेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ ।
दशकअघि क्रसरजन्य उत्पादनहरु, जडिबुटी, अदुवा, लसुनहरु विदेशमा निर्यात हुने गरेकोमा सरकारी नीतिकै कारण सबै व्यापार ठप्प हुन पुगेको उनको भनाइ छ । निर्यातजन्य उद्योगलाई सरकारले संरक्षण गर्न नसकेको कारण एक दशकको अवधिमा धेरै उद्योगहरु बन्द हुन पुगेको उनले बताए ।
वर्सेनि करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरु पनि केही वर्ष अघिदेखि अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुराष्ट्रिय उद्योगले पनि ७ वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्ष अघिदेखि भारत निकासी बन्द गरेको छ ।
मकवानपुरका उद्योगबाट उत्पादित वस्तुहरु थोरै मात्रामा भारतमा मात्र निर्यात हुने गरेको छ । भारतबाहेक केही नगन्य मात्रामा तेस्रो मुलुकमा व्यापार हुने गर्दछ । कच्चा पदार्थ आयातमा नीतिगत समस्या, उत्पादित वस्तु निकासीमा झन्झट, भ्याटका समस्यालगायतका कारण निर्यात व्यापार फस्टाउन नसकेको उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए ।
निर्यात व्यापारलाई प्रोत्साहित गर्ने सरकारी नीति नभएका कारण उद्योगीहरु ट्रेडिङ व्यवसायतिर लाग्न बाध्य भएको पनि उनले बताए । हेटौंडा औद्योगिक क्षेत्रमा अहिले एक सय भन्दाबढी उद्योग सञ्चालनमा छन् भने चार हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्