विराटनगरमा नेपालकै नमुना बस टर्मिनल निर्माण «

विराटनगरमा नेपालकै नमुना बस टर्मिनल निर्माण

विराटनगरमा नेपालकै नमुना बस टर्मिनल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । विगतमा सामान्य पानी पर्दा हिलाम्मे र पानी नपर्दा धुलाम्ये हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका थिए । सुविधासम्पन्न बसपार्क बनेसँगै यात्रु र स्थानीय हर्षित भएका छन् । विराटनगर–११ स्थित साविककै बसपार्क भएको स्थानमा निर्माण गरिएको टर्मिनलको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संयुक्त रूपमा उद्घाटन गरे । टर्मिनलको ०७३ साल मंसिर १९ गते शिलान्यास भएको । टर्मिनलको निर्माण भने ०७५ असोजमै सम्पन्न भएको थियो । टर्मिनल ३० कठ्ठा जग्गामा ५ हजार ५ सय ८० स्क्वायर मिटरमा निर्माण गरिएको छ । बस टर्मिनल निर्माणको ठेक्का काठमाडौंको गौरी–पार्वती निर्माण सेवा पाएको थियो ।
८ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएकोे बस टर्मिनल नेपालकै नमुना बसपार्क भएको महानगर प्रमुख पराजुलीले दाबी गरे । “यस्तो सुविधासम्पन बसपार्क नेपालका अन्यत्र हालसम्म बनेको छैन,” उनले थपे, “विराटनगरका लागि मात्रै नभएर १ नम्बर प्रदेशका लागि पनि यो गौरवको कुरा हो ।” नगर विकास कोषको ऋण सहयोगमा निर्माण गरिएको टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेस्टुराँ, ब्यागेज राख्ने कोठा, महिला र पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालयको व्यवस्था छ । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष राखिएको छ । बस टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिएको छ ।
टर्मिनलबाट एक पटकमा ५५ वटा यातायात साधन राख्ने व्यवस्थासहित सरसफाईका लागि २० हजार लिटर पानी अट्ने वाटर ट्याङकसमेत निर्माण गरिएको टर्मिनलका प्रोजेक्ट इन्जिनियर अर्जुन थापाले जानकारी गराए । “एकपटकमा ५५ वटासम्म सवारी साधन पार्किङ गर्न सकिन्छ,” उनले भने, “टर्मिनल भएकाले बस आउने–जाने भइरहन्छ ।”
बस टर्मिनलमा पुरानो बसपार्क जस्तो धेरै समयसम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तव्यतर्फ लागिहाल्नुपर्ने छ । बस टर्मिनलभित्र सोलारबत्तीसमेत जडान गरिएको छ । उद्घाटन समारोहमा मुख्यमन्त्री राईले प्रदेशलाई पूर्वधार सम्पन्न बनाउन आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने तयारी गरिएको जानकारी गराए । उनले विकास र समृद्धको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको धारणा व्यक्त गरे । उनले भने, “हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको छ ।” मुख्यमन्त्री राईले विराटनगरवासीको चाहनाअनुरुपको वृहत मनोरञ्जनका लागि पार्क निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सडक, विद्युत, स्वास्थ्य, शिक्षा जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना बनाई सरकारले अघि बढाउने उल्लेख गरे ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बस टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताए । “टर्मिनलको संरक्षण, सफाई र सुरक्षाका लागि सचेतना अभियान पनि सञ्चालन गर्नुपर्छ,” कार्कीले भने, “अब स्थानीय, यातायात सञ्चालक, मजदुर र यात्रुले समेत बसपार्कको संरक्षणमा ध्यान दिनुपर्छ ।”
सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि प्रदेश सरकारले ९ हजार युवाहरूलाई तालिम प्रदान गर्ने कताउँदै नगर क्षेत्रमा ३ सय किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधा सम्पन्न खेलमैदन निर्माण कार्य अगाडि बढाएको बताए ।
महानगरपालिकाका प्रमुख पराजुलीले संघीय र प्रदेश सरकारको सहयोगमा विकास कार्यहरू अगाडि बढाउँदै जाने विचार व्यक्त गर्दै बस टर्मिनल क्षेत्रमा वायोग्याँस शौचालयको निर्माण गरिने बताए । उद्घाटनका अवसरमा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे, नेकपा नगर अध्यक्ष सागर थापा र नगर विकास कोषका अध्यक्ष ध्रुव रिजालले टर्मिनलको निर्माणपछि विराटनगरको विकासले एक कदम अगाडि फड्को मारेको विचार व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्