भारतको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको समीक्षा

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथो संयुक्त परियोजना अनुगमन समितिको बैठक भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।
भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा आयोजित उक्त बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको थियो । १४ वटा सडक प्याकेजमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकाले बैठकले परियोजनाले हासिल गरेको उपलब्धि उपर सन्तुष्टि व्यक्त गर्दै दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माणकार्यको अन्तिम चरणमा रहेको जानकारी दिए ।
नेपालको तराई क्षेत्रमा कुल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडक (१४ वटा प्याकेज-ठेक्कामा विभाजित) को निर्माण हेतु भारत सरकारले सन् २०१६ मा आठ सय करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरेको थियो । यी सडकहरूले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछ । २०७७ चैत १८ गतेका दिन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायातमन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रूपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाली जनतालाई हस्तान्तरण गरिसकिएको दुवै पक्षले उल्लेख गरे ।
बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाललगायतका पूर्वाधार विकासमा पु-याएको निरन्तर सहयोगको सराहना गरेको थियो । भारत सरकारले पनि दुई देशबीच सम्पर्क बढाउन नेपाल सरकारसँग परिणाममुखी सहकार्य गरेको उल्लेख गरेको छ ।
समितिको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा आवश्यकता अनुरुप गर्ने सहमति भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।