प्रथम आँबुखैरेनी महोत्सव सुरु «

प्रथम आँबुखैरेनी महोत्सव सुरु

दमौली-नेपाल आदिवासी जनजाति महासंघ आँबुखैरेनी गाउँ समन्वय परिषद्को आयोजनामा प्रथम आँबुखैरेनी महोत्सव सुरु भएको छ । ‘अमूल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिए ।
आदिवासी जनजाति संस्कृतिको धनी रहेको चर्चा गर्दै मन्त्री चुमानले कला र संस्कृतिलाई आयआर्जनको माध्यम बनाउनुपर्ने बताए । उनले भने, “महोत्सवमा मनोरञ्जन सहायक पाटो हो । पहिलो पाटो भनेको त संस्कृति संरक्षण नै हो ।” उनले मेला महोत्सवलाई आयआर्जनको बाटो बनाउन नहुनेमा समेत आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद सरिता गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्तीलगायतले महोत्सवमा उद्देश्य सफल हुनुपर्नेमा जोड दिए ।
महोत्सव मूल समारोह समितिका संयोजक रेशम भुजेलले आदिवासी जनजाति समुदायको संग्रहालय भवन निर्माणको लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताए ।
माघ २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ४६ वटा स्टल छ । १ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा २ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमुना घर, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, कौरा प्रतियोगिता, रमाईलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता आकर्षणका रूपमा छ ।

 

प्रतिक्रिया दिनुहोस्