सहारा फुटबल एकेडेमीको अक्षयकोषमा दुई करोड १८ लाख संकलन «

सहारा फुटबल एकेडेमीको अक्षयकोषमा दुई करोड १८ लाख संकलन

पोखराको एक प्रतिष्ठित सहारा क्लबले सञ्चालन गरेको सहारा फुटबल एकेडेमी अक्षयकोषमा हालसम्म २ करोड १८ लाख ६८ हजार २ सय ५९ रुपैयाँ संकलन भएको छ । कोषमा आर्थिक वर्ष २०७७÷०७८ मा मात्र ५ लाख १५ हजार ६ सय ९२ रुपैयाँ संकलन भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । एकेडेमीमा हाल १४ जिल्लाका २३ जना बालकहरु रहेका छन् । उनीहरुको पालनपोषण सहितको फुटबल खेल प्रशिक्षण गराउन हाल १० जना कर्मचारी रहेको क्लबले जनाएको छ । क्लबले हरेक वर्षजसो आयोजना गर्ने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट बचत हुने रकम सहारा फुटबल एकेडेमीमा रहेका बालकहरुको भरणपोषणमा खर्चंदै आएको छ । कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमीलाई दीर्घकालीन समयसम्म निरन्तर संचालनका लागि आर्थिक श्रोत जुटाउने उद्देश्यले उक्त कोष स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।
यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट दीपक परियार पुरस्कृत भएका छन् । क्लबले प्रदान गर्ने उक्त पुरस्कारबाट परियारलार्ई क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा बुधबार प्रदान गरिएको हो । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे), प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा क्लबका सल्लाहकार तेज बहादुर गुरुङ, क्लवका अध्यक्ष केशव बहादुर थापा लगायतले कान्तिपुरमा आबद्ध पत्रकार परियारलाई सम्मान पत्रको साथमा दोसल्ला, फूलमाला तथा २० हजार ५ सय ५५ नगद सहित सम्मान गरेका हुन् । उक्त अवसरमा यस वर्षको उत्कृष्ट सहारा सदस्य सम्मानबाट राम प्रसाद हिराचन सम्मानित भएका छन् । उनलाई सम्मानपत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री मनाङेले खेलकुदमा लागेका क्लब तथा विभिन्न संघ संस्थाहरुले युवाहरुलाई खेलकुद सँगै सीपमूलक ज्ञान समेत दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्