शव वाहन नहुँदा समस्या «

शव वाहन नहुँदा समस्या

तेह्रथुम- जिल्लामा शव वाहन नहुँदा नागरिकलाई सास्ती भएको छ । जिल्ला अस्पतालमा मात्र होइन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा अन्य सवारी साधनले शव बोक्न नमानेपछि नागरिकलाई समस्या भएकोे हो ।
शव वाहन नहुँदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउमा समेत ट्याक्टरमा बोक्ने गरेका छन् । स्थानीय तहले महँगो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरिद गरे पनि नागरिकलाई दुःख पर्दा चाहिने शव वाहन किन्नका लागि कसैले चासो नदेखाएको म्याङ्लुङका स्थानीयवासी निर्मल ढुंगानाले बताए । उनले भने, “मेयर, उपमेयरदेखि वडाध्यक्षसम्मलाई गाडी खरिद भएको छ तर जनतालाई दुःख पर्दा चाहिने शव वाहन छैन ।”
जनताको सेवा गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिरिुले आफ्नो सेवासुविधाका लागि लाखौं खर्चेर गाडी खरिद गरे पनि नागरिकका लागि चाहिने शव वाहन खरिद नगर्दा पुराना समस्या ज्यूँका त्यूँ छन् । स्थानीय सरकारले यसबारे चासो दिनुपर्नेमा अहिलेसम्म जिल्लाका ६ वटै पालिकाले शव वाहन खरिदका लागि चासो नदिएको जिल्ला अस्पतालका डाक्टर आनन्द देवले बताए । “शव वाहन किन्नका लागि धेरैपटक नगरपालिकासँग कुरा गरे पनि वास्ता गरेन,” उनले भने ।
जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने र बोक्ने सवारीसाधनले भने चर्को मूल्य लिने गरेका छन् । दुई नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको जिल्लामा दुईवटा दमकल र पाँचवटा एम्बुलेन्स सञ्चालनमा रहे पनि अहिलेसम्म कुनै सरकारी निकाय तथा अन्य संस्थाले शव वाहन खरिद गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्