मध्यपहाडी लोकमार्गमा अवरोध भए अप्रिय निर्णय हुन्छ : मुख्यमन्त्री गुरुङ «

मध्यपहाडी लोकमार्गमा अवरोध भए अप्रिय निर्णय हुन्छ : मुख्यमन्त्री गुरुङ

लमजुङ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यपहाडी लोकमार्ग निर्माणकार्यमा अवरोध पु-याइए अप्रिय निर्णय लिने चेतावनी दिएका छन् ।
लमजुङको भोटेवडारमा सञ्चालित प्रथम भोटेवडार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्गको विवादित विषयमा सहमति नखोजे प्रदेश सरकारले अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिएका हुन् । मध्यपहाडी राजमार्गअन्तर्गत लमजुङको सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा रहेको विवादलाई इंगित गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवको आयोजना दैलोमा पाउँदा जिल्लावासीले गर्व गर्नुपर्ने दबी गरे । राजमार्गअन्तर्गत लमजुङको दुईठाउँमा मात्र विवाद भएकाले मुलुककै समृद्धिको यात्रामा लमजुङवासीले अवरोेध पु-याएको उनको आरोप थियो । “हामी समृद्धिका कुरा गर्छौं, दैलोमा आएको गौरवको आयोजनामा अवरोध गर्छौं,” मुख्यमन्त्री गुरुङले भने, “विकास नबुझ्ने र कुरा नबुझ्ने जनता लमजुङमा मात्रै रैछन् ।”
धेरैपटक सहमतिको प्रयास भएको भन्दै मुख्यमन्त्री गुरुङले माघ महिनाभित्र सहमति नजुटे प्रहरी प्रशासनको सहयोगमा डोजर चलाउने चेतावनी दिएका छन् । “अगाडि पनि कालोपत्र भइसक्यो, पछाडि पनि कालोपत्रे भइसक्यो,” मुख्यमन्त्री गुरुङले भने, “यो महिनाभित्र सहमति भएन भने, कसैले असहयोग गर्छ भने अप्रिय निर्णय लिन नपरोस् ।”
मध्यपहाडी लोकमार्गको मापदण्ड अनुसार सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा मात्र स्थानीयले लगातार अवरोध गर्दै आएका छन् । राष्ट्रिय गौरवको सो लोकमार्गमा सुन्दरबजार र भोर्लेटारमा गरी आठ किमिमात्र काम रोकिएको छ ।
जिल्लामा ३६ किमि सडक निर्माणको कार्य तीव्र भइरहे पनि स्थानीयको अवरोधका कारण सुन्दरबजार र भोर्लेटार क्षेत्रमा भने कामको प्रगति शून्य छ । जीवनभर कमाएर जोडेको सम्पत्ति र पुख्र्यौली सम्पत्ति बेचेर बनाएका संरचना भत्किएपछि आफूहरू सुकुम्वासी बन्ने भन्दै स्थानीयले बजार मासेर सडक बनाउन नदिने चेतावनी दिएका छन् ।
आव ०६४-६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एक हजार सात सय ६५ किमि लामो हुने बताइएको छ । करिब एक हजार किमि पुरानो चल्तीको सडक र थप ७५६ किमि नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताले सुन्दरबजारको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका थिए ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्