सरकारी गाडी सिक्दै कर्मचारी «

सरकारी गाडी सिक्दै कर्मचारी

दैलेख-दैलेखका स्थानीय तहमा गाडी किन्नमा होडवाजी चलिरहेकैबेला यहाँको एक स्थानीय तहले गाीडको दुरुपयोग गरेको पाइएको छ । महावु गाउँपालिकाले सार्वजनिक बिदा शनिबारकै दिन एक कर्मचारीलाई गाडी सिक्नका लागि दिएको पाइएको छ ।
नारायण नगरपालिकाको काडाचौरमा शनिबार सरकारी नम्बर प्लेटको जिप महाबु गाउँपालिकाका एक कर्मचारीले सिक्नका लागि भन्दै चौरमा चलाइरहेका थिए । महाबु गाउँपालिकाले भर्खरैमात्र खरिद गरेर गाउँपालिकामा ल्याएको बा २ झ ४१५३ नम्बरको जिप गाउँपालिकाकै कम्प्युटर अपरेटर राजेशकुमार हमालले सिक्नका शनिबार प्रयोग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले गाडी बिग्रिएका कारण ग्यारेजमा मर्मतका लागि लगिएको बताए पनि सिक्नका लागि दुरुपयोग गरिएको पाइएको हो । गाउँपालिकाको बचाउ गर्दै अध्यक्ष शाहीले गाडीको फोरह्विल भाँचिएको र ग्यारेजमा लगिएको बताए । गाउँपालिकाले जिप खरिद गरेको महिना दिनमै मर्मतमा लैजानुपर्ने अध्यक्षले बताउँदै गर्दा जिप दुरुपयोग भएको देखिएको छ ।
यी त प्रतिनिधि घटना हुन् । उता नारायण नगरपालिकाले भर्खरैमात्र वडाध्यक्षको सुविधाका लागि खरिद गरेका ११ वटा मोटरसाइकलमध्ये अधिकांश दुरुपयोग भएको पाइएको छ । वडा नं. ११ को मोटरसाइकल स्थानीय एक विद्यालयका शिक्षकले चलाउँदै दिनहुँ घर विद्यालय गएको पाइएको छ । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले यसरी आफ्नै वडामा सरकारी सम्पत्तिको दुरुपयोग हुँदासमेत केही प्रतिक्रिया दिएको पाइँदैन । यस्तै जिल्लाका अन्य सरकारी नम्बर प्लेटका गाडी पनि दुरुपयोग भइरहेका बेला सम्बन्धित निकायले चासो देखाएको छैन ।
नारायण नगरपालिका बजार क्षेत्रभित्रै खुलेआम सरकारी गाडीको दुरुपयोग भइरहँदा समेत सम्बन्धित निकाएले भने कुनै चासो नदिएको बताउँछन् नारायण नगरपालिकाका नगरवासी मनोज थापा । “यही अवस्थामा सरकारी सम्पत्तिको दुरुपयोग हँुदै जाने हो भने संघीय संरचनाले देशलाई डुबाउने देखिन्छ,” नगरवासी थापाले भने, “बरु विगतका वर्षमा त यसरी सरकारी सम्पत्तिको दुरुपयोग भएको थिएन र कारबाही प्रक्रिया थालिन्थ्यो अब कसले थाल्ने ? नियमन निकाय आफै दुरुपयोग गर्न उद्दत हुन्छन् ।” व्यक्तिगत सवारी साधनलाई मात्र जरिवाना गर्नुपर्ने र सरकारी गाडी नरोकेर दौडाइहाल्ने गरेको डिउटीमा खटिएका एक ट्राफिक प्रहरीे बताउँछन् । नियमानुसार सार्वजनिक बिदा र शनिबारको दिन सरकारी गाडी रोक्ने निर्देशन भए पनि कार्यान्वयन गर्न कठिन भएको उनको भनाइ छ ।
दैलेखका स्थानीय तहमा पछिल्लो समय कसले राम्रो गाडी खरिद गर्ने भन्ने होडबाजी चलेसँगै ति गाडीको दुरुपयोग पनि बढ्दो क्रममा छ ।
सार्वजनिक बिदा र शनिबारको दिन अत्यावश्यक परेमा प्रमुख जिल्ला अधिकारीबाट पास लिएर मात्रै सरकारी सवारी साधन चलाउन पाइने प्रावधान रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा बताउँछन् । जिल्लाका सरकारी कार्यालयका सवारी साधनहरु दुरुपयोग नगर्न पटक–पटक आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले बताए । सरकारी गाडी दुरुपयोग भएको पाईएमा पहिलो पटक दुरुपयोग नगर्न आग्रह गर्ने र पुनः दोस्रो पटक त्यसो गरेको पाइएमा सरकारी गाडी दुरुपयोग भएको बारे गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइने अधिकारी बास्कोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्