व्यापारघाटाको रैथाने समस्या र डामाडोल अर्थतन्त्र «

व्यापारघाटाको रैथाने समस्या र डामाडोल अर्थतन्त्र

देशमा भएका युवा जनशक्तिलाई स्वदेशमै परिचालन गरी उत्पादनमुखी कार्यमा लगाउनुपर्ने देखिन्छ ।

कुनै पनि वस्तु किनेको मूल्यभन्दा बेचेको मूल्य कम भयो भने त्यसलाई सामान्य रूपमा घाटाको अवस्था मानिन्छ । यसैलाई आधार मान्दा कुनै देशले बाहिरबाट धेरै मूल्यको सामान किन्यो र आफ्नो देशबाट थोरै मात्र सामान बेच्न सक्यो भने पनि त्यो व्यापारघाटा नै हो । यसर्थ नेपालको व्यापारघाटा दैनिक रूपमा बढ्दै छ भन्न सकिन्छ । हामीले किन्ने र बेच्ने सामानबीचको दूरी असामान्य रूपमा बढेसँगै देशको व्यापारघाटा पनि बढेको हो । विगत लामो समयदेखि निकै ठूलो रुपैयाँको व्यापारघाटाको सामना गर्दै आएको नेपालको पछिल्लो यो घाटाले हाम्रो परनिर्भरता बढेको मात्र छैन, प्रतिव्यक्ति ऋणको अनुपात पनि बढाएको छ ।
गत आर्थिकवर्ष ०७४-७५ सम्म नेपालको व्यापारघाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । आयातको तुलनामा निर्यात वृद्धिदर उच्च हुँदै जाँदा नेपालको व्यापारघाटा पनि उस्तै तरिकाले बढ्दै गएको छ । चालू आवको पहिलो दुई महिनामा मात्रै नेपालले २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा खेपेको छ । मंसिरसम्म आइपुग्दा व्यापारघाटा करिब ८ खर्बको हाराहारीमा पुगिसकेको छ । यस अवधिमा मुलुकले सबैभन्दा बढी व्यापारघाटा भारतसँग बेहोरेको छ । नेपालले विश्वका १ सय २५ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएको छ, जसमध्ये १ सयवटा मुलुकसँग नेपालको व्यापारघाटामै चलेको छ । व्यापार भएका १६ वटा मुलुकसँग नेपालले प्रत्येकसँग १ खर्बभन्दा बढी रुपैयाँको व्यापारघाटा बेहोरिरहेको छ ।
भारतसँग मात्र नेपालको व्यापारघाटा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यता अर्को छिमेकी मुलुक चीनसँग पनि असन्तुलित व्यापारघाटा रहेको छ । यसरी हेर्दा यो अवस्थामा नेपालले वस्तु उत्पादन क्षमता बढाएर निर्यात दर पनि वृद्धि गर्नुपर्ने अवस्था भए पनि त्यस अनुसार हुन सकेको छैन । देशमा उत्पादन नहुने र विदेशबाट आयात दर मात्र बढ्ने पुरानो शैलीको व्यापार अवस्थाले नै देशको व्यापारघाटाको वर्तमान अवस्था आएको स्वाभाविक छ ।
गत वर्ष नेपालले सवा खर्ब रुपैयाँको कृषिजन्य वस्तुको मात्र आयात गरेको छ । भारतलगायतका अन्य मुलुकहरूबाट १ खर्ब ६ अर्ब ४२ करोड रुपैयाँको कृषिजन्य वस्तु आयात भएको तथ्यांकले बताएसँगै कृषिप्रधान मुलुकका नागरिक हामी कृषिमै परनिर्भर भएको प्रमाणित भएको छ । गत आर्थिक वर्षको कुल व्यापार १० खर्ब ५९ अर्ब थियो, जसमध्ये कुल वस्तु आयात ९ खर्ब ८४ अर्ब र कुल निर्यात ७४ अर्ब ७१ करोड मात्र भएको थियो । कुल व्यापारघाटा ९ खर्ब ९ अर्ब भएको तथ्यांकले देखाएको छ ।
पुरानो अवस्था हेर्ने हो भने आर्थिक वर्ष ०७२-७३ मा कुल वस्तु आयात ८ खर्ब १ अर्ब २१ करोड रुपैयाँ रहेको र कुल व्यापारघाटा मात्र ७ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा जम्मा ८९ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । यी तथ्यांक हेर्दा अघिल्लो आर्थिकवर्ष भन्दा पछिल्लो वर्षमा वस्तु निर्यात घटेर आयात बढेका कारण करिब २ खर्ब रुपैयाँको व्यापारघाटा बढेको देखिन्छ ।
आर्थिक वर्ष ०७३-७४ मा आयात भएका प्रमुख वस्तुहरूमध्ये पेट्रोलियम पद्धार्थ मात्र १ खर्ब ४० अर्ब ५ करोडको आयात भएको थियो । त्यस्तै फलाम तथा स्टिलको आयात ९३ अर्ब ७१ करोड, मेसिनरी सामान ८२ अर्ब १४ करोड, सवारी पार्टपुर्जा ७९ अर्ब ५० करोड, विद्युतीय सामान ७० अर्ब ६ करोड, खाद्यान्न ४० अर्ब १४ करोड रुपैयाँको आयात भयो । त्यस्तै अन्य सामानहरूमध्ये प्लास्टिक जन्य सामान ३५ अर्ब १४ करोड, सुनचाँदी ३२ अर्ब १३ करोड, खनिजजन्य वस्तु ३१ अर्ब १३ करोड र तेल तथा घिउ २८ अर्ब ८३ करोडको आयात भयो । यसको तुलनामा निर्यात ज्यादै कम मात्र भएको छ । निर्यात भएका मुख्य वस्तुहरूमा गलैंचा र कार्पेट ७ अर्ब ६३ करोड, चिया कफी ७ अर्ब २ करोड, कपासजन्य वस्तु ६ अर्ब ९८ करोड, तयारी कपडा ६ अर्ब १० करोड, तरकारी र सुपारी ५ अर्ब ११ करोड, राडीपाखी ३ अर्ब २५ करोडको निर्यात भएको थियो । त्यस्तै फलाम तथा स्टिल ३ अर्ब ९४ करोड, थान्का ३ अर्ब ८ करोड, पशुदाना २ अर्ब ८८ करोड र हाते कागज २ अर्ब १८ करोडको निर्यात भयो ।
यही अवस्था रहिरहने हो भने चालू आर्थिक वर्षमा व्यापारघाटा धेरै गुणाले बढ्न सक्ने देखिएको छ । कुल व्यापारघाटामध्ये भारतसँगको घाटा ७.४ प्रतिशत र चीनसँगको व्यापारघाटा ३९.१० प्रतिशतले बढेको छ । त्यस्तै अन्य देशसँगको घाटा भने ४.६ प्रतिशतले घटेको छ । यसर्थ यो तथ्याङ्कअनुसार नेपालको कारोबार २ छिमेकी देशहरू चीन र भारतसँग नै बढ्दै गएको देखिएको छ ।
भारत, चीन र अन्य तेस्रो मुलुकहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापारघाटा पनि बढेको राष्ट्र बैंकले जनाएको छ । नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामान लगायतका वस्तुहरू अहिले विगत जसरी पठाउन सकिएको छैन । तर, चीनबाट आउने सामानहरू तयारी पोसाक, जुत्ता–चप्पल, यातायातका पार्टपुर्जा र रासायनिक मललगायतको आयात भारतको मार्ग हुँदै भए पनि बढेको छ, जसले गर्दा चीनसँग व्यापारघाटा बढेको हो । भारतबाट विशेष गरी पेट्रोलियम पद्धार्थको आयात उच्च छ । यसका अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जाहरू, सिमेन्ट, फलामे छड र औषधिको आयात पनि बढेका कारण भारतसँगको व्यापारघाटा पनि उच्च भएको हो । त्यस्तै तेस्रो मुलुकहरूमा जाने गरेको दाल, चिया र हस्तकलाका सामानहरूको निर्यात पनि घट्न गएको छ । यी मुलुकहरूबाट सुनचाँदी, पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा तामाको तारलगायतका वस्तुहरू नेपाल ल्याउने गरिएको छ ।
विगतदेखिकै कुरा गर्ने हो भने गत आर्थिक वर्षसम्ममा प्रत्येक नेपालीको थाप्लोमा २२ हजार १ सय ५९ रुपैयाँ ऋण थियो । अहिले यो अनुपात पनि बढेर यस वर्ष २४ हजार ९६२ रुपैयाँ पुगेको छ । नेपालमा हरेकजसो क्षेत्रले बाहिरी देशकै भर पर्नुपर्ने बाध्यता छ । यहाँका उद्योग कलकारखानाहरू सञ्चालनका लागि चाहिने कच्चापद्धार्थ समेत हामीले बाहिरबाटै ल्याउँछौं । यति मात्र होइन, विदेशबाट लिएको ऋणलाई पनि हामीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सकेका छैनौं । खाद्यान्न र लुगाफाटोमा हामीले विदेशी ऋणको लगानी गर्नुपरेका कारण यसले उत्पादन गर्न नसकेर घाटा खेप्नुपरेको छ । ऋण लिएर त्यसलाई उत्पादनमुखी बनाउन नसकेकै कारण आज हामी वस्तु निर्यातभन्दा धेरै आयात गर्नुपर्ने अवस्थामा छौं । यही अवस्था रहिरहने हो भने नेपालको व्यापारघाटाको अवस्था अझ भयावह हुन सक्ने देखिन्छ ।
करिब दुई दशक अगाडिसम्म नेपालले चामल निर्यात गथ्र्यो । अहिले बर्सेनि ३० अर्ब रुपैयाँभन्दा धेरैको चामल मात्रै आयात गर्नुपरेको अवस्था छ । नेपालमै भएका स्रोतसाधनको राम्रो सदुपयोग गर्न सक्ने हो भने अति आवश्यकीय वस्तुहरू इन्धन र नुनबाहेक अरू खाद्यान्न नेपालमै पनि उत्पादन गर्न सकिन्छ, तर आज हामीले हाम्रो देशमा उत्पादन हुन सक्ने वस्तुहरू पनि बाहिरी मुलुकहरूबाट ल्याइरहेका छौं । नेपालमा बर्सेनि इन्धन मात्र १ खर्ब ४० अर्ब रुपैयाँको खपत हुन्छ । त्यस्तै नुनको आयात पनि उच्च छ । सुनचाँदीको आयात पनि धेरै छ । बर्सेनि ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा धेरैको मोबाइल सेटको आयात गरिन्छ । वस्तु आयातको तुलनामा निर्यात बढाउँदै जान सक्ने हो भने सन्तुलन मिल्न जान्छ तर, त्यसो हुन सकेको छैन, जसले गर्दा यति धेरै मात्रामा बर्सेनि व्यापारघाटा हुन पुगेको स्पष्ट छ ।
हुन त व्यापारघाटा हुनेबित्तिकै देशको अर्थतन्त्र पूरै धराशायी भयो भनेर सोच्न नहुने सम्बन्धित विज्ञहरूको भनाई छ । विश्वका विकसित देशहरूको पनि वैदेशिक ऋण छ । तर, उनीहरूले त्यो ऋण स्वदेशमा उत्पादनशील क्षेत्रमा लगानी गरेका छन् । उत्पादनले आफूलाई पुग्ने नाफा पनि कमाएका छन् भने उनीहरूलाई ऋण तिर्न पनि अप्ठ्यारो छैन । तर, नेपालमा भने वैदेशिक ऋण र अनुदान कि पेट पाल्नका लागि खर्च भएको छ, कि त नेताहरूका ढुकुटीमा पुगेको छ । यति मात्र होइन, बर्सेनि आउने गरेको करिब ६ खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स पनि अधिकांश अनुत्पादक क्षेत्रमा लगानी गरिने गरिएको छ । भ्रष्टाचारको कहाली लाग्दो अवस्था त छँदैछ । यो देशका लागि निकै ठूलो घाटा मात्र होइन, विकासोन्मुख राष्ट्रका लागि अगाडि बढ्ने तगारो र चुनौती पनि हो ।
यसर्थ आगामी दिनहरूमा देशलाई विकासमा अगाडि बढाउनका लागि बर्सेनि बढ्दै गएको वैदेशिक ऋण घटाउँदै व्यापारघाटालाई न्यून गराउन जरुरी छ । देशमा भएका युवा जनशक्तिलाई स्वदेशमै परिचालन गरी उत्पादनमुखी कार्यमा लगाउनुपर्ने देखिन्छ । विदेशबाट ल्याउने सामानको खपत घटाएर स्वदेशी सामानको निर्यात बढाउनु पनि जरुरी छ । यसो गर्न सकियो भने मात्र नेपालको समुन्नत विकासमा टेवा पुग्नेछ भने देश विकासमा पनि अगाडि बढ्नेछ । त्यसैले कुरामा भन्दा काममा जोड दिन सक्ने अवस्था ल्याउनका लागि नेपालको वर्तमान राजनीतिक अवस्थामा पनि सुधार हुन आवश्यक रहेको देखिन्छ । कुनै पनि देशको राजनीतिक अवस्थाले नै त्यस देशको आर्थिक गतिविधिमा पनि उतारचढाव आउनेतर्फ सम्बन्धित क्षेत्रले ध्यान दिन सक्ने हो भने व्यापारघाटामा पनि कम गराउन सकिएला । घाटामा रहेको देशले न आर्थिक प्रगति गर्न सक्छ, न विकास नै । यतातिर पनि अब सोच्नैपर्ने बेला आएको छ ।

 ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्