उत्तर कोरियालाई नाकाबन्दी छल्न रुसको सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई नाकाबन्दी छल्नका लागि रुसले सहयोग गरेको आरोप लगाएका छन् । प्योङयाङ प्रत्येक दिन जसो अमेरिकामा लामो दुरीको क्षेप्यास्त्र प्रहार गर्नका लागि नजिकिदै गएको पनि उनले बताए ।
“रुसले उत्तर कोरियासँगको हाम्रो योजनामा सहयोग गरिरहेको छैन,” ट्रम्पले बताए । “चीनले हामीलाई सहयोग गरिरहेको छ, तर रुसले गरेको छैन । “केही समय अगाडिसम्म नाकाबन्दी छल्नका लागि चीनले उत्तर कोरियालाई गरेको सहयोगको खाली ठाउँ हाल रुसले पूर्ति गरिरहेको छ,” उनले बताए ।
ट्रम्पले यो वर्ष सामना गर्दै आएको प्रमुख अन्तर्राष्ट्रिय चुनौतीमा उत्तर कोरिया प्रमुख रहेको राष्ट्रपतिले बताए । विगतका समयमा पनि उनले किमसँगको वार्ता अस्वीकार गरेका थिएनन् ।
किमसँग कुनैपनि सूचना आदान प्रदानमा रहेको भन्ने विषयमा भने उनले केही पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । पछिल्लो समयमा किम र ट्रम्पबीच छुद्र तहको आरोप प्रत्यारोपको आदान प्रदान हुदै आएको थियो । यसले क्षेत्रको तनावलाई झनै बढाएको छ ।
“म चुप लागेर बस्न तयार छु । तर चुप लागेर बस्दा मात्रै समस्याको समाधान हुनेमा म निश्चिन्त छैन,” उनले बताए । आपूm भन्दा पूर्ववर्ती शासकहरुले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रम नियन्त्रण गर्न नसकेको आरोप पनि उनले लगाए ।
“वाताले कुनैपनि अर्थपूर्ण नतिजा निकाल्नेमा म विस्तस्त छैन । उत्तर कोरियासँग विगत २५ वर्षदेखि वार्ता हुदै आएको छ र उनीहरुले हाम्रा पूर्ववर्ती राष्ट्रपतिबाट फाइदा पनि उठाएका छन्,” उनको भनाई थियो ।
उत्तरर कोरियातर्फको तेल र कोइला आपूर्ति बन्द गरेर सहयोग गरेकोमा उनले चीनको प्रशंसा गरे । तर प्योङयाङलाई नियन्त्रणमा राख्नका लागि चीनले यो भन्दा पनि बढी गर्न सक्ने भनाई ट्रम्पको थियो ।
तर चीनले खाली बनाएको ठाउँ रुसले पूर्ति गरेको आरोप उनले लगाए ।
पश्चिमी युरोेपेली सुरक्षा स्रोतले डिसेम्बरको अन्त्यमा रुसी ट्यांकरले उत्तर कोरियामा इन्धनको आपूर्ति गरेको जनाएको छ । यसले अन्तर्राष्ट्रिय नाकाबन्दीको उल्लंघन गरेको उने बताए । तर रुसले भने उत्तर कोरियामाथिको नाकाबन्दीको उल्लंघन गरेको आरोपको खण्डन गरेको छ ।
आफ्नो संघर्षरत अवस्थाबाट गुज्रेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्तर कोरिया आयातीत तेलमा निर्भर रहदै आएको छ । कोरियाको अन्तर्राष्ट्रिय ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणु कार्यक्रमका लागि पनि तेलको आवश्यकता पर्दै आएको छ ।