अव्यवस्थित बन्दै झापाका मदरसा «

अव्यवस्थित बन्दै झापाका मदरसा

झापाका मदरसा अव्यवस्थित बन्दै गएका छन् । स्थानीयले आफू खुशी खोल्न थालेपछि मदरासा व्यवस्थित हुन नसकेका हुन् ।
मुस्लिम धर्मावलम्बीहरुले अध्ययन गर्ने थलो मदरसामा योग्यताप्राप्त शिक्षक नहुँदा जीवनोपयोगी ज्ञान दिन पनि समस्या हुँदै आएको छ । झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा मात्र २० वटा मदरासा सञ्चालनमा छन् । आवश्यक स्रोत अभावमा झापा गाउँपालिका मदरसामा विद्यार्थी संख्या दिनानुदिन घट्दै आएका छन् ।
सामान्य विवाद भएपछि केही व्यक्ति मिलेर मदरसा खोल्ने गरेको कारण मदरसाको संख्या धेरै भएको झापा गाउँपालिका शिक्षा शाखा सदस्य जगनाथ राजवंशीले बताए । झापा गाउँपालिका –४ मा मात्र १३ वटा मदरसा छन् । “कुनै मदरसामा १० जनामात्र विद्यार्थी छन्,” राजवंशीले भने, “रेकर्डमा विद्यार्थी संख्या धेरै देखाइन्छ, वास्तविकता फरक हुन्छ ।” झापा गाउँपालिकाको जाम्या इस्लामिया ‘क’ मा रेडर्क अनुसार विद्यार्थी नभएको उनी सुनाउँछन् । जहाँ १० जना मात्र विद्यार्थी मदरसामा भेटिन्छन् । “केही समय पहिलेसम्म भारतीय विद्यार्थी पनि मदरसा पढ्न झापा गाउँपालिका आउँथे,” राजवंशीले भने, “अहिले भारतीय विद्यार्थी धेरै कम छन्, शिक्षकहरु भने अझै पनि धेरै भारतीय छन् । ”
नेपाल सरकारको अनुदानमा सञ्चालन हुँदै आएका मदरसालाई यस आर्थिक वर्षदेखि स्थानीय पालिकाबाटै प्रत्येकलाई १ लाख ६८ हजार अनुदान उपलब्ध गराइएको छ । अघिल्लो आर्थिक वर्षसम्म मदरसा जिल्ला शिक्षा कार्यालयमार्फत् सरकारी अनुदानमा सञ्चालन हुँदै आएका थिए । मदरसा बोर्ड झापाका निर्वतमान सचिव संसद अलाम मदरसा व्यवस्थित गर्न सरकारले दरबन्दी कायम गर्नुपर्ने बताउँछन् ।
“मदरसा सञ्चालनको अवस्था नाजुक छ,” अलामले भने, “धेरै मदरसा छाप्राको भरमा छन्, सामुदायिक विद्यालयलाई सोसरह सुविधा उपलब्ध गराउन आवश्यक छ ।” प्रत्येक दिन खाना पकाउँदा स्थानीयले एक मुठी चामल बचत गर्ने र त्यही मुठीदानले मदरसा सञ्चालन गर्दै आउनुपरेको वास्तविकता अर्कोतर्फ देखिन्छ । झापा गाउँपालिकाका स्थानीयले हरेक वर्ष मंसिरमा बाली थन्काउँदा मदरसालाई भाग छुट्याउने गरेको राजवंशीले बताए । मदरसालाई जिल्लाको स्मार्ट शिक्षालय बनाउनु वर्तमान समयको आवश्यकता रहेको उनी बताउँछन् ।
केही मदरसाले छात्रावासको प्रबन्ध गरेका छन् । झापा गाउँपालिका– ४ मा रहेका मदरसा इस्लामिया रुहिमारी र ग्लर्स मदरसामा छात्रावासको व्यवस्था छ । छात्रावासमा बस्ने विद्यार्थीलाई कुनै पनि शुल्क नलिने भएकाले आएजति सबै विद्यार्थीलाई छात्रावासमा राख्न स्रोतले धान्न नसक्ने गरेको मदरसा सञ्चालक बताउँछन् । स्वस्थ खाना, वातावरणीय सफाइजस्ता सूचक लागू गर्नुपर्ने सञ्चालक सुनाउँछन् । निजी स्रोतमा सञ्चालन भइरहेका मदरसा सञ्चालन गर्नु चुनौती बन्दै गएको स्वयम् सञ्चालकको भनाइ छ ।
मदरसाले विषयगत सीप प्रदान गर्न नसकेको झापा गाउँपालिकाका अध्यक्ष जयनारयण साहले बताए । “शिक्षकको मापदण्ड नै हुँदैन, धर्मगुरुहरुले शिक्षा दिँदै आइरेका छन्,” अध्यक्ष साहले भने, “झापा गाउँपालिकामा जिल्लाको सबैभन्दा बढी मदरसा सञ्चालनमा छन् । यसलाई व्यवस्थापन गर्न हामी लागिपरेका छौँ ।”
झापाको बिर्तामोड नगरपालिकामा पनि ५ वटा मदरसा सञ्चालनमा छन् । आठ वर्ष पहिले जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर सञ्चालमा आएका कतिपय मदरसामा ५ जनामात्र विद्यार्थी अध्ययनरत रहेको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख युवराज पाण्डेले बताए । पाण्डेले भने, “हामीले बिर्तामोड नगरपालिकाभित्र रहेका मदरसाको अनुगमन गरेका छौँ । ५ देखि १० जनासम्म विद्यार्थी राखेर पढाइ भइरहेको छ । समयसापेक्ष ज्ञान दिन मदरसा पछि परेका छन् । मदरसालाई व्यवस्थापन गरेर गुणस्तरीय बनाउने कार्यक्रम नगरपालिकाले बनाएको छ ।” मदरसाको पाठ्यक्रम परिवर्तन गर्न आवश्यक रहेको प्रमुख पाण्डे बताउँछन् । मदरसालाई व्यवस्थापन गर्न मर्ज गरेर अघि बढ्नुपर्ने पाण्डेको भनाइ छ ।
झापामा ५० वटा मदरसा सञ्चालनमा छन्, जहाँ १५ सयभन्दा बढी विद्यार्थीले अध्ययन गर्छन् । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका बाहेक अन्य १३ वटै पालिकामा मदरसा रहेका छन् । स्थानीय सरकार र दातृ संस्थाको अनुदानमा सञ्चालनमा रहेका मदरसा व्यवस्थापनमा राज्य गम्भीर बन्नुपर्ने मदरसा सञ्चालकको माग छ ।

गोपाल संग्रौला-मनिषा चम्लागाईँ

प्रतिक्रिया दिनुहोस्