प्रदेश–१ सरकारमा ५ जना मन्त्री थपिए
विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।
यसरी थपिने मन्त्रीहरूलाई बुधबार साँझ सपथग्रहण गराइएको छ ।थपिने मन्त्रीहरूमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाइएको छ ।यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।
नयाँ मन्त्रीमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रीपरिषद ८ सदस्यीय भएको छ । मुख्यमन्त्री पछाडि मन्त्रीहरूको पहिलो बरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको बरियतामा नियुक्त भएका हुन् ।नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदबाट विश्वासको मत नलिई मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आचार्यको मन्त्रिमण्डलमा एकजना पनि महिला परेका छैनन् ।
यसैबीच मन्त्रिपरिषद्को आज बसेको बेठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्यमात्र कायम रहेको र अन्य कुनै विपक्षी दलहरूले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना छैन ।प्रदेशसभामा बहुमत सिद्ध गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन् ।