खानेतेलमा अन्तर्राष्ट्रिय बजारको प्रभाव हो, कृतिम मूल्य वृद्धि होइन : ध्यू तेल उत्पादक संघ «

खानेतेलमा अन्तर्राष्ट्रिय बजारको प्रभाव हो, कृतिम मूल्य वृद्धि होइन : ध्यू तेल उत्पादक संघ

नेपाल वनस्पति तथा ध्यू तेल उत्पादक संघले खाने तेलको मूल्यमा कृतिम वृद्धि नभएको जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले मूल्य अस्वाभाविक रुपमा बढेको जनाएको हो ।

तेलको मूल्य वृद्धि सम्बन्धमा सञ्चरमाध्यममा आएका समाचार प्रतिआफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको मूल्य निर्धारण हुने जनाएको छ ।

साथै तेलको मूल्य वृद्धिको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत पटक–पटक सोधेको थियो । उक्त संघमा २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरू आबद्ध छन् । हाल सोयाबिन, सनफ्लावर तेललगायतले नियमित रुपमा उत्पादन गरी स्थानीय बजारमा साथै निकासी पनि गर्दै आएका छन् ।

‘उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरूबाट आयात गर्नुपर्छ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुसार नै नेपालको बजारको मूल्य निर्धारण हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै विगत लामो समयदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ तथा क्रुड तेल उत्पादन हुने देशहरूमा भएको सुक्खाको कारण र अन्य भू–राजनीतिक मुद्दाहरूले गर्दासमेत खाने तेलको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको संघले जनाएको छ । त्यस्तै खानेतेलको पर्याप्त मौज्दात रहेकाले चाडपर्वमासमेत तेलको कमी नहुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्