‘आर्थिक विकास र समृद्धि हासिल गर्न सरकार याक्सनमा जान्छ’ «

‘आर्थिक विकास र समृद्धि हासिल गर्न सरकार याक्सनमा जान्छ’

पोखरा-वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सरकार अब विकास निर्माणका लागि याक्सनमा जाने बताएका छन् । विश्व सीमसार दिवसको अवसरमा शनिबार पोखरामा आयोजना भएको सीमसार जलवायु परिवर्तन विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सरकार अब आर्थिक विकास र समृद्धि हासिल गर्नका लागि योजनाबद्ध ढंगबाट अघि बढ्ने बताएका हुन् ।
उनले भने, “देश नयाँ राजनीतिमा प्रवेश गरेको एक वर्ष हुँदै गर्दा जनताले आशा गर्नु स्वाभाविक हो, तर हामीले विकासको आधारका लागि एउटा फ्रेम तयार पारेका छौं, फागुन २१ भीत्र सीमा तोकिएकाले त्यसपछि हामी सबै ढंगबाट याक्सनमा अघि बढ्ने छौं ।” केही जनतामा फ्रस्टेट भएको बताउँदै मन्त्री बस्नेतले सरकारको एक वर्षमा धेरै आशाभन्दा अब काम गर्ने भएकोले विश्वास गर्न आग्रह गरे । सरकारले एक वर्षभित्रमा आन्तरिक तयारी गरेसँगै अब परिणाम देखिने गरी काम गर्न चाहेको उनले बताए । राष्ट्रिय महत्व राख्ने पर्यटकीयस्थल फेवाताल संरक्षणमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयकारी भूमिकामा मात्र तालको संरक्षण हुने मन्त्री बस्नेतले बताए । सीमित स्रोतसाधन भएकाले भएको स्रोत साधनलाई अधिक रूपमा प्रयोग गरी वातावरणलाई असर नपर्ने गरी सरकारले काम गर्न चाहेको उनले जनाए । प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतसाधन माथि वातावरणीय सन्तुलन राख्दै प्रयोग गर्न मन्त्री बस्नेतले आग्रह गरे ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी ६ महिनापछि प्रदेशमा धेरै काम हुने दाबी गरे । उनले भने, “अब सरकारले कुरामात्र होइन, काम गर्ने हो, अबको ६ महिना वेट गर्नुहोस्, हामीले प्रदेशमा धेरै विकास गरेरै छाड्छौं ।” फेवाताल संरक्षण गर्ने जिम्मा सरकारको भएको उनले बताए । वर पिपल वातावरणसँग जोडिएकोले प्रदेश सरकारले वरपिपल संरक्षणका लागि विधेयक ल्याएको मन्त्री लम्सालले बताए । गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले प्राकृतिक सम्पदाको संरक्षण गर्र्ने समुदायलाई रोजगार, आयआर्जनमा सहज पार्ने भनी विभिन्न प्रतिवेदनमा उल्लेख भए पनि कार्यान्वयन नभएको दाबी गरे ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको फेवाताल संरक्षणको नाममा अध्ययन प्रतिवेदन धेरै बने पनि प्रभावकारी ढंगले काम भने हुन नसकेको गुनासो गरे । उनले भने, “फेवाताल संरक्षणमा हाल भागबण्डा भएको छ, यसले गर्दा यसको संरक्षण कस्ले गर्ने हो, अब नाप्न, देख्न सकिने गरी काम गर्नुपर्छ ।” फेवातालको पानी मुनि व्यक्तिको नाममा लालपुर्जा भएकोले आफूहरूलाई ताल संरक्षणमा ठूलो समस्या आइपरेको जिसीले गुनासो गरे ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले विश्वका ५० प्रतिशत जसो सीमसार क्षेत्रमा पर्यटक घुमघाम गर्ने गरेको बताए । नेपालमा ५.५७ प्रतिशत सीमसार क्षेत्र रहेको उल्लेख गर्दै उनले नेपालका सीमसार क्षेत्र संरक्षण गर्नुपर्ने बताए । राष्ट्रिय वन्यजन्तु विभागका उप–महानिर्देशक गोपालप्रसाद भट्टराइले तराईमा ४, उच्च पहाडीमा ४ र पहाडी क्षेत्रमा २ गरी नेपालका १० ठाउँमा रामसार क्षेत्रमा सूचीकृत भएको बताए । जलवायु परिवर्तनले गर्दा सीमसार क्षेत्रमा समेत असर परेको उनले बताए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका बिष्णुप्रसाद भण्डारीले सीमसार क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने सन्देस दिन पनि तीन तहकै सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रम पोखरामा गरिएको बताए । वन मन्त्रालयका सचिव विश्वनाथ ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्