सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न आग्रह «

सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी व्यवसायबाटै बार्षिक २० अर्ब रूपैयाँ राजस्व संकलन हुने गरेको बताएका छन् । उनले व्यवसायीले बार्षिक ठूलो रकम राजस्व बुझाउँदै आए पनि सरकारले अनावश्यक दुःख दिने गरेको आरोप लगाए ।
धनगढीमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देशभर २३ हजार व्यवसायी रहेको र २ लाख व्यक्तिले प्रत्यक्ष तथा करिब १० लाख व्यक्तिले अप्रत्यक्ष रोजगारी प्राप्त गरे पनि राज्यले विलासिताका रूपमा हेर्नु बिडम्बना भएको गुनासो गरे । “सुनचाँदी व्यवसायमा दैनिक ५० किलो सुन आवश्यक भए पनि २० किलो मात्रै उपलब्ध हुँदै आएको छ,” उनले भने, “यसले साना व्यवसायी मारमा परेका छन् ।” उनले दैनिक कम्तिमा ३० किलो सुन उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश संयोजक बिपेन्द्र रामुदामुले सुनचाँदी व्यवसायका समस्या समाधान गर्न सरकारले पहल नगरेको आरोप लगाए । उनले बैंकले १०० ग्राम सुन बिक्री गर्ने व्यवस्था हुँदासमेत बिक्री नगर्ने, एकै समयमा बैंकपिच्छे बिक्रीदरमा ३ सय रूपैयाँ फरक पर्ने, सिफारिश गरिएका व्यवसायीले ४-५ लाख जम्मा नगरेसम्म दरभाउ नबताउने, सुन खरिद फारम कसैले दुई पाना त कसैले ६ पाना भर्नुपर्ने, उपत्यका बाहिर कुनै पनि बैंकले सुन उपलब्ध नगराउनेलगायतका समस्या रहेको बताए । सुनचाँदी ओसारपसार गर्दासमेत राज्यले अनावश्यक दुःख दिने गरेको उनको भनाइ थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश समितिका उप–संयोजक सन्तोष लामिछानेले काठमाडौंबाट सुदूरपश्चिमसम्म सुनचाँदी ल्याउन गम्भीर सुरक्षा चुनौती देखिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्