कर्णाली प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण «

कर्णाली प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई सात लाख २८ हजार रुपैयाँ बराबरको कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाले जिल्ला कोभिड संकट व्यवस्थापन समिति जुम्लामार्फत अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
संक्रमणको पहिलो दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका १० जिल्लासहित सुदूरपश्चिमका ३ जिल्ला गरी १३ जिल्लामा उल्लेखनीय काम गरेको कर्णाली प्रतिष्ठानलाई कोभिड प्रतिकार्य सामग्री दिइएको हो ।
माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट) लगायत १३ जिल्लामा कोभिड रोकथाममा निकै प्रभावकारी भूमिका निर्वाह गर्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई कोभिड प्रतिकार्यका लागि थप स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए । उनका अनुसार अक्सिजन सिलिण्डर २७ वटा, फेससिट पाँच सय, सर्जिकल मास्क ६ हजार, ग्लोब्स एक सय पिस, पीपीई एक सय पिस, स्यानिटाइजर पाँच सय मिलिमिटरको ५० वटा, भिटिएम किट एक सयलगायत सात लाख २८ हजार रुपैयाँ बराबरको १० प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कोभिड रोकथाम तथा नियन्त्रणका लागि गैससको उल्लेखनीय सहयोग रहेको बताइन् । उनले भनिन्, “मानव जातिको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य नै हो । स्वास्थ्यलाई बचाउनु पर्दछ । यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुको विकल्प छैन ।”
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले पछिल्लो समय कोरोना संक्रमण नभएजस्तो नागरिक बिना मास्क हिँडिरहेका छन्, तर दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेकाले सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनका अनुसार कोभिड रोकथाममा दातृ निकायको सहयोग प्रशंसायोग्य छ ।
सामग्री बुझ्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजिव शाहले दातृ निकायबाट प्राप्त सामग्री कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यकताका आधारमा प्रयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्