जनताले तिरेको कर निर्माणको नाममा खेर «

जनताले तिरेको कर निर्माणको नाममा खेर

जनताले तिरेको करबाट देशैभरका सडकहरू निर्माण भएका छन् । अर्थमन्त्रालयले हरेक आर्थिक वर्षमा भारी बजेट विकास निर्माणका लागि निकासा गर्छ । त्यही रकमले सडकमा कालोपत्रे हुन्छ । सडक कालोपत्रे गर्नका लागि सरकारले हरेक नगरपालिका, महानगरपालिका र वडालाई आवश्यकताअनुसार बजेट छुट्ट्याएको हुन्छ ।
वडा, नगरपालिका, महानगरपालिकाले निर्माण व्यवसायीलाई महँगोमा बाटो निर्माण गर्ने ठेक्कापट्टा दिन्छन् । सडक विभागले त जनतालाई सेवासुविधा होस् भनेर बाटो निर्माणको प्रक्रिया अघि सार्छ, तर त्यसले भने अर्कै रूप लिन्छ । असार मसान्तमा बजेट पारित हुन्छ । साउनदेखि सडक निर्माण कार्य ।
अहिले विकासको सुरुवात यहींबाट हुन्छ, जसका कारण सडक निर्माण गरेको वर्ष दिन नपुग्दै कालोपत्र निस्किन्छ । बजेट भने अर्थमन्त्रालयले विकास निर्माणका लागि भारी छुट्ट्याएको हुन्छ । तर, काम भने निकै कमसल हुन्छ । ठेकेदारले रकम अपुग भयो भन्दै काम आधा अधुरै छोड्दिन्छ ।
भएको बाटो पनि विकास निर्माणका लागि डोजर लाउँछन् । तर, कालोपत्र भने डोजर लाएर खनेको पाँच वर्षसम्म पनि पूरा हुँदैन । पहिलो वर्षमा बनेको बाटो बिगार्छन् । दोस्रो वर्ष फेरि त्यही बाटोमा डोजर लाउँछन् । तेस्रो, चौथो वर्ष गर्दागर्दै वर्षौं बित्छ ।
तर सडक पिच भने वर्षौंसम्म हुँदैन । दुःख कसलाई भन्दा जनतालाई । बाटो हिँड्दा दुर्घटना नहोस्, महिलाहरूलाई घर जान सजिलो होस् भनेर सडक विभागले सडकछेउछाउ सोलार बत्ती जडान गरेको छ । सवारी दुर्घटना कम गर्नका लागि पनि सोलार बत्ती जडान गरेको हो ।
सडकमा सिसिटिभी क्यामेरा त छन्, तर अधिकांश सिसिटिभी क्यामेराले काम गरेको छैन । कति बिग्रेका छन् भने कति काम नै नलाग्ने भइसकेका छन् । जनताले तिरेको कर बालुवामा पानी मिसाएजस्तो भएको छ । जनतालाई सेवासुविधा दिने नाममा करको ह्रास भइरहेको छ ।
सडक छेउछाउका सोलारबत्तीले काम नगर्दा राति आफ्नो जागिरबाट फर्किने सर्वसाधारणहरूलाई निकै कठिन परिस्थितिको सामना गर्नुपरेको छ । धेरैजसो भित्री गल्लीहरूमा सोलारबत्ती जडान नै गरिएको छैन । बिग्रेका, काम गर्न छोडेको सोलारबत्तीहरू मर्मतसमेत गरिएका छैनन् ।
राति सडक दुर्घटना पर्नुको मुख्य कारण सोलार बत्तीको अभाव नै हो । सोलार बत्ती जडान तथा मर्मतसम्भारका लागि हरेक वर्ष राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ निकासा हुन्छ । जसलाई केही बुद्धिजीवी र ठेकेदारहरूले कमाइखाने भाँडो बनाएका छन् ।
हरेक वर्ष अर्बौं बजेट सोलार बत्ती मर्मत, जडान र सफा गर्नका लागि अर्थमन्त्रालयले पारित गर्छ । त्यत्रो बजेटबाट कहाँकहाँ सोलार बत्तीको जडान भयो । भएका बत्तीहरू मर्मत गरियो कि गरिएन । कति बत्तीहरू मर्मत भए । यसको निरीक्षण न सडक विभागले गर्छ, न त महानगरपालिकाले नै गर्छ ।
हामीले जनताका लागि यो गरेका छौं, त्यो गरेका छौं भनेर नेपाल सरकार बडो गर्वका साथ छाती फुलाउँछ । तर, सरकारले जनताका लागि नभई आफ्नो भ्रष्टाचारी कर्मचारी र ठेकेदारहरूका लागि मात्र काम गरेको छ । नाम जनताको काम आफ्नो पार्टीका कार्यकर्ताको ।
सडकमा सोलार बत्ती नहुँदा राति महिलाहरूलाई बाटो हिँड्न धेरै गाह्रो भइरहेको छ । धेरैजसो कामबाट फर्किंदा अँध्यारो भइसकेको हुन्छ । सार्वजनिक सवारीको दादागिरीले गर्दा पनि कामबाट टाइममै निस्किए पनि घर पुग्दा अबेर भइसक्छ । राति बाटो एक्लै हिँड्दा धेरै डर बोकेर हिँड्नुपर्छ ।
हाम्रो समाजमा दैनिक नराम्रा घटनाहरू घटिरहेका छन् । त्यसमाथि रातको समयमा केही भन्न सकिन्न । सरकारले एकातिर महिलाहरूलाई चाहिने सुरक्षाको पनि व्यवस्था गर्न सकेको छैन । सोलार बत्तीले रातको समयमा हुने सडक दुर्घटनालाई लिएर राति कामबाट अबेर फर्किने पैदल यात्रुहरूलाई समेत निकै सहयोग पु-याउँछ ।
सवारीको चाप बढेका कारण पनि आकाशे पुल अहिलेको आवश्यकता हो । सडक दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल र जेब्राक्रसले निकै सघाउ पु¥याउँछ । हरेक सडकमा आकाशे पुलको निर्माण गरिदिने हो भने दुर्घटना निकै कम हुन्छ । ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्छ ।
केही वर्षअघि सरकार र महानगरले सडक छेउछाउ विभिन्न जातका रूख–बिरुवा रोपेको थियो । उपत्यकामा मात्र नभई उपत्यकाबाहिरका सडकहरूमा पनि बोटबिरुवा रोप्ने कार्यक्रम भएको थियो । यसमा पनि राज्यले अर्बौं रुपैयाँ खर्च ग-यो ।
तर हेरचाहको अभावका कारणले कति बोटबिरुवा मरे । कति बोटबिरुवा मासियो र ती रोपेका बोटबिरुवाहरू जोगाउन सरकारले चासो दिएन । बोटबिरुवाहरूले हामी मानव जातिलाई अक्सिजन प्रदान गर्छ । हरियो चिजबिज हेर्नेले हाम्रो आँखा निकै नै स्वस्थकर हुन्छ ।
बोटबिरुवा मासिनु भनेको मानव जाति नासिनु हो । बोटबिरुवा भएन भने हामीले अक्सिजन पाउँदैनौं । अक्सिजनबिना मान्छे बाँच्न सक्दैन । यसबाट क्षति अरूलाई होइन, हामीलाई नै हुने हो । भएका जग्गाजमिन सबै मासिसकेका छन् । वनजंगल सबै फँडानी गरेर सिद्धिसक्यो ।
सबै वनजंगल फँडानी गरेर आवासीय क्षेत्रहरूको निर्माण भएका छन् । चौतारा, पार्टीपौवा, धाराकुवा सबै शून्यकै संख्यामा झरिसकेको छ । पानीका मुहानहरू सुक्दै गएका छन् । सरकारले घर बनाए पनि अलिकति जग्गा छोडेर वृक्षरोपण गर्ने नीति ल्याएको पनि वर्षौं भइसक्यो ।
तर, कसैले टेरेका छैनन् । भएका वरपीपलका रूखहरू पनि मासेर घर बनाएका छन् । रूखबिरुवाको महत्व कति छ भन्ने कुरा सबैले बुझेका छन् । तर पनि बेवास्ता गरिरहेका छन् । रूखबिरुवा, वनजंगल सबै फँडानी भइसक्यो । बाँकी रहेको अलिअलि वनजंगलमा पनि निर्माण कार्य भइरहेको छ ।
यसबाट हुने क्षति भोलिको दिनमा नेपालीले नै भोग्नुपर्ने हो । भारतले आएर म भोगिदिन्छु भन्ने होइन । थाहा हुँदाहुँदै पनि मतलब नगर्ने । यो त एउटा जिम्मेवार नागरिकको संकेत होइन । अहिले त हाम्रो समाजमा तैंले घर बनाउने कि मैले घर बनाउने होडबाजी चलिरहेको छ । तीन आना जग्गामा घर बनाउँछन् ।
खाली ठाउँ कहीं पनि छोडेको छैनन् । तीन आना जग्गामा पाँचतले घर बनायो । भाडामा लगायो । अनि त खुट्टा पसारेर खान पुगिहाल्छ । अनि त्यत्रो कोठाबाट निस्केको फोहोरचाहिँ सरकारले बटुल्नुपर्छ । केही दिन फोहोर उठाउन ढिला भयो भने घरघरबाट निस्केको फोहोर सडकभर फ्यालिदिन्छन् ।
घर बनाइसकेपछि बोटबिरुवा रोप्न मिल्ने जति जग्गा छोड्नुपर्छ । कम्पोष्ट मल बनाउने ठाउँको निर्माण गर्नुपर्छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको मात्र हो र ? हामी नागरिकको चाहिँ होइन ? तरकारीको बोक्रादेखि लिएर बढी भएको खानासम्म बाटोमा ल्याएर फ्याँकेको केही दिनअगाडि मात्रको कुरा हो ।
सरकारले पनि जनतालाई सेवासुविधाको प्रत्याभूति गराउन सक्नुपर्छ भने जनता पनि आआफ्नो ठाउँबाट सक्षम हुन जरुरी देखिन्छ । यहाँ त घर बनाउने, भाडा उठाउने काम मात्र भइरहेको छ । भाडा बस्नेलाई र घरबेटीलाई चाहिएको आनन्द मात्र हो ।
चाहे अरू मरून् कि बाँचून् कसैलाई मतलब नै छैन । एकै ठाउँमा जोडेर घर बनाउन दिनु नै सरकारको सबैभन्दा ठूलो गल्ती हो । यसरी घर बनाउँदा वृक्षरोपण कहाँ गर्ने ? पर्याप्त अक्सिजन चाहिन्छ भने एउटा घरमा कम्तीमा १५ वटासम्म बोटबिरुवा लगाउनुपर्छ ।
यदि यस्तो गर्न सक्यो भने हाम्रो देश पनि सुन्दर र सफा देखिन्छ । व्यवस्थित सहरीकरण हुन्छ । चराचुरुङ्गीहरूले पनि बस्ने बासस्थान पाउँछन् । सहर हरियाली हुनुका साथै हाम्रो स्वास्थ्यलाई पनि लाभ मिल्छ । मानव जातिले पर्याप्त मात्रामा अक्सिजन पाउँछन् ।

अनुसा थापा

प्रतिक्रिया दिनुहोस्