भारतीय मैदाले नेपाली उद्योग संकटमा «

भारतीय मैदाले नेपाली उद्योग संकटमा

चालू आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि करमा दिइँदै आएको २५ प्रतिशत छुटसमेत हटाइएपछि उद्योगहरू समस्यामा परेका हुन् ।

सस्तो मूल्यमा भारतीय मैदा अत्यधिक मात्रामा नेपाल भित्रिएकाले नेपाली मैदा उद्योग संकटमा परेको उद्योगीले गुनासो गरेका छन् । नेपालमा सञ्चालित मैदा उद्योगहरू पूर्णतया स्वदेशी लगानी भई स्वदेशकै कच्चा पदार्थ एवं जनशक्तिमा आधारित कृषि उद्योग भएकाले आयातित सस्तो मैदाले उद्योग संकटमा पर्न लागेको नेपाल मैदा उद्योग संघले जनाएको हो ।
हाल नेपालमा ३८ वटा मैदा उद्योग छन् । केही समयदेखि नेपालको मागलाई स्वदेशकै मैदाले धानिरहेको अवस्थामा अहिले भारतबाट आयात भई काठमाडौंको बजारमा समेत बिक्री हुन थोलेको सस्तो र कम गुणस्तरको मैदाका कारण अर्बौंको स्वदेशी लगानी जोखिममा पर्ने सम्भावना बढेको संघका अध्यक्ष माधवलाल श्रेष्ठले बताए ।
संघका अनुसार सरकारबाट उचित सहयोग हुन सकेमा नेपालको आवश्यकताभन्दा दोब्बर बढी मैदा उत्पादन गरी चीनको स्वशासित क्षेत्र तिब्बत, बंगलादेशलगायत तेस्रो मुलुकमा समेत निर्यात गर्न सक्ने क्षमता हुँदाहुँदै आयातीत भारतीय मैदाले अन्योलको स्थिति सिर्जना गरिदिएको छ ।
सरकारले स्वदेशमा उत्पादन भई आन्तरिक बजारको मागलाई धान्न सक्ने वस्तुको पहिचान गरी ती वस्तु आयातलाई निरुत्साहित गर्ने बताइरहे पनि स्वदेशी मागलाई पूर्ति गर्न सक्षम मैदा उद्योग धरासायी हुन् दुखद भएको संघको भनाइ छ । “भारतीय मैदासँग प्रतिस्पर्धा गर्न नसकेकै कारण केही वर्ष अघिसम्म धेरै मैदा उद्योग बन्द भएका छन्,” संघले विज्ञप्तिमा भनेको छ, “मैदा उद्योगको यथार्थतालाई मध्यनजर गरी सरकारले आयातित मैदा रोक्न केही वर्षअघि स्वदेशी मैदामा मूल्य अभिवृद्धि कर छुट, मैदा आयातमा भन्सार मूल्यांकन वृद्धिलगायतका सकारात्मक कदम चालिदिएकै कारण आज स्वदेशी मैदा उद्योग पुन सञ्चालनमा आई आत्मनिर्भर हुन सकेको हो ।” संघले भारतीय सरकारले मैदामा मूल्य अभिवृद्धि कर नलगाए पनि नेपालमा १३ प्रतिशत रहेको जनाएको छ । चालू आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि करमा दिइँदै आएको २५ प्रतिशत छुटसमेत हटाइएपछि उद्योगहरू समस्यामा परेको संघको भनाइ छ ।
नेपालमा उत्पादन हुने मैदा वा पीठोमा प्रिमिक्सको समिश्रण मात्रा आईरन (६०.० मिलिग्राम), भिटामिन (१.० मिलिग्राम), फोलिक एसिड (१.५ मिलिग्राम) अनिवार्य गरिएको छ । जुन आयातित मैदामा नपाइने संघको दाबी छ । सरकारको नीति बमोजिम नेपालमा उत्पादन हुने सबै प्रकारका बिस्कुट, चाउचाउ, पाउरोटीलगायत बेकरी सामानमा पनि प्रिमिक्स समिश्रण गरिएको मैदा÷आँटा मात्र प्रयोग हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । स्वदेशी उद्योगमा मात्र यो नियम लागु हुँदा न्याय संगत नदेखिएको भन्दै संघले आयातित मैदा÷आँटाका बोरा वा प्याकिङमा प्रष्ट देखिने गरी स्वदेशी उद्योगले जस्तै समिश्रणको मात्रा तोकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मातहतको कार्यालयहरूबाट जाँच पास गराएपछि सक्कल रिपोर्टका आधारमा मात्र भन्सारले छोड्ने व्यवस्था हुनुपर्ने माग गरेको छ ।
भारतीय मैदा अत्यधिक मात्रामा नेपाल भित्रिँदा मैदा उत्पादननै कम हुन गई त्यसको असर चोकरमा पनि पर्ने संघको भनाइ छ । भारतमा चोकरको मूल्य बढी छ र भारतको मागलाई नै त्यहाँको चोकरले नै धान्न नसकिरहेको अवस्थामा यदी नेपालमा चोकरको उत्पादन कम हुने वा हुन छोडेको अवस्थामा त्यसको प्रत्यक्ष असर नेपाली किसानलाई पर्ने संघले जनाएको छ ।
सरकारले आन्तरिक उत्पादनमा आत्मनिर्भर भएको वस्तुको संरक्षण गरी त्यस्ता आयातित वस्तुलाई प्रतिस्थापन गर्ने भनी आवश्यक नीति तयार गर्ने योजना बनाइरहँदा मैदा पनि स्वदेशी उत्पादनमा आत्मनिर्भर भइसकेको दैनिक उपभोग्य खाद्य वस्तु भएकाले आवश्यक अध्ययन गरी आयातित मैदामा रोक लगाई अर्बौंको स्वदेशी लगानीमा स्थापना भएका मैदाको लगानी संरक्षण गरी उद्योग बन्द हुनबाट बचाउन संघले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्