भारतीय निजी कम्पनीको कार्गो रेल वीरगन्जमा «

भारतीय निजी कम्पनीको कार्गो रेल वीरगन्जमा

वीरगन्ज-वैदेशिक व्यापारका लागि सामरिक महत्वको पारवहन सेवामा नयाँ आयाम थपिएको छ । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा सुरु गरेपछि नेपालको पारवहन सेवामा नयाँ आयाम थपिएको हो ।
भारतको हल्दिया बन्दरगाहबाट हिन्द टर्मिनल प्रालिको रेल ९० वटा कन्टेनर लिएर वीरगन्जस्थित सुक्खा बन्दरगाहमा बुधबार आइपुगेको छ । स्विट्जरल्याण्डबाट खाद्यवस्तु लोड भएको कन्टेनर लिएर २८ भदौमा हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधबार बिहान १०ः१५ मा नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा प्रवेश गरेको थियो । हिन्द टर्मिनल दुबईको सर्राफ ग्रुपद्वारा भारतमा सञ्चालित कम्पनी हो ।
कार्गो लिएर सिर्सिया सुक्खा बन्दरगाहमा प्रवेश गरेको हिन्द टर्मिनलको रेललाई सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, निर्देशक हेमेन्द्र शाही, हिन्द टर्मिनलका महाप्रबन्धक अभिनव गुप्ता, अपरेसन महाप्रवन्धक ऋषि सिंह, सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता भन्सार अधिकृत चुडामणि शर्मा कट्टेल लगायतले नेपालको झण्डा र हरियो झण्डा देखाएर स्वागत गरेका थिए ।
नेपाली आयातकर्ताहरुको माग अनुसार भारतीय रेलवे सेवाको सम्झौतामा संशोधनपश्चात पहिलो पटक निजी कम्पनीको रेलसेवा सुरु भएको हो । सन् २००४ मा नेपाल र भारतबीच भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाईमात्रै एकाधिकार दिएको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले पहिलो पटक भारतीय निजी कम्पनीको रेल कम्पनीले नेपालमा गरेको सेवा प्रवेशले कार्गो ढुवानी सेवा प्रतिस्पर्धी हुने तथा नेपाली पारवहन लागत र समय घट्ने विश्वास व्यक्त गरे ।
भारतीय निजी कम्पनीको रेलसेवा सुरु भएपछि कार्गो ढुवानीमा पनि वृद्धि हुने भएपछि सुक्खा बन्दरगाहमा स्थान अभाव हुनसक्ने भएकोले विश्व बैंकको ऋण सहयोगमा सुक्खा बन्दरगाहभित्रै ४० करोडको लागतमा कन्टेनर यार्ड निर्माण भइरहेको उनले बताए । एकीकृत भन्सार जाँचचौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) बीचको ६२ बिगा जग्गा अधिग्रहणको प्रक्रिया छिटो टुंग्याउनुपर्नेमा उनको जोड छ ।
भारतीय कन्टेनर निगम कोन्करको एकाधिकारले नेपाली आयातकर्ताहरुलाई कार्गो ढुवानी महँगो भएको भन्दै यसको संशोधनको माग गर्दै आएका थिए । तीन महिनाअघि मात्रै नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन गरेर भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेपछि भारतीय निजी रेल कम्पनी प्रवेश गरेको हो ।
निजी रेल सेवाप्रदायकको प्रवेशले नेपालमा रेलवेमार्फत मालसामान ढुवानीमा हँुदै आएको एकाधिकार तोडिएको छ । पहिलोपटक नेपालको पारवहन सेवा दिन पाउँदा निकै खुशी लागेको हिन्द टर्मिनल्सका महाप्रवन्धक अभिनव गुप्ताले बताए । यसले नेपाली आयातकर्ताहरुले फाइदा लिन सक्ने उनको भनाइ छ । नेपालको कार्गो ढुवानीमा भारतीय निजी रेल कम्पनीको प्रवेशले नेपाली आयातकर्ताहरुलाई विलम्व शुल्कको नाममा तिर्नुपर्दा बाहिरिएको नेपाली रुपैयाँको बचत हुने र ढुवानी सेवा पनि सहज हुने बताए ।
हिन्द टर्मिनल्सको नेपालमा कार्गो सेवाको प्रवेशले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुलेको छ । प्रतिस्पर्धी बजारमा आयातकर्ताले सस्तोमा कार्गो ढुवानी गर्न पाउने, पारवहन सेवामा लाग्ने समयको बचत र निर्यातमा पनि सहजता हुने उनको दावी छ । हिन्द टर्मिनल प्रालिले भारतमा २६ वटा रेलमार्फत सेवा दिइरहेको र नेपालमा पनि हप्तामा दुईपटक सेवा दिने योजना रहेको उनले जानकारी दिए । हिन्द टर्मिनल्स र कोन्कर बाहेक रेल कम्पनीले पनि नेपालतर्फको ढुवानीमा रुची देखाएको गुप्ताले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश २ अध्यक्ष गणेश लाठले कार्गो ढुवानीमा निजी कम्पनीको भारतीय रेलवे सेवा सुरु हुँदा प्रतिस्पर्धा हुने र एकाधिकार तोडिएको बताए । उनले भने, “अहिले नै फाइदा–बेफाइदाको कुरा गर्नुभन्दा रेलवे कम्पनीले दिने सेवा र ढुवानी भाडाको दर हेरेर मात्रै नेपाली आयातकर्ताहरुलाई हुने फाइदाको बारेमा भन्न सकिन्छ ।”
नेपालको कार्गो ढुवानीमा भारतको निजी रेल कम्पनीले सेवा दिन थालेपछि रेलसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने र यसले नेपालको पारवहन सेवामा सहज हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बताए । नेपाली आयाकर्ताहरुको कार्गो ढुवानीका लागि महत्वपूर्ण र ऐतिहासिक शुरुवात भएकोले यसलाई स्थायित्व दिनेतर्फ पहल गर्नुपर्ने बताए । कार्गो ढुवानीमा भारतीय निजी कम्पनीले सेवा दिन थालेपछि अब स्थलमार्गबाट हुने कार्गो ढुवानी पनि रेलमार्फत नै आयाकर्ताहरुले गर्ने उनको भनाइ छ ।
निजी कम्पनीको रेलसेवा सुरु भएपछि कार्गो आयातको चाप बढ्ने भएको छ । यसले नेपाली आयातकर्ताहरुको सामान समयमा अनलोड नहोला कि भन्ने चिन्ता व्यवसायीको छ । सुक्खा बन्दरगाह कन्टेनर सञ्चालनको ठेकेदार कम्पनी प्रिन्स्टाइन भ्याली ड्राइपोर्टका प्रमुख अतुल मिश्रले निजी कम्पनीको रेलसेवा शुरु भए पनि कार्गो ह्यान्डलिङ पूर्ण क्षमतामा गर्न सकिने बताए । उनले कन्टेनर लोड अनलोड गर्ने यन्त्र अहिले चारवटा सञ्चालनमा रहेको र इन्टरमोडल यातायात विकास समितिले दुईवटा यन्त्र फेरि उपलब्ध गराउने आश्वासन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्