सभामुखले विवादास्पद भूमिका खेल्नुभयो : डा. महत «

सभामुखले विवादास्पद भूमिका खेल्नुभयो : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद्् बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने, “सधै संसद् अवरोध हुँदैन । उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं ।”
नेता महतले कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएरमात्रै कांग्रेसले विरोध नगरेको जिकिर गरे । उनले भने, “अहिले त सरकारले यी दुवै अस्पताल संघीय सरकारकै मातहतमा रहने निर्णय गरेको छ ।” आफूहरुले सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसद्बाट विधेयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले स्पष्ट पारे । उनले भने, “सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो । कांग्रेसको विरोधका बावजुद पनि विधेयक जबरजस्ती पारित भयो ।”
उनले पछिल्लो समय महँगीको चरम सीमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने, “हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन् । बहुवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन् । केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपथ्र्यो । होइन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ । तर, त्यो केही पनि गरिएको छैन ।”
त्यस्तै उनले वाडडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने, “यसमा दोष कसको छ भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुप¥यो । अन्त्यमा त अदालत जान्छ । यसमा अविलम्ब निश्पक्ष तवरले छानबिन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।”
विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुइङ बिजनेस रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए । महतले भने, “नेपालको स्टाटस घटेको छ । उता टा«न्सपरेन्सी इन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।” त्यस्तै उनले नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको अवस्था आफूले देखेको पनि आरोप लगाए । महतले भने, “लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरु पनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।” महतले मुलुकमा वैदेशिक लगानी भित्र्याउन वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ । अढाइ वर्षअघि १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एमओयूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिबेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ ।” उनले नयाँ सम्मेलन गर्छु भनेरमात्रै प्रचार गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्