४० नेपाली युवतीसहित १०१ जनाको भारतबाट उद्धार «

४० नेपाली युवतीसहित १०१ जनाको भारतबाट उद्धार

बेचबिखन गर्ने उद्देश्यसहित भारत हुँदै विभिन्न तेस्रो मुलुक लैजान लागिएका ४० नेपाली युवतीसहित १ सय १ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ । युवती बेच्ने गिरोहका ६ जनालाई भारतीय प्रहरीले पक्राउ पनि गरेको र भारतीय प्रहरीको सहयोगमा भारतको मणिपुरबाट उनीहरुको उद्धार गरिएको नेपाल प्रहरीको भनाइ छ ।
भारतीय प्रहरीले भने यो अहिलेसम्मकै ठूलो अपरेसन भएको जनाएको छ । मणिपुर कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सका सदस्य केइशम प्रदीपकुमारले यो सबैभन्दा ठूलो रेस्क्यु अपरेसन भएको भन्दै एकैपटक सयौं महिलाको उद्धार गरिएको बताए । मणिपुर प्रहरी र इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा मणिपुरको इम्फालबाट नेपाली महिलासँगै अन्य देशका युवतीको समेत उद्धार गरिएको जनाइएको छ ।
मानव बेचबिखन गर्ने गिरोहले उनीहरुलाई मणिपुरबाट म्यान्मार हुँदै गैरकानुनी रुपमा इराक र दुबई पु-याउने योजनामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल मानव तस्करहरुले मणिपुरस्थित इम्फालबाट म्यानमार हुँदै इराक र दुबईलाई नयाँ रुटका रुपमा प्रयोग गर्ने गरेको पाइएको भारतीय प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्