रुकुम पूर्वमा सदरमुकामको आन्दोलन चर्कियो «

रुकुम पूर्वमा सदरमुकामको आन्दोलन चर्कियो

कांग्रेस नेता कुटिए

नेपाली कांग्रेस रुकुम पूर्वका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोकासहित ४ जनामाथि कुटपिट भएको छ । रोकासहित नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि रुकुमकोटका आन्दोलनकारीले कुटपिट गरेका हुन् ।
गोलखाडा सदरमुकाम स्थापनार्थ सरोकार समितिको पत्रकार सम्मेलन सकेर उनीहरु रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका थिए । रुकुमकोट प्रवेश गर्नु अगावै रानीकोटमा आफूहरूमाथि रुकुमकोटबासीहरुले कुटपिट गरेको रोकाले बताए । उनका अनुसार आफूहरु चढेको गाडीमा शुरुमा टाढाबाट ढुंगा हानेर गाडी रोकेको र पछि त्यहि आएर एक्कासी कुटपिट गरिएको हो । घटनापछि प्रहरीको सहयोगमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको उनीहरुको भनाइ छ । गोलखाडामा सदरमुकाम स्थापनार्थ उनीहरु आन्दोलनमा सक्रिय छन् । यही माघ २२ गते रुकुमकोटमा शान्तिपूर्ण प्रदर्शन समेत गर्ने उनीहरुले घोषणा गरेका छन् ।
नयाँ जिल्ला रुकुम पूर्वको सदरमुकाम गोलखाडा कार्यान्वयन हुनुपर्ने माग गर्दै गोलखाडा पक्षधरले हालको सदरमुकाम रहेको रुकुमकोटमा यही २२ गते शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन् । सदरमुकामको अन्योल लामो समय रहिरहँदा त्यस क्षेत्रमा बेलाबेला आन्दोलन भैरहेको छ । रुकुम पूर्वको सदरमुकाम गोलखाडा स्थापनार्थ सरोकार समितिले मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा राजनीतिक नेतृत्वहरुले नयाँ जिल्ला सदरमुकामको विवादको विषयमा कुनै पनि ठोस निर्णय गर्न नसकेको भन्दै आफूहरु आवश्यक परे पार्टी सदस्यता त्यागेर पनि गोलखाडा सदरमुकाम हुनुपर्ने पक्षमा निरन्तर लाग्ने बताएका छन् । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा रुकुम पूर्वको गोलखाडा सदरमुकाम स्थापनार्थ सरोकार समितिका सदस्य केशरमान रोकाले दुर्गम र सरकारी सेवाको पीडा रहेको जनताको आवाज नसुनिएका कारण जिल्लाका प्रशासकहरुलाई दबाब दिन प्रदर्शन आयोजना गरिएको बताए ।
सरोकार समितिको अनुरोधपछि रुकुम पूर्वको खोलखाडा पक्षधरहरु ठूलो संख्यामा रुकुमकोटमा भेला हुने अनुमान गरिएको छ । जसले गर्दा रुकुमकोट सदरमुकाम हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका र गोलखाडा सदरमुकाम हुनुपर्ने माग राख्नेबीच झडप हुने सम्भावना पनि देखिएको छ । तर सरकारले हस्तक्षेप नगरेसम्म आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने उनीहरुको भनाइ छ । सरकारले हस्तक्षेप गरे आन्दोलन कस्तो हुन्छ भन्ने अहिले भन्न नसकिने समितिका सदस्य सतमान पुनको भनाइ छ ।
स्थानीय प्रशासनले सदरमुकामको पक्ष र विपक्षमा कुनै पनि आन्दोलन नगर्न अनुरोध गरेपनि गोलखाडा पक्षधरले जनता उतार्ने बताएपछि सुरक्षाकर्मी र स्थानीयबीच झडपको सम्भावना बढेको छ । नयाँ जिल्ला बनेको रुकुम पूर्वको सदरमुकम शुरुमा रुकुमकोटमा तोकेपनि पछि सरकारले कोलको गोलखाडामा तोकेको थियो ।
उक्त निर्णयपछि रुकुमकोट सदरमुकाम हुनुपर्ने पक्षधरताले सरकारको निर्णय खारेजविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटपछि तत्काल सदरमुकाम रुकुमकोट नै राख्न आदेश दिएपनि अन्तिम फैसला भने अहिलेसम्म भएको छैन । एक वर्ष बढी हुँदासम्म सर्वोच्चले कुनै फैसला नगर्दा विचाराधिन अवस्थामा छ । जसले गर्दा सदरमुकाम पक्षधरले पक्ष–विपक्षमा आन्दोलन गर्दै आएका छन् । यसले गर्दा समग्र जिल्लाको जनजीवन पनि प्रभावित बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्