विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास «

विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास


लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गरे । उनले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै बाधा नपर्ने टिप्पणी पनि गरे ।
“यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ, प्रतिस्थापन विधेयक पेश भइसकेको कारणले त्यो ६० दिनमा अन्त्य हुँदैन” उनले भने, “बजेट यहाँबाट पास हुन्छ भने मलाई लाग्छ ४ गते राखेको छ भइहाल्छ, बजेट सञ्चालन गर्न बाधा पर्दैन ।”
यस्तै सांसद सोमप्रसाद पाण्डेले किसानलाई मलको समस्या पर्न थालेकाले सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्ने बताए । मन्त्री नभएको भन्ने बहानामा मलको अभाव हुन नदिन उनले सरकारको ध्यानाकर्षण गराए । हाल अन्तर्राष्ट्रिय बजारमा मलको अभाव नभएको भएपनि नेपालमा व्यवस्थापनको कमजोरीको कारण मलको अभाव हुन पुगेको उनले बताए । “मलका लागि कृषि अनुदानको निम्ति सरकारले पैसा एलोकेट गर्न र तत्काल व्यवस्था गर्न कुनै कमी गर्दै गर्दैन । यसमा सम्बन्धित निकायको बढी ध्यान पुग्नुप¥यो” उनले भने, “अहिले मन्त्री छैन भनेर मन्त्रीलाई देखाएर अथवा सरकारमा बजेट छैन भनेर भन्न पाइँदैन । त्यसका लागि व्यवस्थापकीय पक्षले तयारी गर्नुपर्छ र मल समयमै ल्याउनुपर्छ ।”
नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले मन्त्रिपरिषद विस्तार पछि सरकारले मलको समस्या र उखु किसानको समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल कृषि प्रधान देश भनिएपनि राज्यले कहिलेपनि कृषिको समस्या समाधान गर्ने नीति, कार्यक्रम ल्याउन नसकेका कारण किसानहरु मारमा पर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्