विद्यार्थी संगठनहरूबीच आरोप प्रत्यारोप, फागुन १४ मा स्ववियु निर्वाचन हुनेमा अन्योल «

विद्यार्थी संगठनहरूबीच आरोप प्रत्यारोप, फागुन १४ मा स्ववियु निर्वाचन हुनेमा अन्योल

नेपालमा पटक–पटक भएका विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि हो, स्वतन्त्र विद्यार्थी युनियन । विद्यार्थीहरूको हकहित र शैक्षिक मुद्दामा आवाज मुखरित गर्नका लागि स्वतन्त्र विद्यार्थी युनियनको भूमिका रहँदै आएको छ । नेपालको राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा समेत विद्यार्थीको निर्वाचित साझा संस्था स्ववियुको भूमिका रहँदै आएको छ । तर, पछिल्लो समय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नियमित रूपमा हुन सकेको छैन । विद्यार्थी संगठनहरूभित्र आन्तरिक मतभेद तिव्र बन्दै जानु र विद्यार्थी राजनीतिले आफ्नो मौलिकता विर्सँदै जाँदा स्वतन्त्र विद्यार्थी युनियनको गरिमासमेत घट्दो छ । विद्यार्थी संगठनकै विरोधका कारण यसअघि करिब ६० प्रतिशत क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । आवधिक रूपमा हुने स्ववियु निर्वाचन नहुँदा विद्यार्थीहरूले क्याम्पस, विश्वविद्यालयबाट लोकतान्त्रिक प्रक्रियाको अभ्यास गर्न नपाउने अवस्था बन्दै आएको छ । यसवर्ष पनि फागुन १४ मा गर्ने तयारी भइरहेको स्ववियु निर्वाचनबारे अन्योल कायमै छ । सत्तारुढ दल र प्रतिपक्षी दलका विद्यार्थी संगठन एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका छन् । सत्तारुढ दलका विद्यार्थी संगठन प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ निर्वाचनबाट भाग्न खोजेको आरोप लगाइरहेको छ । नेविसंघ भने आफूहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्दै निर्वाचनबाट भाग्न खोजेको आरोप लगाइरहेको छ । पार्टी एकता भए पनि विद्यार्थी संगठन नमिलिसकेको, सरकार अलोकप्रिय भएका कारण स्ववियुमा हार्ने डर सरकारमा देखिएको नेविसंघको आरोप छ । विश्वविद्यालयले घोषणा गरिसकेको मितिमा यसपटक स्ववियु निर्वाचन के हुन्छ ? स्ववियु निर्वाचनप्रति साँच्चै यी विद्यार्थी संगठन प्रतिबद्ध छन् कि छैनन् ? सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, प्रमुख प्रतिपक्षी कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महर र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमसँग कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

अलोकप्रियता ढाक्न स्ववियु निर्वाचनबाट सरकार भाग्दैछ
नैनसिंह महर
अध्यक्ष, नेपाल विद्यार्थी संघ
नेपालमा प्रजातन्त्रको लडाइँका क्रममा हाम्रा अग्रजहरूले गरेको संघर्षकै कारण स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भएको हो । त्यसकारणले स्वतन्त्र विद्यार्थी युनियनसँग हाम्रो रगतको साइनो छ । केही विद्यार्थीले सहादत प्राप्त गरेका छन् । यहाँ विद्यार्थी राजनीति चाहिन्छ कि चाहिँदैन ? स्ववियु निर्वाचन किन गर्नुपर्छ ? भनेर पनि हामीलाई प्रश्न गरिन्छ । विश्वको कुनै पनि विश्वविद्यालयमा सिनेटमा विद्यार्थीको प्रतिनिधि उपस्थित नभई निर्णय गरिन्न । सिनेटको निर्णयले तब मात्र वैधानिकता पाउँछ जतिबेला विद्यार्थीको प्रतिनिधिले सिनेटमा आएर निर्णयमा हस्ताक्षर गर्छ । यसकारण स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विश्वविद्यालयले गराउन जरुरी छ ।
तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिनुपर्नेमा अहिलेसम्म किन स्ववियुको तालिका ल्याइएन ? विश्वविद्यालयको कुलपति प्रधानमन्त्री स्वयं हुनुहुन्छ । उहाँहरूको दुई पार्टी एकता भए पनि विद्यार्थी संगठन मिलिसकेको छैन । सरकार निर्मला पन्त, चिकित्सा शिक्षा विधेयक, ३३ केजी सुन काण्ड, ३ सय प्रतिशत मूल्यवृद्धिदेखि यावत् विषयमा जनताका बीचमा अलोकप्रिय छ । विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीले सरकारको नालायकीको जवाफ स्ववियु निर्वाचनमार्फत व्यक्त गर्नेछन् । त्यही डरले गर्दा सरकार आफ्नो अलोकप्रियता ढाक्न स्ववियु निर्वाचनबाट भाग्दैछ । पढेलेखेका विद्यार्थी सरकारले यति धेरै जनविरोधी काम गर्दा पनि उसकै पक्षमा उभिएको सत्तारूढ दलका विद्यार्थी संगठनसँग जोडिन पनि चाहँदैनन् । जनताको आवाज मुखरित गरिरहेको नेविसंघप्रति विद्यार्थीको व्यापक लहर छ । त्यसबाट अत्तालिएर सत्तारूढ दलका विद्यार्थी संगठन पनि बाहिर निर्वाचन भने पनि भित्रभित्र निर्वाचन भाँड्न लागेका छन् ।
स्ववियु विद्यार्थीको साझा मञ्च भएकाले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक पर्दैन । नेविसंघले एक महिना अघि नै स्ववियु निर्वाचन फागुन १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाइसकेको छ । अहिले पनि हामी यो निर्णयमा कायमै छौं । हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन । हामी भाग्दैनौं । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो । नेविसंघलाई हराउने तागत कसैसँग छैन । नेविसंघ जुनसुकै बेला चुनावमा जान तयार छ । मैले प्रधानमन्त्री एवं कुलपति केपी ओलीले बोलाउनुभएको छलफलमा पनि यो कुरा स्पष्टसँग राखेको छु ।
तर, सडकमा विद्यार्थीको टाउकोमा लाठी बर्साउने, टाउको फुटाउने, अस्पताल नै भर्ना गर्ने बनाउने, विद्यार्थीलाई जेलभित्र हालेर स्ववियुको निर्वाचन सम्भव छ ? यो तरिकाले स्ववियुको निर्वाचन हुन सक्दैन भनेर मैले प्रधानमन्त्रीलाई भनिसकेको छु । त्यसैले निर्वाचनको वातावरण बनाउने काम विश्वविद्यालयको कुलपति भएको कारणले प्रधानमन्त्रीको पनि हो । परिस्थिति बबन्डरयुक्त बनाएर र प्रधानमन्त्रीको विरुद्धमा विद्यार्थीलाई जुलुस र पुत्ला दहन गर्न लगाउने परिस्थिति बनाएर निर्वाचन भाँड्ने काममा सरकार लागेको छ । सरकारले यो काम नियन्त्रण गरेर अमन–चयन गर्नतिर लाग्यो भने स्ववियुको चुनावका लागि नेविसंघ तयार छ । तर, सरकार नै स्ववियु निर्वाचन भाँड्न लागेको छ कि भन्ने हामीलाई आशंका छ ।
सरकार जनता र विद्यार्थीलाई प्रताडित गरिरहेको छ । यो अवस्थामा, देशैभरि उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको बेलामा, हत्या, हिंसा, बलात्कार, माफिया, भ्रष्टाचार र जति नहुनुपर्ने अपराधहरूको संरक्षक स्वयं प्रधानमन्त्री बनिरहेको बेलामा, सरकार निरीह र अलोकप्रिय भइरहेको बेलामा विश्वविद्यालयका विद्यार्थीहरूलाई थाहा छ, कम्युनिस्ट सरकार कहीँ अब जनताका अधिकारप्रति पनि धावा बोल्दै छैन भनेर ?’ सरकारले निर्वाचित सबै संस्थालाई ‘कोल्याप्स’ गरेर निरंकुश व्यवस्था चाहेको छ । त्यसको सुरुवात सरकारले स्ववियु निर्वाचनबाट गर्न खोजिरहेको छ ।

स्ववियुको निर्वाचन नगराए विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्छ
रञ्जित तामाङ
अध्यक्ष, अनेरास्ववियु क्रान्तिकारी
निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ । स्ववियु निर्वाचन फागुन १४ मा नहुनु पर्ने कुनै पनि कारण छैन । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन हारको डरले निर्वाचनबाट भाग्न खोज्दैछ । आफूलाई प्रजातन्त्रको ठेकेदार भन्ने तर आवधिक निर्वाचनबाट भाग्ने कुरा पटक्कै मिल्दैन । निकट भविष्यको हुन लागेको हार टार्न नेविसंघले विभिन्न बहानाबाजी गर्दैछ । नेविसंघले स्ववियु निर्वाचनबाट भाग्न अरु एजेन्डामा बरालिनु हुँदैन ।
कुलपतिको हैसियतमा प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरिसक्नुभएको छ । विश्वविद्यालयलाई स्ववियु निर्वाचन गराउन भनिसक्नुभएको छ । नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरूपमा भन्न चाहन्छु की नेविसंघ जस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने त्यो शोभनीय हुँदैन ।
नेविसंघ चुनावबाट भाग्ने र विश्वविद्यालय नेविसंघलाई देखाएर स्ववियु निर्वाचन गराउन आनाकानी ग-यो भने हामीलाई सैह्य हुनेछैन । कुलपतिले निर्वाचन गराउन भनिसक्दा उपकुलपति निर्वाचन नगराउनेतिर लागे विश्वविद्यालयका पदाधिकारीहरू असक्षम सावित हुनेछन् । त्यस्तो अवस्था आएमा हामी विश्वविद्यालयका त्यस्ता असक्षम पदाधिकारीहरूको राजीनामा माग्नेछौं । स्ववियु निर्वाचनका लागि सबै व्यवस्था मिलाइसकेको अवस्थामा निर्वाचन नगर्ने हो भने विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्छ । सरकारले शान्तिसुरक्षाको वातावरण बनाउनुपर्छ । अहिले स्ववियु निर्वाचन नहुनुपर्ने कुनै कारण छैन । स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने विद्यार्थी संगठनहरूको पनि दायित्व हो । सबै विद्यार्थी संगठनहरू स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिस्पर्धाको निम्ति तयार हुनुपर्छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयका ६० प्रतिशत क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेन । स्ववियु निर्वाचन हुनसक्दा विद्यार्थीको हकहित र अधिकार, शैक्षिक मुद्दाहरू, स्वास्थ्य, शिक्षा, रोजगार जस्ता संविधानप्रदत्त अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गर्न अग्रगामी र परिवर्तनकारी एजेण्डा समाउने विद्यार्थी संगठन र स्ववियुको जुन चरित्र थियो त्यसमा आघात पुग्न गएको छ । त्यसकारण पनि यथासक्य स्ववियु निर्वाचन हुनुपर्छ ।
विश्वविद्यालयले परीक्षा, नतिजा प्रकाशन र प्रवेश परीक्षालगायतका कार्यक्रमलाई मिलाएर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी गरिरहेको छ । अब कुनै पनि हालतमा स्ववियु निर्वाचनबाट कोही पनि भाग्नुहुँदैन । नेविसंघ जिम्मेवार भएर निर्वाचनमा आओस् । विश्वविद्यालयका पदाधिकारीहरू पनि गम्भीर बनेर निर्वाचन निर्धारित मितिमै गर्न लाग्नुपर्छ । स्ववियु निर्वाचन नहुँदा शैक्षिक मुद्दाहरू ओझेलमा परेका छन् । त्यसकारण पनि क्याम्पस र विश्वविद्यालयमा विद्यार्थीको निर्वाचित संस्था आवश्यक छ । निर्धारित मितिमै स्ववियु निर्वाचन कुनै पनि मूल्यमा हुनैपर्छ ।

दलीय स्ववियुको संरचना खारेज गर्नुपर्छ
श्यामबाबु गौतम
अध्यक्ष, नयाँ शक्ति विद्यार्थी युनिय
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अब हरेक निजी कलेजमा पनि हुनुपर्छ । अहिले जुन ढंगले निर्वाचन हुन्छ यसलाई बदल्नुपर्छ । स्ववियु निर्वाचन गराउनका लागि स्वतन्त्र निर्वाचन आयोग गठन गरिनुपर्छ ।
स्ववियु सभापतिको मात्र प्रत्यक्ष निर्वाचन गरिनुपर्छ भन्ने हाम्रो संगठनको माग छ । हरेक संकायका उत्कृष्टहरूलाई सदस्य राखेर विद्यार्थी संसद् बनाउनुपर्छ । दलीय स्ववियुको संरचना खारेज गर्नुपर्छ । हरेक कलेजले निर्वाचनअघि स्ववियु सभापतिका उम्मेदवारहरूसँग ‘प्रेसिडेन्ट डिबेट’ गराउनुपर्छ । स्ववियुमा विद्यार्थीले तिरेको शुल्कबाट ५ प्रतिशत रकम राख्ने व्यवस्था खारेज गर्नुपर्छ । र क्याम्पसको कुल बजेटको ५ प्रतिशत स्ववियुका लागि छुट्याइनुपर्छ ।
अहिले दलीय राजनीतिका आधारमा विद्यार्थी संगठनहरू सक्रिय छन् । उनीहरू विद्यार्थीका मुद्दा, शैक्षिक सवालभन्दा पनि आफ्नो मातृ पार्टीको एजेण्डामा कुदिरहेका छन् । त्यसकारण विद्यार्थी आन्दोलननै बद्नाम हुन पुगेको छ । पुरानो संरचना र पुरानो ढर्राको स्ववियु निर्वाचनमा नयाँ शक्ति विद्यार्थी युनियन सहभागी हुँदैन । स्वतन्त्र विद्यार्थी युनियनको पूर्णरूपमा पुनर्संरचना नगरी गर्ने सनातनी निर्वाचनको कुनै अर्थ छैन । स्ववियुलाई पुनर्संरचना गरेपछि मात्र हामी निर्वाचनमा सहभागी हुन्छौं ।

इतिहासदेखि वर्तमानसम्म स्ववियु निर्वाचन
२०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । त्यसपछि विद्यार्थी राजनीतिले शैक्षिक संस्थामा प्रवेश पायो । त्रिवि विद्यार्थी युनियनको चुनाव हुन थाल्यो । २०१८–१९ सालमा त्रिवि विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भयो । सभापतिमा तीर्थनाथ गोगोल सर्वसम्मत भए । २०१९–२० मा नवराज सुवेदी सभापतिमा चुनिए ।
स्वतन्त्र विद्यार्थी युनियनको पहिलो निर्वाचन भने २०२० साल भदौ २० गते भयो । यो चुनावबाट प्रगतिशील समूहका जनार्दनप्रसाद आचार्य निर्वाचित भए । यही निर्वाचनपछि नै विद्यार्थी युनियनको नाम परिवर्तन गरेर स्वतन्त्र विद्यार्थी युनियन बनाइयो । पञ्चायती व्यवस्था आएपछि स्ववियुमाथि नै प्रतिबन्ध लगाइयो । विद्यार्थीहरूले स्ववियु पुनस्र्थापनाका लागि संघर्ष गरे । २०३६ सालमा विद्यार्थी आन्दोलनको बलमा स्ववियु पुनस्र्थापित भयो । २०३६ भदौ २० गते स्ववियु निर्वाचन भयो । त्यसपछि नियमित रूपमा निर्वाचन हुन थाल्यो । २०३८, २०४०, २०४१, २०४३, २०४५, २०४९, २०५१, २०५३, २०५५, २०५७, २०६०, २०६२, २०६५ र २०७३ सालमा स्ववियु निर्वाचन सम्पन्न भइसकेका छन् । अहिले स्ववियु निर्वाचनका लागि उम्मेदवार हुन २८ वर्षे उमेर हद तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्