तामाकोसी–काठमाडौं प्रसारणलाइनमा पनि अवरोध «

तामाकोसी–काठमाडौं प्रसारणलाइनमा पनि अवरोध

रुट परिवर्तन गर्ने मण्डन देउपुरको प्रस्ताव

काठमाडौं उपत्यकामा विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ४०० केभीको तामाकोसी–काठमाडौं प्रसारणलाइन निर्माणमा स्थानीय सरकारबाट फेरि समस्या आएको छ । केही दिनअघि भएको काभ्रेको मण्डन देउपुर नगरपालिकाले सो प्रसारण लाइनको रुट परिवर्तनका लागि नगर परिषद्बाट विशेष प्रस्ताव पारित गरेसँगै फेरि स्थानीय सरकारबाटै अर्को प्रसारण लाइन निर्माणमा समस्या देखिएको हो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो प्रसारणलाइन दोलखा, रामेछाप र  सिन्धुपाल्चोकमा निर्माण भइरहेका आयोजनाहरूबाट उत्पादित विद्युत् काठमाडौं ल्याउनका लागि महत्वपूर्ण प्रसारणलाइनको रूपमा लिइएको छ । यसअघि प्राधिकरणले नै निर्माण गरिरहेको २२० केभीको कोसी कोरिडोर प्रसारण लाइनमा धरान नगरपालिकाले रुट परिवर्तन गर्दै अवरोध गरेपछि ठूलो समस्याको रूपमा देखिएको छ । प्रदेश–१ कै मुख्यमन्त्री शेरधन राईको प्रयासमा समस्या समाधान गर्ने प्रयास भएपनि हालसम्म समस्या समाधान भने भैसकेको छैन ।सन् २०२० को अप्रिलभित्र निर्माण सम्पन्न गर्नेगरी अघि बढेको सो प्रसारणलाइनको मण्डन देउपुरस्थित कुन्तावेशी क्षेत्रमा रुट परिवर्तन गर्नुपर्ने माग नगरपालिकाको छ । जनतालाई थाहा नदिइ र सर्भे नगरी वस्ती तथा खेतीयोग्य जमिनलाई असर पर्ने गरी प्रसारणलाइन लैजान लागेकोले आफ्नो नगरसभाले विशेष प्रस्ताव पारित गरेको नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिए । “यसले वस्ती र खेतीयोग्य महंगो जमीनलाई असर गर्ने भएकोले यसको रुट परिवर्तन गर्न विशेष प्रस्ताव पारित गरेका हौं,” उनले भने, “विद्युत् प्राधिकरणमा डेलिगेसनसमेत गएर परिवर्तन गर्न भनिसकेका छौं, संघीय सरकारलाई पनि अनुरोध गर्छौं, यहाँबाट लैजान सम्भव छ, धेरै घर बन्न पनि थालिसकेका छन् ।” विद्युत् प्राधिकरणले भने निर्माणाधीन प्रसारणलाइन आयोजनाको रुट आर्थिक तथा प्राविधिक रूपमा परिवर्तन गर्न असम्भव भएको बताएको छ । “आर्थिक तथा प्राविधिक दुवै रूपमा यसको रुट परिवर्तन गर्न असम्भव छ,” आयोजना प्रमुख नवराज ओझाले भने, “यसको रुट परिवर्तन गर्न थालेमा रिडिजाइनका साथै समयमै आयोजना पनि बनाउन असम्भव छ ।” अहिलेसम्म हामीले सकेसम्म बस्ती छलेर लगेको र जग्गा प्राप्तिको सूचना निकाल्ने प्रकृयामा आयोजना अघि बढेको उनी बताउँछन् । जलविद्युत् प्रवद्र्धकहरूका अनुसार समयमै तामाकोसी–काठमाडौं प्रसारणलाइन नबनेमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १०२ मेगावाटको मध्यभोटेकोसीका साथै निजी क्षेत्रद्वारा उत्पादित गरी करिब ८ सय मेगावाट विद्युत् खेर जाने अवस्था सिर्जना हुन सक्ने देखिएको छ । खिम्तीदेखि लप्सीफेदीसम्मको ९० किलोमिटर लामो  प्रसारण आयोजनाको खिम्ती–बाह्रविसेसम्म र बाह्रविसेदेखि लप्सीफेदीसम्म दुई खण्डमा बन्दैछ भने बाह्रविसेमा सबस्टेसन निर्माण हुन लागेको छ । बाह्रविसेदेखि लप्सीफेदीसम्म ४६ किलोमिटर ठेक्का निर्माण भइरहे पनि खिम्ती–बाह्रविसेसम्मको लाइनको ठेकेदारसँग ठेक्का तोडिएपछि नयाँ प्रक्रिया अघि बढेको छ । बाह्रविसेदेखि लप्सीफेदीसम्मको १२२ टावरमध्ये दुई वटा निर्माण भइसकेको छ भने २३ वटाको जग्गा प्राप्तिको प्रक्रियामा छ । आयोजना निर्माण सम्पन्न भएपछि यस प्रसारणलाइनबाट २ हजार ५ सय मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ । 

 

प्रतिक्रिया दिनुहोस्