गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अन्तिम चरणमा «

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अन्तिम चरणमा


रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब विमानस्थलमा केही प्राविधिक काममात्रै बाँकी रहेकाले आईसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।
प्रमुख इन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङभित्रको फन्सिलिङसँग रिलेटेड काम र फर्निचर फर्निसिङ्सका काम बाँकी छन् । उनले क्यालिब्रेसन फ्लाइटका लागि जडान गरेका उपकरणलाई सही सूचना दिने तरिकाले सेट गर्ने काम कोरोना भाइरसका कारण थाइल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकाले अड्किएको बताए । प्राविधिक कामलाई सम्पन्न गर्नका लागि सरकारले थाइल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख इन्जिनियर अधिकारीले बताए ।
प्रमुख ई. अधिकारीले भने, “अहिले आयोजनाअन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भइसकेको छ, यद्यपि हामीसँग केही साना प्राविधिक काम बाँकी छन्, जस्तै त्यसमा मुख्यतया हाम्रो ठेक्का सम्झौताअनुसार २ वटा प्याकेजमा ठेक्का सम्झौता पाएको हो । पहिलो प्याकेज चिनियाँ कम्पनी नर्थ वेश सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन ग्रुपले गरेको थियो, त्यसलाई हामी आईसीपी जिरो वान भन्छौं, त्यसअन्तर्गतको मुख्य काम अब बाँकी भनेको टर्मिनल बिल्डिङभित्रको फन्सिलिङसँग सम्बन्धित काम र फर्निचर फिनिसिङ्सका काम मुख्य बाँकी काम पर्छ । त्योबाहेक आईसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले लिएको थियो, त्यसअन्तर्गतको उपकरण जडानका मुख्य काम सम्पन्न भइसकेर हामीले क्यालिब्रेसन फ्लाइट, जुन हामीले जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरुको लागि कोभिड–१९ को कारणले गर्दा थाई गभर्मेण्टको हेल्थ प्रोटोकल छ, त्यसले गर्दा आफ्ना प्राविधिकलाई विदेश जान अनुमति नदिएको कारणले क्यालिब्रेसन फ्लाइटको मिति यकिन गर्न नसकिएको अवस्था छ ।”
प्रमुख इन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रूपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए । उनले यो टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताए । प्रमुख इन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताए ।
प्रमुख इन्जिनियर अधिकारीले भने, “टर्मिनल बिल्डिङ रिलेटिभ अहिले जुन हामीले बनिरहेको टर्मिनल देख्छौं त्यो रिलेटिभ रूपमा अलिकति सानो लाग्ने भएको र क्यापासिटीको हिसाबले पनि प्रतिघण्टा ४ सय प्यासेन्जरलाई सर्भिस दिनसक्ने भएको कारणले गर्दा इन्टरनेसनल एयरपोर्टको लागि यो इन्टरनेसनल टर्मिनल बिल्डिङ रिलेटिभ सानो हुन्छ भन्ने तरिकाले नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ चाहिन्छ भन्ने तरिकाले आफ्नो अध्ययन अनुसन्धान अगाडि बढाएको अवस्था छ । करिब–करिब डिजाइन टुंगिदो क्रममा होला, बाँकी काम अघि बढिसकेपछि मात्रै कहिलेबाट काम सुरु हुन्छ भन्ने कुरा यकिन गर्न सकिन्छ । हामीलाई आवश्यक पर्ने जनशक्ति आउनुभयो भने यो हप्ता दिनदेखि १० दिनसम्मको काम हो, अरुले रोकिँदैन ।”
प्रमुख इन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नस्क्दा क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको बताए । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेसन फ्लाइट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्