टेलिकमको २६ % सेयर सर्वसाधारणमा जारी गरिने «

टेलिकमको २६ % सेयर सर्वसाधारणमा जारी गरिने

सरकारले नेपाल टेलिकमको सेयर संरचना परिवर्तनको तयारी गरेको छ । सर्वसाधारणमा सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने सरकारको योजना छ । सरकारसँग हाल कायम रहेको ९२ प्रतिशत सरकारको स्वामित्वबाट २६ प्रतिशत सर्वसाधारणमा लैजाने र बाँकी ६६ प्रतिशतमात्रै सरकारले राख्न लागेको हो ।
टेलिकममा हाल सरकारको ९१.८९ प्रतिशत, कर्मचारीको ४.५ प्रतिशत, सर्वसाधारणको ३.९ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको स्वामित्वमा रहेको सेयर स्वामित्वमध्ये २६ प्रतिशत बिक्री गरेर ६६ प्रतिशतमात्र कायम गर्ने तयारी रहेको जानकारी दिए । प्रारम्भिक रूपमा संसदीय समितिहरूमा समेत छलफल भएको भन्दै यस विषयमा सरकारले योजना बनाएको बताएका छन् । “कम्पनीमा बढीभन्दा बढी जनताको स्वामित्व होस् भन्ने सरकारको चाहनाबमोजिम सेयर बिक्री गर्ने योजना बनेको हो,” मन्त्री बाँस्कोटा भन्छन्, “प्रदेशका जनता, व्यावसायिक घरानालगायतलाई स्वामित्व दिनेगरी छलफल भइरहेको छ ।”
नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउने विषय पनि निकै लामो समयदेखि चल्दै आएपछि कुनै निर्णयमा पुग्न सकेको छैन । रणनीतिक साझेदारका लागि पहल भएका विदेशी कम्पनीले ४९ प्रतिशत सेयर माग गरेका छन् । अहिलेकै अवस्थामा ४९ प्रतिशत रणनीतिक साझेदारलाई दिएमा कर्मचारी, सर्वसाधारण र नागरिक लगानी कोषको गरी झन्डै ८ प्रतिशत सरकारभन्दा बढी उसैको हुनेछ । रणनीतिक साझेदार आउँदा सरकारले बढीमा ४३ प्रतिशत सेयर पाउने र बाँकी बाहिर जाने अवस्था आएपछि सर्वसाधारणमै सेयर बिक्री गर्ने र जनतालाई नै कम्पनीप्रति अपनत्व दिने मन्त्री बाँस्कोटाको योजना छ ।
मन्त्री बाँस्कोटाले टेलीकम टाट पल्टिएको कम्पनी नभएकाले यसको व्यापार विस्तारको लागि सेयर बेच्ने वा रणनीतिक साझेदार भित्र्याउने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले रणनीतिक साझेदार भित्र्याउँदा देशको पैशा विदेश जाने भएकोले सेयर बिक्रीमार्फत् व्यापार विस्तार गर्न लागिएको बताए ।
कम्पनीले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख कारोबारबाट १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ४४ अर्ब ५८ करोड ८९ लाख रूपैयाँको कारोबारमा १५ अर्ब ३७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा टेलिकमको १ सय रुपैयाँ अंकित मूल्य कायम रहेको १५ अर्ब रुपैयाँ बराबरको १५ करोड कित्ता सेयर सूचीकृत छ । कम्पनीले जीएसएम मोबाइल, फाइबर टू दी होम, ७७ वटै जिल्लामा वाइफाइ सेवाको पूर्वाधार विस्तार तथा सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणको लगायतका परियोजनामा लगानी बढाएको छ । दूरसञ्चार क्षेत्रमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले फोरजी-एलटीई सेवा कम्पनीको उच्च प्राथमिकतामा छ । कम्पनीले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत न्युनतम ५ सय १२ केबीपीएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हटस्पट स्थापना गर्ने कामसमेत अगाडि बढाएको छ ।

भ्वाइस ग्राहकः २ करोड १० लाख
डेटा ग्राहकः ७६ लाख
बजार हिस्साः ५३ प्रतिशत
चुक्ता पुँजीः १५ अर्ब

 

प्रतिक्रिया दिनुहोस्