ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउने «

ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउने

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरेको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । ब्याजदरको सम्बन्धमा धितोपत्र बोर्डले ब्रोकरहरूलाई नै छाडिदिए पनि त्यसको प्रत्यक्ष अनुगमन भने आफैं गर्ने भएको छ ।
मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरूले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी दिनु पर्नेछ । बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । निर्देशिकाअनुसार नेप्सेले गत वैशाखमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि २०७५ को तयार गरेको थियो । तर, राष्ट्र बैंक ऐनअनुसार निक्षेप लिने र ऋण दिने काम गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिने ब्रोकरहरू राष्ट्र बैंकमा दर्ता हुनुपर्ने भनेकोले धितोपत्र बोर्डले यो विषय पुँजीबजारसम्बन्धी भएको र पुँजी बजारको सबैभन्दा ठूलो निकाय बोर्ड भएको भन्दै राष्ट्र बैंकलाई भूमिका दिन मानेको थिएन ।
यो व्यवस्था भएसँगै सेयर ब्रोकरको दायरा विस्तार हुने र लगानीकर्तालाई एकै ठाउँबाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोबारमा तरलता अभिवृद्धि भइ समग्र धितोपत्र बजारको विकास र विस्तार हुने बोर्डको विश्वास छ । मार्जिन कारोबारको ब्याजदर धितोपत्र दलाल र ग्राहकबीचमा हुने सम्झौताअनुसार हुने छ । व्याजदरको विषय भने बोर्डले खुला छाडिदिएको छ । मार्जिन कारोबार सुविधाका विषयमा दलाल व्यवसायीमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बोर्डले निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको ढोका खोलिदिएपछि ब्रोकर र लगानीकर्ता उत्साहित भएका छन् । स्टक ब्रोकर एसोसियसनले मार्जिन कारोबारले सेयर बजारमा सकारात्मक सन्देश दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्