हुलाकी सडकमा लापरवाहीः संसदीय समिति «

हुलाकी सडकमा लापरवाहीः संसदीय समिति

तराईको समृद्धिको जीवन रेखा कोर्ने मानिएको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकको निर्माणमा देखिएको बेथितिप्रति संघीय संसदको संसदीय समितिअन्तर्गत विकास तथा पूर्वाधार समिति असन्तुष्ट भएको छ । प्रदेश–२ मा निर्माण भइरहेको हुलाकी सडक तथा पुल निर्माणको विद्यमान अवस्थाको बारेमा अनुगमन गर्न आएको समितिले पर्सामा आयोजना गरेको अन्तक्र्रियामा सरोकारवालाहरूले नै गैरजिम्मेवार अभिव्यक्ति दिएपछि समितिका सदस्यहरू असन्तुष्ट भएका हुन् ।
समितिका सभापति कल्याणी खड्काले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक भएपनि अभिभावकविहीन अवस्थामा र गैरजिम्मेवारीपूर्ण तरिकाले सञ्चालन भएको पाइएको बताइन् । “हाम्रो समितिले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजना यति भद्रगोल अवस्थामा होला भनेर अपेक्षा गरिइको थिएन,” उनले भनिन्, “राष्ट्रिय गौरवको आयोजनाकै यो हालत छ भने अरु कार्यालयको अवस्था कस्तो होला ?” शुक्रवारदेखि खड्काको नेतृत्त्वमा प्रभु साह, सरला यादव, मिनाक्षी झासहित संसदीय समितिको टोलीले प्रदेश २ मा निर्माणाधीन हुलाकी सडक आयोजनाको स्थलगत निरीक्षण सुरु गरेका छन् ।
अनुगमन निरीक्षणको पहिलो दिन शुक्रबार वीरगन्जमा आयोजित अन्तक्र्रियामा पाएको जानकारीले आयोजनाका सरोकारवाला निकाय, ठेकेदार र आयोजनाका कर्मचारीहरू सबै गैरजिम्मेवार देखिएको सभापति खड्काले बताइन् । उनले संसद्मा रहँदा आपूmले सुनेको अवस्थाभन्दा पनि हुलाकी सडक अझै नाजुक अवस्थाबाट गुज्रिरहेको पाएको बताइन् । समितिले सरकारको नीतिगत समस्या होस या ठेकेदारबाट भएको गल्ती होस सबैलाई बुझेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाउदै सार्वजनिक खरिद ऐनले विकास निर्माणमा केही प्रभाव पारेकोले त्यसलाई परिमार्जन गर्न पनि समितिले निर्देशन दिएको जानकारी दिइन् । उनले विकास निर्माणमा भएका अनियमितताको बारेमा व्यक्तिगत रूपमा पनि उजुरी दिन सकिने व्यवस्था भएकोले नागरिक तहबाट पनि त्यस्ता अनियमितता र ढिलासुस्तीको खबरदारी गर्नुपर्नेमा जोड दिइन् ।
अन्तक्र्रियामा प्रकाश पार्दै समितिका सदस्य एवं पूर्व सहरी विकासमन्त्री प्रभु साहले राष्ट्रिय गौरवको हुलाकी सडक व्यवस्थित र उद्देश्यलक्षित होस् भन्ने अभिप्रायले प्रदेश २ लाई प्राथमिकतामा राखेर स्थलगत अवलोकन सुरु गरिएको बताए । उनले पर्सा, बारा, रौतहटमा देखिएको समस्या समाधानको प्रयास रहने बताए । हुलाकी सडक आयोजना, पर्साका कार्यालय प्रमुख अनौठालाल पटेलले पर्सा, बारा, रौतहट र चितवन गरी चार जिल्लामा हुलाकी सडकको अवस्थाबारे समितिका सदस्यहरूलाई जानकारी गराउँदै पर्सामा ६० किलोमिटर, बारामा ३६ किमी, रौतहटमा २० किमी सडक निर्माणको काम भइरहेको बताए । उनले पर्सा, बारा, रौतहटमा १८ वटा पुल निर्माण भइसकेको, ९ वटा पुल बनिरहेको र ७ वटा पुलको निर्माण सुरु नै नभएको जानकारी गराए । थुप्रै ठाउँमा मुआब्जाको समस्या रहेको र सरकारले वार्षिक ५ करोडमात्र मुआब्जाको लागि बजेट विनियोजन गरेकोले समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
पटेलले यथावस्थामा अर्बौं रूपैयाँ मुआब्जामा मात्र खर्च हुने बताए । चितवनमा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण काम सुरु नभएको र आयोजनाको काममा भने बजेट अभाव नरहेको उनको भनाइ थियो । अन्तक्र्रियामा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हुलाकी सडकको जग्गा अधिग्रहणमा कतिपय स्थानमा मुआब्जाका कारण समस्या देखिएको र कतिपय स्थानमा मुआब्जा दिने नीति नभएपनि पाउनुपर्ने स्थानीयको अडानले समस्या भएको बताए । हुलाकी सडकमा पर्ने पर्साको बहुअर्वाभाठ्ठा मुआब्जा, सुवर्णवपुरको ऐलानी जग्गालाई पछि व्यक्तिको नाममा लालपुर्जा वितरण गरेपछि देखापरेको मुआब्जा समस्या, स्थानीय तहहरूको सीमा विवादका कारण निर्माण सामग्री उत्खनन्मा देखिएको समस्या तथा हुलाकी सडक आयोजनाको कार्यालय वीरगन्जमा हुँदाहुँदै पनि प्राविधिक जानकारीको लागि काठमाडौं र्काालयमै सम्पर्क गर्नुपर्ने बाध्यताले पनि समस्या भएको बताए । उनले चाँडै र गुणस्तरीय तरीकाबाट सम्पन्न होस् भन्ने आमचाहना रहे पनि यसमा समस्याहरू देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्