‘वाइल्ड लाइफ टुरिजम’ मा खतराको घण्टी बज्दै छ

वसन्तराज मिश्र
कार्यकारी अध्यक्ष
टेम्पल टाइगर गु्रप अफ कम्पनिज
नेपाल भ्रमणमा आउने पर्यटकहरूको रोजाइ पर्वतारोहणपछिको गन्तव्य भनेको सौराह तथा चितवन हो । नेपालको ठूलो हिस्सा लिएको ‘वाइल्ड लाइफ टुरिजम’ सुरुवात भएको ५० वर्ष हाराहारी भइसकेको छ, जसलाई सिको गर्दै भारत, थाइल्यान्ड, लाओस तथा श्रीलंकाले लाखौं पर्यटक लैजान थालिसकेका छन् । नेपालमा पनि आन्तरिक तथा बाह्य गरी लाखौं पर्यटक जंगल सफारीमा जाने गरेका छन् । त्यति मात्र नभएर सौराह जाने भन्नेबित्तिकै हात्ती सफारी गर्न जाने भन्ने बुझाइ पर्यटकमा हुने गरेको छ । जहाँ २ सयभन्दा बढी होटलमा २ अर्बभन्दा बढीको लगानीसमेत भइसकेको छ भने आधा दर्जन होमस्टेसमेत सञ्चालनमा छन् । उक्त क्षेत्रमा हजारौंको रोजगारी समेत ‘वाइल्ड लाइफ टुरिजम’ सँग जोडिएको छ । पछिल्लो समय हात्ती चढ्न रोक लगाउने अभियान विश्वभर चल्न थालेपछि नेपाललाई सबैभन्दा बढी असर पर्ने देखिन्छ । नेपाल सरकार र संघसंस्था मिलेर बेलैमा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई आश्वस्त पारेर समाधान गर्न नसक्ने हो भने नेपालको ठूलो पर्यटन प्रोडक्ट गुम्ने दाबी ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर मानिएका टेम्पल टाइगर गु्रप अफ कम्पनिजका कार्यकारी अध्यक्ष वसन्तराज मिश्र गर्छन् । सोही विषयमा केन्द्रित रहेर मिश्रसँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानीको सार:
नेपालको ‘वाइल्ड लाइफ टुरिजम’ मा खतराको घण्टी बजेको हो ?
नेपालको पर्यटनको सुरुवात सन् १९५३ मा सर एड्मन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले सगरमाथाको आरोहणपश्चात् सगरमाथा क्षेत्र पर्यटन गन्तव्यका रूपमा विश्वभर प्रचार भयो । उक्त क्षेत्रमा विश्वभरबाट पर्यटक आउन थाले । त्यस्तैगरी सन् १९५० मा मारिस लुइस हर्जोज र लुइस लाकनलले अन्नपूर्ण हिमालको आरोहणपछि पोखरालाई आधार मानेर उक्त क्षेत्र दोस्रो पर्यटन गन्तव्यका रूपमा विश्वभर प्रचार सुरु भयो । यसरी नेपालमा सगरमाथा क्षेत्र र अन्नपूर्ण क्षेत्र पर्वतारोहण पर्यटनका लागि विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास भयो । नेपालमा पर्वतारोहणसँगै सांस्कृतिक धरोहरहरूको पनि अवलोकन तथा अध्ययन गर्ने पर्यटकहरू पनि आउन थालेका हुन् । त्यस्तै सन् १९६० को दशकमा हिप्पी पर्यटनको सुरुवात भएको थियो । त्यसपछि सन् १९६६ पछि नेपालमा वाइल्ड लाइफ टुरिजमको विकास सुरु भयो । चितवन राष्ट्रिय निकुञ्जभित्र वैज्ञानिक आधारमा १२ किलोमिटर पेरिफेरी बनाएर होटल खोल्न सुरु भयो, जुन क्षेत्र अफ्रिकापछि नेपालको ‘वाइल्ड लाइफ टुरिजम’ को प्रचार विश्वभर हुन गएको हो । निकुञ्जभित्र झन्डै ४० वर्ष सञ्चालन भइसकेपछि सरकारले कुनै अध्ययन र विकल्पबिना हटाउने काम भयो, जसबाटै नेपालको वाइल्ड लाइफ टुरिजममा समस्या सुरु भएको थियो, तर पनि हामी लगानीकर्ताले बाहिर आए पनि होटल सञ्चालन गर्दै चलाइरहेका छौं । भित्रजस्तो धेरै खर्च गर्ने पर्यटक नआए पनि हामीले पर्यटकलाई सेवा दिइरहेका छौं । तर, पछिल्लो समय फेरि जनावर अधिकारको नाममा हात्ती सफारी रोक्नुपर्छ, हात्तीमा चढ्न हुँदैन भनेर अधिकारकर्मीहरूले दबाब दिन थालेका छन् । यसले के देखाउँछ भने कालान्तरमा नेपालको वाइल्ड लाइफ टुरिजममा खतराको घण्टी बज्दै छ । यसमा हामी बेलैमा सचेत हुन सकेनौं भने नेपालको पर्यटनमा समस्या सुरु हुन्छ ।
हात्तीमा पर्यटक बोक्न र घुमाउन नपाउने अभियानले कहाँ के असर पार्ने देखिन्छ ?
नेपालको ‘वन्यजन्तु पर्यटन’ नै धक्का लाग्ने गरी विश्वभरबाट हात्तीलाई पर्यटक बोकाउन रोक्नुपर्ने माग उठ्न थालेपछि नेपालको ठूलो पर्यटन प्रोडक्ट नै समस्यामा पर्ने देखिएको छ । पशु संरक्षणका नाममा विकल्पबिना नेपाल अगाडि बढेमा अर्बौंको लगानी डुब्नुका साथै पर्यटक आगमनदरमै समस्या आउने निश्चत छ । हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेको छ । यस विषयमा नेपाल सरकार र सम्बन्धित क्षेत्रले गम्भीर अध्ययनपछि मात्रै धारणा बनाउँदै विश्व समुदायलाई आश्वस्त पार्नुपर्छ । किनकि हात्तीको संरक्षण र सुरक्षाका लागि पनि हात्ती सवारी रोक्नु हुँदैन । हात्ती सफारी रोकिनेबित्तिकै सबैले हात्ती पाल्न छोड्छन् । हात्तीलाई पाल्न छाडेपछि हात्ती नै लोप हुन्छ । यसको सीधै असर नेपालको सौराह, नवलपरासी तथा बर्दिया क्षेत्रमा पर्ने देखिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जबाहिर दशकौंदेखि होटल तथा रिसोर्ट सञ्चालन गरिरहेका पर्यटन तथा होटल व्यवसायीले ‘पर्यटकलाई हात्ती नचढाए खान नपाएर सबै हात्तीको ज्यान जाने मात्र नभई सयौंको रोजगारी समेत गुम्नेछ । हात्ती चढ्ने (हात्ती सफारी) कै लागि स्वदेश तथा विदेशबाट लाखौं पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा जाने गरेका छन्, जसबाट हजारौंले रोजगारी पाएका छन् भने सयौं होटल तथा रिसोर्टहरूमा अर्बौंको लगानीसमेत भएको छ । पाँच दशकअघि सुरु भएको हाम्रो वन्यजन्तु पर्यटन अहिले धरापमा पार्न खोजिँदै छ । विगतमा गार्मेन्ट उद्योगमा जसरी बालबालिका प्रयोग भयो भनेर अफवाह फैलाएर नेपालको गार्मेन्ट उद्योग धरापमा पारिएको थियो, नेपालको वाइल्ड लाइफ टुरिजममा पनि हस्तक्षेप हुन खोजेको प्रति सबै सरोकारवाला निकाय सचेत हुनुपर्छ ।
यसका लागि के गर्नु आवश्यक छ ?
विश्वभरका अभियानकर्तालाई सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, वन मन्त्रालय, विश्व वन्यजन्तु कोषलगायत सम्बद्ध निकायले संघसंस्थाहरूलाई बुझाएर हात्ती सफारी भनेको हात्तीकै संरक्षण र निकुञ्जको संरक्षणका लागि हो भन्ने कुरा अन्तर्राष्ट्रिय फोरममा बुझाउन आवश्यक भएको छ ।
वाइल्ड लाइफ टुरिजममा नेपाल मात्रै होइन, असर त अन्य देशमा पनि पर्छ नि, हैन ?
एसियामा वन्यजन्तु पर्यटनका लागि नेपाल अगुवा देशका रूपमा रहँदै आएको छ । चार दशकदेखि मेहनतका साथ वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै लगिरहेका थियौं, तर अकस्मात् भित्रका सबै रिसोर्टलाई बन्द गरी बाहिर निकालिएको थियो । भारतले हाम्रो सिको गरेपछि सुरु गरेको हो । थाइल्यान्ड, श्रीलंकालगायतका देशहरूले पनि नेपालभन्दा पछि सुरु गरेका हुन् । यो विषयमा थाइल्यान्ड विगतदेखि नै बोलिरहेको छ । नेपालले सुरु गरेपछि भारत पनि बोल्नेछ र समस्या समाधान गर्न सजिलो हन्छ । यसले नेपाललाई मात्र नभएर यस एसिया क्षेत्रको पर्यटनलाई नै असर पार्नेछ । नेपालपछि भारत, थाइल्यान्ड, श्रीलंका र लाओसमा मात्र हात्ती सफारी हुने गरेको छ ।
हात्ती सफारीको विषयमा सरकारले के गर्न सक्छ र गर्नुपर्ने के हो ?
सरकारले टुरिजम बोर्डलाई सक्रिय बनाउनुपर्यो । बोर्ड पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मा आधारित छ । अब बोर्डले सरकार, व्यवसायी र विरोधीहरूलाई राखेर संयुक्त रूपमा छलफल गराउनु पर्यो । सत्यतथ्य प्रचार हुनुपर्यो । हामीले सुन्दै आएका छौं— हात्तीले दुःख पायो, हात्तीलाई सताइयो । हात्ती ठूलो जनावर हो, यसको आहारबिहार ठूलो छ । बिहान–बेलुका दुई घण्टा सफारी जानु भनेको यसका लागि एक्सरसाइजजस्तै हो, मानिसले गर्ने जिमजस्तो । हात्तीको विषयमा मात्र किन बोलिन्छ, उँट, घोडा, कुकुर पनि त त्यस्तै जनावर हुन् । तिनको विषयमा किन बोलिन्न । आम्दानी सिर्जना गरिरहेको र बाँचिरहेको एउटा जनावरलाई बाँचिरहन किन नदिने ?
यसरी अफवाहको भरमा सफारी रोक्दा हात्तीले खान नपाउने अवस्था आउँछ । हात्ती चढ्दा हात्तीले दुःख पाउँछ मात्र भनिएको छ । हात्ती चढ्दा उसले खान पाएको छ, संरक्षण पाएको छ चाहिँ किन भनिँदैन । यसबारे चाहिँ कुरा बुझाइदिनुप¥यो । सरकारले पर्यटन बोर्डमार्फत गर्ने कुरा यो हो । वन्यजन्तुसँग सम्बन्धित विभिन्न संघसंस्थालाई कन्भिन्स गराउन सकिन्छ । त्यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ ।
यो क्षेत्रमा कतिजति लगानी भएको होला ? हात्ती सफारीमा रोक लगाइयो भने के हुन्छ ?
सरसर्ती हेर्दा अहिलेसम्म २ अर्ब लगानी भएको देखिन्छ । हात्ती चढ्न रोक्दा तिमीहरूको हात्ती मर्दैन भन्ने कुरा ग्यारेन्टी हुनुपर्यो । रोजगारी सिर्जनामा असर पर्दैन, राष्ट्रिय निकुञ्जभित्र गाडी गुडाउन पाउँछौं, गाडी पुराउदा राष्ट्रिय निकुञ्ज सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी हुनुपर्यो । यसो-उसो गर्न हुँदैन त भन्न सकिन्छ, तर त्यसको समाधान दिनु पर्दैन ?
हात्ती चढ्न हुँदैन भन्नेले पनि हात्तीकै मायाले भनेका हुन् । वाइल्ड लाइफ टुरिजममा लाग्नेले पनि हाम्रो मुख्य आकर्षण हात्ती नै हो भनेका छन् । यसमा आपसी समन्वयको अभाव भएको देखिन्छ । हात्ती चढ्दा नोक्सान हुँदैन । राष्ट्रिय निकुञ्जको संरक्षणमा हात्तीको अहम भूमिका छ भन्ने बुझ्नुपर्छ । सरकारसँग पनि थुप्रै हात्ती छन् । हो, हात्तीको खुट्टामा साङ्लो लगाइन्छ, त्यसलाई विद्युतीय वायरले नियन्त्रण गर्न सकिन्छ । के गर्दा हात्तीले सुख पाउँछ भन्ने शिक्षा हात्ती पाल्नेलाई दिनुपर्यो । हात्तीलाई सानो घरपालुवा जनावर जसरी हेरिनु भएन । हात्तीले दैनिक २ सयदेखि २ सय ५० किलोसम्म खानेकुरा खान्छ । यो समस्याको समाधानका लागि बीचको बाटो उपयुक्त हुन सक्छ । हात्ती पाल्ने समुदायका लागि शिक्षित गर्नुपर्यो ।
हात्तीका लागि मासिक कति खर्च पर्छ ?
नेपालमा निजी हात्ती १ सय ४० र सरकारी हात्ती १ सय १० छन् । ती सबैले पर्यटक बोकेर निकुञ्जभित्र लाने गरेका छन् । वर्षायाममा निकुञ्जभित्र गाडी लान नसकिने कारण हात्तीको विकल्प छैन । चितवनका सौराहा, मेघौली, जगतपुर, नवलपरासीका अमलटारीलगायत स्थानमा रहेका करिब साढे २ सय होटल तथा रिसोर्ट अधिकांशसँग हात्ती छन् । निकुञ्ज अवलोकनमा आउने अधिकांश पर्यटकको पहिलो रोजाइ हात्ती सफारी नै हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जलाई बचाउने हो भने हात्ती सफारीलाई निरन्तरता दिनैपर्ने हुन्छ । निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले हात्तीबाटै अनुगमन र गस्ती गर्ने गरेका छन् । एउटा हात्ती पाल्न प्रतिमहिना औसत ५० हजार रुपैयाँ खर्च लाग्ने गरेको छ ।
निकुञ्जभित्र ४० वर्ष होटल सञ्चालन गरेर बन्द गरिएको थियो । गत वर्ष सर्वोच्च अदालतले बाटो पनि खुला गरिसकेको छ, तर पनि खुल्न त सकेन नि ?
यसमा पनि हात्ती नचढ भन्याजस्तै भएको छ । संसारमा जहाँको पनि वाइल्ड लाइफ राष्ट्रिय निकुञ्ज भित्र नै दिइएको छ र त्यो होटलले होटल भएको एरियामै जनावरहरू धेरै छन्, जुन संरक्षित क्षेत्रको उत्कृष्ट ठाउँ हो । भारतको कुरा गर्दा पनि विगतमा उनीहरूले वाइल्ड लाइफ टुरिजम दिँदैनथे, तर अहिले भारतमा २५ प्रतिशत जंगलमा वाइल्ड लाइफ टुरिजम दिइएको छ । त्यही २५ प्रतिशत ठाउँमा ७५ प्रतिशत जनावर बस्छन् । यो भारतीय वाइल्ड लाइफ टुरिजम विज्ञहरूले भनेको कुरा हो ।
नेपालमा चाहिँ यो बन्दै गर्नुपर्छ किन भनियो कुरै बुझिँदैन । कहाँ गल्ती भयो भनेर खोजिन्न कि बन्द गर्नेतिर लागिन्छ । जसले चलाए पनि संरक्षण क्षेत्रमा लागेका र अनुभव भएकाहरूले सञ्चालन गर्नुपर्छ । विगतमा सञ्चालनमा रहेका होटलहरू पुनः सञ्चालनमा आउनुपर्छ । डब्लूडब्लूएफले पनि सञ्चालन गर्न मिल्छ भन्ने गरेकोमा हाम्रो देशमा भने एउटा पनि अध्ययन नै नगरी बन्द गरियो । सरकारले यस विषयमा बृहत् अध्ययन गरोस् । सरकार, निजी क्षेत्र, विज्ञ र अन्तर्राष्ट्रिय विज्ञसमेत समावेश गरेर गरिएको अध्ययनले नोक्सान नै पुग्ने निष्कर्ष निकाल्यो भने बन्दै गरे भयो, तर आँखा चिम्लिएर बन्द भन्नु भएन ।
वन मन्त्रालयमा गएर फाइल अड्किएको छ । उनीहरू के भन्छन् ?
वन मन्त्रालयले फाइल अड्काएकै छ । के गर्ने भन्ने अन्योल नै छ । एउटा विज्ञ टोली बनाएर अध्ययन गरेर कसरी सञ्चालन गर्न दिने भन्ने कार्यविधि बनाउँदा हुन्छ । सञ्चालन गर्न दिने हो भने यो–यो प्रक्रिया पूरा गर्नुपर्ने र मिल्दैन भने बन्द गर्ने निर्णय गर्नुपर्यो । तर, सञ्चालन गर्न दिने कि नदिने भन्ने दुबिधामा बस्नु भएन ।
राष्ट्रिय निकुञ्जभित्र होटल हुँदा र नहुँदा फरक के पर्छ ?
धेरै ठूलो फरक पर्छ । विगतमा निकुञ्जभित्र होटल हुँदा आउने हाई पे टुरिस्ट बाहिर हुँदा आउँदैनन् । एक जना पर्यटकले भन्दै थिए— निकुञ्जभित्रको होटल बन्द भएर तिमीहरूलाई मात्र होइन, हामीलाई पनि नोक्सान भएको छ । हामीले गुणस्तरीय र हाई पे गर्ने पर्यटक आकर्षण गर्न वाइल्ड लाइफ पर्यटनलाई खुल्ला गर्नैपर्छ ।
हामीले सन् २०३० मा ५० लाख पर्यटक ल्याउने कुरा गरेका छौं । अहिलेदेखि त्यो बढ्दै जानुपर्ने हो । हामीले टुरिस्ट ल्याउन नसक्नुको कारण के हो ?
म पर्यटन क्षेत्रमा आएको करिब ४० वर्ष भयो । २५ वर्षअघि जे समस्या थियो अहिले पनि त्यही छ । यो समग्र पर्यटन क्षेत्रले भोगेको समस्या हो । हाम्रोमा समस्या समाधान हुनेतर्फ होइन, बरु थपिँदै गएको छ । हाम्रो पर्यटनको बोटल नेक भनेको कनेक्टिभिटी नै हो । एउटा भएको अन्तर्राष्ट्रिय विमानस्थल कैयौं वर्षदेखि विस्तार हुन सकेको छैन । ५० लाख पर्यटक नेपालमा ल्याउन कुनै समस्या छैन । तर, त्यसका लागि पूर्वाधार विकास र पर्यटन क्षेत्रमा देखिएको जटिलता निदान हुनुप¥यो । पर्यटनलाई प्राथमिकतामा मात्र होइन, राष्ट्रिय उद्योगका रूपमा हेरिनुपर्छ । द्वन्द्व सकियो, पर्यटक आगमन निकै बढ्यो । अब हामीले राजनीतिक स्थायित्वसँगै पूर्वाधारको विकासमा जोड दिनैपर्छ । एउटा भएको अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई छुट्याउन नसक्दा कति समस्या भोग्नुपरेको छ । त्यसैले पूर्वाधार विकासमा समयसीमा तोकेर गर्नुपर्छ । केही नगर्दा अहिलेको अवस्थामा साढे ९ लाख पर्यटक आए भने पूर्वाधार विकास र प्रोडक्ट विस्तार गर्ने हो भने ५० लाख पर्यटक ल्याउन गाह्रो छैन ।
पाटाले सन् २०३० लाई ‘भिजन फाइभ मिलियन’ को नारा ल्याएको छ, जसमा तपाईंहरूको पनि सहयोग छ । यसका लागि होटलहरू कति चाहिन्छ र अहिले कति क्षमता छ ?
नेपालमा अहिले आएका पर्यटक र भएको होटल संरचनाबीच तादात्म्यता छैन । होटलको संख्या धेरै नै छ । अहिले नै २०-३० लाख पर्यटकलाई राख्न सकिने होटल छन् । पर्यटकको आगमन एकै पटक हुँदैन । यो बिस्तारै बढ्दै जाने कुरा हो र हामीले पर्यटकका लागि आवश्यक पर्ने होटल पूर्वाधार विकास गर्दै जान सकिन्छ । योजना र प्याकेजिङ राम्रो हुनुपर्यो । पहिले नै पर्यटक धेरै आए भने के गर्ने भन्ने होहल्ला हुन्छ । पर्यटक आएपछि तिनलाई राख्न र आवतजावत गराउन होटल र यातायात आवश्यकताअनुसार व्यवसायीले बनाउँछन् नै । यसका लागि कुनै चिन्ता गर्नु पर्दैन ।
हामीले ध्यान दिनुपर्ने कुरा गुणस्तरमा हो । पर्यटन क्षेत्रबाट निकै आशा गर्न सकिन्छ । यसको उदाहरण द्वन्द्व र भूकम्पपछिको अवस्थालाई लिन सकिन्छ । यो बेला अब नेपालको पर्यटन क्षेत्र संकटमा पर्यो भनियो, तर मैले हाम्रो पर्यटनले नयाँ मोड लियो भनेको थिएँ । अहिले ठ्याक्कै त्यस्तै भएको छ । आशा गरौं, नेपालको पर्यटन क्षेत्र सुनौलो युगमा प्रवेश गर्नेछ ।