निपा भाइरसबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह «

निपा भाइरसबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका हुन् ।
प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने बेला आएको बताए । प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए । निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पु¥याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपन्छीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गरे ।
प्रवक्ता पौडेलले भने, ‘हालसम्म नेपालमा पुष्टि भइसकेको छैन । तर यो अलिकति प्राणघातक छ, यसको मृत्युदर उच्च छ । यसले छिटै मस्तिष्कमा असर गर्छ । रिंगटा चल्छ, बेहोस गराउन सक्छ, ज्वरो आउँछ, टाउको दुख्छ । यस्ता लक्षण देखिए अस्पतालमा जाऔं । सही सूचना दिऔं, आतंकित नबनौं तर मापदण्ड नभुलौं ।’
निपा भाइरस विशेषगरी शरीरको ¥याल, दिसापिसाब लगायतको तरल पदार्थबाट सर्ने गर्छ । यो भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्