बौद्धिक सम्पत्ति कानून, समाज बुझ्न पुस्तक उपयोगी «

बौद्धिक सम्पत्ति कानून, समाज बुझ्न पुस्तक उपयोगी


डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बजारमा आएको छ । सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानुनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानुनलाई समाज र आर्थिक विकासमा जोडेर विश्लेषण गरिएको छ । पुस्तकका लेखकमध्ये डा. शर्मा संविधानविद्समेत हुन् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।
पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले यसअघि नै उठाउँदै आएको बौद्धिक सम्पत्तिको विषयलाई पुस्तकले निजी क्षेत्रले उठाएको विषयलाई थप बल पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कुनै पनि लगानीकर्ताले लगानी गर्दा बौद्धिक सम्पत्ति कानूनको बारेमा जान्नुपर्ने बताउँदै उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा चाहाने र सोका लागि बौद्धिक सम्पत्ति कानुनको महत्व धेरै रहेकोसमेत बताए । उनले सो पुस्तकले लगानीकर्तालाई बौद्धिक सम्पत्तिका बारेमा बुझ्न थप सहयोग हुनेसमेत बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले सो पुस्तकमा पेटेन्ट, कपिराइट, ट्रेडमार्क, डिजाइन, समाज र आर्थिक विकासको परिवर्तन गर्न सक्नेबारे विस्तृत रुपमा आएकाले पुस्तक धेरै नै उपयोगी रहेको बताए । बौद्धिक सम्पत्तिको महत्व बुझे यसबाट उचित लाभ लिन सकिने बताउँदै उनले निजी क्षेत्र बौद्धिक सम्पत्ति कानुन निर्माणमासमेत लाग्नुपर्ने र यसले लगानीकर्ताको लगानीलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने बताए ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बौद्धिक सम्पत्ति क्षेत्रमा पुस्तक निकै नै उपयोगी हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीका उजुरीहरु बढिरहेका बेलामा बौद्धिक सम्पत्ति कानुन बुझाउनका लागि सो पुस्तक निकै नै उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्