फोहोरमैलाका कारण र निराकरणका उपाय

व्यवस्थित सहरको बाधकका रूपमा फोहोरमैला पनि एक हो । फोहोरले गर्दा क्षणभरमै विभिन्न प्रकारका रोगव्याधिहरू आउने गर्छन् र अनाहकमा सर्वसाधारणले मृत्युवरण गर्न पुगिरहेको तथ्य हामीमाझ छर्लङ्गै छ । अहिले वर्तमान समयमा देश संघीयतामा गइसकेपछि तीनै तहको निकायले फोहोरलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने चुनौती थपिएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बिनापूर्वाधार गरिएका स्मार्ट सिटी, ल्यान्ड पुलिङजस्ता घोषणाले थप अन्योलता सिर्जना गरेको देखिन्छ । फोहोरमैलाको व्यवस्थित विसर्जन गर्ने उपाय समयमै सोच्नुपर्ने बाध्यता जिम्मेवार निकायमा थपिएको छ । स्मार्ट सिटी र ल्यान्ड पुलिङका लागि आवश्यक पूर्वाधार, फोहोर व्यवस्थापनलगायत खानेपानी, शिक्षा, स्वास्थ्यका बारेमा समेत सरकारले ध्यान दिनु आवश्यक छ । फोहोरलाई कुहिने र नकुहिने छुट्ट्याई कुहिने फोहोरबाट मल बनाउने र नकुहिनेबाट सूक्ष्म रूपमा वर्गीकरण गरी त्यसलाई कवाडीमा पठाई आम्दानी गर्न सकिने जनचेतना फैलाउनु आवश्यक छ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले गरेका व्यवस्था तथा प्रावधानहरूलाई आमनागरिकले पालना गर्दै जानुपर्ने र स्थानीय निकायहरूले कार्यान्वयन गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।
फोहोरमैलाको उचित व्यवस्थापन गरी वातावरण प्रदूषण हुन नदिनका लागि सरकारले विद्यालयस्तरमा पाठ्यपुस्तक, सञ्चारमाध्यमहरूमा जनचेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्नुपर्ने टड्कारो आवश्यक रहे तापनि सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन । बर्सातसँगसँगै काठमाडौं उपत्यकाको फोहोर हप्ता दिनसम्म उठ्न नसक्दा सर्वसाधारणले हैरानी बेहोर्न बाध्य भए । कोभिड महामारीका समयमा फोहोरमैला व्यवस्थित हुन नसक्दा थप जोखिम बढेको देखिन्छ ।
अव्यवस्थित सहरीकरण र जनसंख्या वृद्घिसँगसँगै हाम्रा सहर, टोलहरूमा फोहोरमैला व्यवस्थापनमा समस्याहरू दिनप्रतिदिन थपिंदै गइरहेका छन् । फोहोरकै कारण बर्सेनि हजारौंको संख्यामा स्वासप्रश्वास, दम, रुघाखोकीलगायतका विभिन्न रोगका बिरामीहरू अस्पतालहरूमा थपिंदै गइरहेका छन् । फोहोरमैला बढ्नुको कारणमध्ये सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट तीव्र रूपमा बसाइँसराइ, बढ्ढो जनसंख्याको चाप र सहरी विलासिताको उपभोगका कारण फोहोरको मात्रामा समेत वृद्घि भएको र तिनको सही रूपमा व्यवस्थापन हुन नसक्दा फोहोरमैलाको समस्या उत्पन्न भएको देखिएको छ । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा काठमाडौं उपत्यकाभित्र दिनहुँ फोहोरको थुप्रो थुप्रने क्रम रोकिन सकिरहेको छैन ।
घरबाट निस्कने फोहोर, व्यवसायजन्य फोहोर र संस्थागत फोहोरको वर्गीकरण गरी फोहोर व्यवस्थापन हुन सकेको देखिंदैन । राजधानी उपत्यकाको दैनिक करिब ६ सय मेट्रिक टन फोहोर र अन्य नगरपालिकाबाट निष्कासन हुने फोहोरमैला व्यवस्थापन प्रमुख समस्याका रूपमा रहेको देखिन्छ । अहिले पनि सरकारी तथा निजी क्षेत्रका फोहोरमैला व्यवस्थापनका लागि सक्रिय संस्थाहरूले जथाभावी रूपमा फोहोर खुला ठाउँमा जम्मा गर्ने, थुपार्ने गलत प्रवृत्ति बढ्दै गएको हुँदा नगरहरू दुर्गन्धित हुन पुगेका छन् । सरकारले पूर्वाधारबिना नगरपालिका घोषणा, सरकारको उचित कार्यनीतिको अभाव, राजनीतिक विकृति, भ्रष्टाचार, जनसहभागिताको कमी, दीर्घकालीन योजनाको अभाव, व्यावसायिक शिक्षाको अभाव, उपकरणको अभाव, डम्पिङ साइटको अभाव, जनचेतनाको कमी, नगरपालिकाहरूबीच समन्वयको अभाव, नगरपालिकाको प्रतिबद्धताहरू कार्यान्वयन नभएको, निजी साझेदारी संस्थाहरू सेवामूलकभन्दा पनि नाफामूलक हुन पुगेको, अनुशासनको कमीलगायतका कारणहरूले गर्दा फोहोरमैलाको उचित व्यवस्थापन हुन सकिरहेको छैन । अहिले पनि स्थानीय तहका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाहरूले आफ्नो क्षेत्रमा निस्कने फोहोर व्यवस्थापनका लागि चाहिने डम्पिङ साइट निर्माण गर्न सकिरहेका छैनन् । आफ्नो निकायबाट निस्कने फोहोरमैलाको वर्गीकरण गरी फोहोरमैलाबाट कम्पोस्ट मल र ग्यास उत्पादन गरी उल्लेख्य रूपमा आर्थिक उपार्जन गर्न सकिनेतर्फ स्थानीय निकायको ध्यान जानु आवश्यक छ ।
वर्तमान अवस्थामा उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि सिसडोल ल्यान्डफिल प्रयोग गरिँदै आएकोमा त्यसको विकल्पका रूपमा बन्चरेडाँडा ल्यान्डफिल साइटको व्यवस्था गरिए तापनि विविध कारणले गर्दा व्यवस्थित फोहोर व्यवस्थापन हुन सकिरहेको देखिंदैन । फोहोरमैला व्यवस्थापनका लागि नागरिक चेतना अभिवृद्घि हुनुपर्ने, फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था गरिनुपर्ने, नगरपालिका घोषणापूर्व नै पूर्वाधार विकास गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनका लागि गैरसरकारी संस्थासँग हातेमालो गर्दै अघि बढ्नुपर्ने, नगरपालिकाहरूको दीर्घकालीन योजना बनाउनुपर्ने, ल्यान्डफिल साइटका लागि उपयुक्त स्थानको चयन, व्यावसायिक शिक्षा एवं रोजगारी दिने, तालिम प्रदान गर्ने, फोहोरबाट उत्पादित वस्तुलाई प्राथमिकता दिने, पुरस्कार र दण्डको व्यवस्था गरिनुपर्ने, स्थानीय स्तरमा विविध कार्यक्रमहरू गर्ने, भ्रष्टाचार रोक्ने, फोहोरमैला व्यवस्थापनमा नागरिक समाज र फोहोरमैला व्यवस्थापन गर्ने निकायबीच आपसी समझदारी राख्नेलगायतका विषयहरूमा कार्यगत एकता गर्दै अघि बढ्न सकेको खण्डमा फोहोरमैला समस्या समाधान हुन सक्छ । अर्कातर्फ घर, होटल, अस्पतालहरूबाट निस्कने फोहोरलाई नागरिक आफैंले वर्गीकरण गरी तोकिएको स्थानमा मात्रै फोहोर विसर्जन गर्ने अर्थात् फोहोरको गाडी आएपछि मात्रै फोहोर फाल्ने बानी बसाल्न सकिएको खण्डमा फोहोर व्यवस्थापन हुन सक्छ । फोहोरको उचित व्यवस्थापन गर्न सकिएको खण्डमा वातावरण प्रदूषण हुन सक्दैन, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
स्वच्छ खानेपानी, स्वच्छ हावाको निम्ति फोहोरमैला व्यवस्थापन गर्नु जरुरी हुन्छ । तर पनि राजधानीलगायत मुलुकका विभिन्न स्थानमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न रोगहरू लागी बर्सेनि थुप्रै बिरामी र केहीले मृत्युवरणसमेत गरेका समाचार हाम्रा अगाडि नआएका अवश्यै होइनन्, यिनलाई न्यूनीकरण गर्नका लागिसमेत फोहोर व्यवस्थापनमा सबैको ध्यान जानु आवश्यक छ । विशेष गरी सहरोन्मुख क्षेत्रहरूमा फोहोर व्यवस्थापन जटिल समस्याका रूपमा फैलिँदै गइरहेको देखिन्छ ।
महानगर, उपमहानगर, नगरपालिकाका अधिकांश सडकपेटी तथा सार्वजनिक स्थलहरूमा फोहोरको डुंगुर लथालिङ्ग रूपमा जथाभावी फालिएको सहजै देख्न सकिन्छ । यसको व्यवस्थापनमा स्थानीय निकायहरू लाग्नुपर्छ । सरकारले फोहोरमैला व्यवस्थापनका लागि ऐन, कानुन निर्माण गरेको छ । सरकारले फोहोरमैलालाई स्रोतमा न्यूनीकरण, पुनःप्रयोग, प्रशोधन वा विसर्जन गरी फोहोरमैलाको व्यवस्थित तथा प्रभावकारी व्यवस्थापन गर्न तथा फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्नका लागि फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ८३ बमोजिम संविधानसभाले फोहोरमैला व्यवस्थापन ऐन–२०६८ पारित भएको १५ वर्ष भइसकेको छ । नेपालको संविधान–२०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुका साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रासबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने कुराको व्यवस्था गरेको छ । वातावरणीय समस्याहरू कम गर्न आम सरोकारवालाहरू एकजुट र जागरूक हुनुपर्छ । वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन; सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई गम्भीर असर पारिरहेको छ । ऐन, कानुनको अभावमा फोहोर व्यवस्थापन हुन नसकेको होइन, ऐन–कानुन भएर पनि तिनको कार्यान्वयन पक्षलाई लागू गर्न नसक्नु सरकारको कमी–कमजोरी नै हो भन्दा अत्युक्ति नहोला । भवन बनाउँदा नै वातावरण संरक्षण, फोहोर व्यवस्थापनको उचित व्यवस्थालाई कार्यान्वयन गर्दै अघि बढ्नु-बढाउनुपर्ने आवश्यकता रहेको छ । गाउँगाउँमा सरसफाइ, वातावरण संरक्षणजस्ता विषयलाई प्राथमिकता दिँदै अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।
समग्रमा फोहोर रोगको मूल हो । यसलाई समयमै निर्मूल पार्नेतर्फ हामी सबै सजग र एकजुट हुनुको विकल्प छैन । विश्वव्यापी रूपमा फैलिएर महामारीको रूपमा रहेको कोभिड–१९ को समयमा सरसफाइ अति आवश्यक छ, तर ल्यान्डफिलमा समय–समयमा हुने गरेको आन्दोलनका कारण काठमाडौं उपत्यकामा फोहोर थुप्रिने समस्या बढेको देखिन्छ । यस्ता समस्याहरू समयमै समाधान गर्नका लागि सम्बन्धित निकायले ठोस पहल चाल्नु आवश्यक छ । फोहोर व्यवस्थापनमा लापरवाही, बिनाकारण अवरोध पु-याउनेलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहनुपर्छ । सर्वसाधारण नागरिकले पनि घरको फोहोर घरमै व्यवस्थापन गरेर तोकिएको स्थानमा मात्रै विसर्जन गर्ने बानी बसाल्नुपर्ने देखिन्छ ।