ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउने «

ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउने

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । व्याजदरको सम्बन्धमा धितोपत्र बोर्डले ब्रोकरहरुलाई नै छाडिदिए पनि त्यसको प्रत्यक्ष अनुगमन भने आफुले गर्ने भएको छ।
मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरुले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी दिनु पर्नेछ ।
बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारि गरेको थियो। निर्देशिका अनुसार नेप्सेले गत बैशाखमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि २०७५ को तयार गरेको थियो ।
तर, राष्ट्र बैंक ऐन अनुसार निक्षेप लिने र ऋण दिने काम गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिने ब्रोकरहरु राष्ट्र बैंकमा दर्ता हुनुपर्ने भनेकोले धितोपत्र बोर्डले यो विषय पुँजीबजार सम्बन्धी भएको र पुँजी बजारको सबैभन्दा ठूलो निकाय बोर्ड भएको भन्दै राष्ट्र बैंकलाई भूमिका दिन मानेको थिएन ।
यो व्यवस्था भएसँगै सेयर ब्रोकरको दायरा विस्तार हुने र लगानीकर्तालाई एकै ठाउँबाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकास/विस्तार हुने वोर्डको विश्वास छ ।
मार्जिन कारोबारको व्याजदर धितोपत्र दलाल र ग्राहकबिचमा हुने सम्झौता अनुसार हुने छ। व्याजदरको विषयमा बोर्डले खुला छाडिदिएको छ। मार्जिन कारोवार सुविधाका विषयमा नेप्सेले दलाल व्यवसायीमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बोर्डले निर्देशन दिएको छ।
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको ढोका खोलिदिएपछि ब्रोकर र लगानीकर्ता उत्साहित भएका छन् । स्टक ब्रोकर एसोसियसनले मार्जिन कारोबारले सेयर बजारमा सकारात्मक सन्देश दिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्