नगरपालिकामा नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न समझदारी «

नगरपालिकामा नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न समझदारी

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूमा नवीकरणीय ऊर्जाका प्रविधि प्रवद्र्धनका लागि समझदारी भएको छ ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघ र नेपाल नगरपालिका संघबीच सहयोग र सहकार्यमार्फत प्रवद्र्धन गर्ने गरी समझदारी भएको हो । समझदारी पत्रमा परिसंघका तर्फबाट अध्यक्ष गुणराज ढकाल र नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रका अनुसार, लघु तथा साना जलविद्युत्, सौर्यऊर्जा, वायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जालगायतका नवीकरणीय ऊर्जाका स्रोतहरूको विकासमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबीच सहकार्य हुनेछ । समझदारीले नेपालभरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा नवीकरणीय ऊर्जाका प्रविधिहरूको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक ऊर्जाको पहुँच पु¥याई गरिबी निवारण गर्ने गतिविधिमा टेवा पुग्ने अध्यक्ष ढकालले जानकारी दिए ।
नवीकरणीय ऊर्जाका कार्यक्रम सञ्चालनका लागि दुवै पक्ष महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका तथा बजार क्षेत्रमा ऊर्जाको विस्तार, ऊर्जामा आधारित लघुउद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट समेत अभाव कम गर्न दीर्घकालीन कार्यक्रमका लागि समेत साझेदार बन्न सहमत भएको पनि समझदारीमा उल्लेख छ ।
परिसंघ नवीकरणीय ऊर्जाका कार्यक्रम कार्यान्वयनका लागि आर्थिक तथा प्राविधिक क्षमताका साथै सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि, अनुदान व्यवस्थापन तथा परिचालनका लागि परामर्शको आवश्यक व्यवस्था गर्नेछ । यसका साथै परिसंघले संघीय, प्रादेशिक सरकारलगायतका सम्बन्धित निकायमा नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकास सम्बन्धमा नीति निर्माण, कार्यक्रम र आयोजना तर्जुमा गर्दा र सामुदायिक संस्था, निजी क्षेत्र र गैरसरकारी संस्थासँग साझेदारी गरी ऊर्जाको सुलभ र भरपर्दो उपलब्धताका साथै ऊर्जाको माध्यमबाट आयआर्जन गर्न गराउन लबी र एडभोकेसी गर्दै उपयुक्त रूपमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसअघि परिसंघले लघु, साना तथा घरेलु उद्योगलाई नवीकरणीय ऊर्जा प्रयोग गर्न सुलभ र सहज वातावरण निर्माण गर्दै त्यसका लागि उपयुक्त प्राविधिक एवं वित्तीय व्यवस्थापन तथा सहकार्य गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघसँग पनि समmदारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्