सडक सञ्जालले जोडिएपछि व्यापार सहज

कात्तिक महिनादेखि बाजुरा–बझाङ थामलेकको सिमाना सडक सञ्जालमा जोडिएको छ । सडक सञ्जालले जोडिँदा दुवै जिल्लाका बासिन्दालाई व्यापार गर्न सजिलो भएको छ भने बाजुरा बझाङस्थित विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई समेत आउजाउ गर्न सहज भएको छ ।
छिमेकी जिल्ला भए पनि भौगोलिक विकटताले गर्दा दुई तीन दिन पैदल लाग्ने भए पनि सडक सञ्जाले जोडिएपछि दुई तीन घण्टामा आवत जावत गर्न सकिने भएको छ । दुवै जिल्लाका विकट ग्रामीण बस्ती हुँदै सडक निर्माण भएपछि दुईवटै जिल्लाका स्थानीय बासिन्दालाई स्वास्थ्य उपचार गर्नसमेत सहज भएको छ ।
व्यापार–व्यवसाय फस्टाएको छ । सुन्दर पाटन भएको सीमाक्षेत्र थामलेक र बाजुरातर्फ जोडिएको मनमोहक छेडेदह तालमा पर्यटकीय गतिविधि बढ्न थालेको छ । “अकस्मात कोही बिरामी भइहाले भने निकै समस्या हुन्थ्यो । बोकेर लैजाँदा कतिको बाटैमा मृत्यु हुन्थ्यो,” बझङासँग सिमाना जोडिएको बझाङको खप्तड छान्ना गाउँपालिका– ७ का वडाध्यक्ष रामबहादुर सिंहले भने, “गाडी पुगेपछि त्यो समस्या हटेको छ । गाउँबाटै गाडी गुड्न थालेपछि उपचारका लागि बाजुरा सदरमुकाम मार्तडी पु¥याउँछौ ।” करिब ७१ किमि सडकले दुवै जिल्लाका सदरमुकामलाई जोडेको छ ।
बझाङ सदरमुकाम चैनपुरदेखि सीमाक्षेत्र थामलेकसम्मको सडक दूरी ३१ किमि छ । थामलेकबाट मार्तडी पुग्न ४० किमिको सडक यात्रा तय गर्नुपर्ने हुन्छ । पिठ्यँुमा भारी बोकेरै भए पनि आफ्ना उत्पादन बेच्नका लागि बझाङ पुग्ने र बझाङबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान लैजाने सीमावर्ती गाउँका बासिन्दाको पिठ्यँुको भारी हटेकोमा दुवैतर्फका स्थानीय निकै खुसी छन् । आलु बिक्री गरेर चामल लैजान बझाङको गडराय पुगेकी बाजुरा डोगडीकी पारादेवी बुढाले भनिन्, “बाजे बराजुका पालादेखि तालुको रौं खुइलिने गरी भारी बोकेरै खायौं । अब नाम्लो छुटेको छ ।”
बझाङको गडराय र बाजुराको डोगडीका कतिपय एउटै सामुदायिक वनका उपभोक्ता पनि दुई जिल्लाका बासिन्दा छन् । सडक सञ्जालको विकासले दुवै जिल्लाका बासिन्दाको आर्थिक गतिविधि बढ्नुका साथै सहज भएको छ । बाजुराको डोगडी क्षेत्रका बासिन्दा आफूले उत्पादन गरेको आलु, चोतो (सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा मात्र पाइने एक प्रकारको मुला), बांस निगालोबाट बनेका सामानहरू बिक्री गर्नका लागि बझाङ सदरमुकाम चैनपुरसम्म पुग्ने गरेका खप्तड छेडेदह गाउँपालिका बाजुराका बमबहादुर शाहीले बताए । प्रसिद्ध बडिमालिका, तलिगोठीलगायतका देवस्थलमा पूजा गर्नका लागि बझाङबाट उल्लेख्य संख्यामा भक्तजन तथा स्थानीय बाजुरा आउँछन् । बझाङको ढंडारमष्टालगायतका मन्दिरमा पूजा गर्नका बाजुराबाट आउनेको संख्या पनि उस्तै छ ।
सेती लोकमार्ग अन्तर्गत पर्ने बझाङको जडारदेखि दुगाडासम्मको १८ किमि सडक खप्तड छान्ना गाउँपालिकाका बासिन्दाले एक व्यक्ति एक लिटर तेल अभियान सञ्चालन गरेर केही वर्षअघि निमार्ण गरेका थिए । दुगाडादेखि बाजुराको सिमाना थामलेकसम्मको २ किमि ८ सय मिटर सडक भने जिल्ला समन्वय समिति बझाङको १४ लाख लगानीमा निर्माण भएको जिल्ला समन्वय समिति बझाङका इन्जिनियर चक्र थापाले बताए ।