वन अतिक्रमण गर्दै ग्यारेज «

वन अतिक्रमण गर्दै ग्यारेज

डँडेलधुरा : डँडेलधुरा अमरगढी नगरपालिकाले वन अतिक्रमण गरी गाडी मर्मतका लागि ग्यारेज बनाउन थालेको छ । सडक छेउछाउ रहेका गाडी मर्मत गर्ने ग्यारेज एकै स्थानमा बनाउन अमरगढी नगरपालिकाले मैदान खोदान गरिसकेको छ । नगरपालिकाले वडा नं. १ स्थित ढुनढुनेमा रहेको वनको जमिन अतिक्रमण गरी ग्यारेज व्यवस्थापन गर्न लागेको हो । ग्यारेज व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रकम विनियोजन गरी मैदान बनाउने काम सकेको जनाएको छ ।
वनसँग कुनै छलफल नै नगरी अमरगढी नगरपालिकाले एकलौटी रूपमा जमिन अतिक्रमण गरेको भन्दै रोक्न भनेको छ । वनले रोक्नुभन्दा पहिले नै नगरपालिकाले मैदान बनाउने काम सकिएको जनायो । जिल्ला वन कार्यालयले कानुन मिचेर नगरपालिकाले मैदान खनेको भन्दै रोक लगाउनुपूर्व नै बजेटबराबरको काम सकिएको नगरपालिकाले जानकारी दियो ।
वनको जमिन अधिग्रहण गर्न मन्त्रिपरिषद्को निर्णय चाहिने भएकाले अमरगढी नगरपालिकाले आफूखुसी गरेको मैदान खन्ने काममा रोक लगाएको वन अधिकृत बोधराज सुवेदीले बताए । “हामी विकासका बाधक होइनांै,” वन अधिकृत सुवेदीले भने, “स्थानीय तहहरूले आफ्नो मातहतमा भएको जमिन उपभोग गर्न पाउने अधिकार पनि छ । तर, कानुन बनिनसकेकाले पुरानै कानुनलाई टेक्नुपर्ने हुन्छ ।” उनले भने, “विकास, बजार व्यवस्थापन नगरपालिका, गाउँपालिकाले गर्लान्, त्यो ठीक छ । कानुन बनिनसकेकाले मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने भएकाले अमरगढी नगरपालिकाले थालेको मैदान खन्ने काम हामीले रोक्न भनेका छांै ।”
“स्याउले बजार क्षेत्रमा सडकमै गाडी पार्किङ गरी मर्मत गर्ने भएकाले व्यवस्थित बनाउन निश्चित एक स्थानमा ग्यारेज स्थापना गर्न नगरपालिकाले १० लाख रकम विनियोजन गरेको थियो ।” अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझाले भने । कार्यपालिकाको निर्णयअनुसार ग्यारेज व्यवस्थापनका लागि ढुनढुनेमा डोजर प्रयोज गरी मैदान बनाइसकेका छौं । यस वर्षको बजेट बराबर काम भइसकेको छ । नगर प्रमुख ओझाले भने, “काम सकिसके पनि वनले रोक्नुपर्ने भनी पत्र पठाएको छ । हामी कानुनी रूपमा पनि गएका छौं ।” समयमै काम सिध्याउन बजेटअनुसार काम गरेको उनले बताए । कानुनलाई पर्खिरहे विकासका काममा बाधा पुग्ने नगर प्रमुख ओझा बताउँछन् । सबै ठाउँमा धमाधम सडक पनि बनिरहेका छन् । यसमा कसैले केही बोलेका छैनन् । राजनीतिक संक्रमणका क्रममा काममा बाधा–अवरोध पु¥याउन वनमा उजुरी परेको उनको भनाइ छ ।
ग्यारेज बनाउनका लागी अनपा–१, ढुनढुनेमा खनाइएको जमिनकै छेउमा भूमिराज आधारभूत विद्यालय छ । दाउरा बेचेर २०५६ सालमा विद्यालय स्थापना गरेको स्थानीय प्रेम ऐर बताउँछन् । स्थानीयसँग कुनै छलफल नगरी नगरपालिकाले विद्यालय भएको स्थानमा ग्यारेज निर्माण गर्ने भनी खनाइको काम ग¥यो । उनले भने, “विद्यालयलाई शान्ति क्षेत्र भनिए पनि नगरपालिकाले अरू स्थान छोडेर पठनपाठनको माहौल विगार्न विद्यालयसँगै जोडिने गरी ग्यारेज बनाउन लागेका छन् । यसमा स्थानीय सबैको असन्तुष्टि छ ।” शिक्षाभन्दा पनि विकृति फैलाउन जमिन अतिक्रमण गरी ग्यारेज बनाउन लगेको उनको आरोप छ ।
तर नगरप्रमुख ओझाले उक्त विद्यालयमा १३ जना मात्रै विद्यार्थी अध्ययनरत रहेकाले विद्यालयको विकल्प खोज्ने गरी ग्यारेज बसाउन लागेको बताएका छन् । विद्यालय स्थापना गरे त्यो राम्रो काम हो । विद्यालय स्थापना गरिसकेपछि अभिभावकहरू एक दिन पनि विद्यालयमा गएका छैनन् । नगर प्रमुख ओझाले भने, “त्यो समुदायमा विद्यार्थी नभएको पनि होइन । विद्यालयको व्यवस्थापन गर्न नसक्दा अधिकांश बालबालिका निजी विद्यालय जान्छन् । त्यहाँ १३ जना बालबालिका पढाउने चार जना शिक्षक छन् । त्यसैले विद्यालयलाई मर्च गर्ने भनी त्यस स्थानमा ग्यारेज बसाउन थालेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्