Logo

उपकरण मर्मतका लागि आविष्कार केन्द्रको टोली कर्णाली प्रतिष्ठानमा


राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक टोली जुम्ला पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका विभिन्न उपकरणको अवस्था बुझ्न तथा बिग्रेका बनाउन आविष्कार केन्द्रको टोली जुम्ला पुगेको हो ।
आइतबार कर्णाली प्रतिष्ठान जुम्ला पुगेको राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर सन्जयबहादुर सिंह र उमेश किरातीलगायत सातजनाको टोलीले सोही दिन प्रतिष्ठानका विभिन्न उपकरणको अवस्था अवलोकन तथा मर्मत सम्भार गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर अर्जुनबहादुर सिंहले दुर्गमका अस्पतालको उपकरण मर्मत तथा अवलोकनका क्रममा सुर्खेत कालिकोट हुँदै आविष्कार केन्द्रको टोली जुम्ला पुगेको बताए । उनले भने, “आइतबार जुम्ला पुगेको टोलीले प्रतिष्ठानका अक्सिजन कन्सन्ट्रेटर तथा ल्याबका गरी २÷३ वटा उपकरण मर्मत गरेका छन् भने, आईसीयू, भेन्टिलेटर, ल्याब, ओटी, भिडियो, अडियो एक्सरेलगायतका विभिन्न मेसिनरी उपकरणको अवलोकन गरेका छन् ।”
राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्लामै पुगेर उपकर मर्मत, अवलोकन तथा आवश्यक ज्ञान दिएकोमा धेरै राहत मिलेको समेत प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर सिंहको भनाइ छ । उनले भने, “केही मेसिनको वारेन्टी नै सकिएको हुन्छ । तर कहाँ के समस्या भयो भन्ने सजिलै थाहा पाउन मुस्किल हुन्छ भने, बिजुलीको समस्याले बिग्रेका उपकरण मर्मत गर्न पनि उतिकै समस्या थियो । तर आविष्कार केन्द्रको टोलीले केही मेसिन मर्मत र केही मेसिनको समस्या पत्ता लगाएको छ ।”
दुर्गममै पुगेर यसरी उपकरणको मर्मत गर्दा कर्णाली प्रतिष्ठानलाई ठूलो राहत भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनका अनुसार आविष्कार केन्द्रको टोलीसँंग प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारीले छलफल तथा परामर्श गरेका छन् । आविष्कार केन्द्रले मर्मतका लागि थप पर्नु उपकरणहरु अुनदानमा उपलब्ध गराउने भएको छ ।
त्यस्तै अस्पताल निर्देशक डा. राजिव शाहले आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला आउँदा कर्णाली प्रतिष्ठानले धेरै लाभ लिएको बताए । उलने भने, “सबै उपकरण सधै राम्रै हुन्छन् भन्ने छैन । हामीले सेवा दिइरहेका उपकरणमा पनि केही खराबी पनि हुन सक्छन् । ती समस्या पत्ता लगाउन प्रतिष्ठानमै आएर तालिम दिनुका साथै उपकरणको खराबी सोधीखोजी गर्दा ठूलो राहत मिलेको छ ।”

प्रतिक्रिया दिनुहोस्