नमस्ते पे डिजिटल भुक्तानी सेवा आजदेखि

सरकारी स्वामित्वका दुई ठूला कम्पनी राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीको ‘नमस्ते पे’ अनलाइन भुक्तानी सेवा सुरु हुने भएको छ । एक महिनादेखि परीक्षणमा रहेको यो सेवा मंगलबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउन लागेको हो ।
टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले तयारी पूरा भइसकेकोले व्यावसायिक प्रयोजनमा जान लागेको जानकारी दिए । परीक्षणका क्रममा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंककमा कर्मचारीबीच सीमित रहेको अनलाइन भुक्तानी सेवालाई ब्यावसायिक रुपमा सुरु गर्न लागिएको छ । २०७६ वैशाख ४ मा टेलिकमका प्रवन्ध निर्देशक अधिकारी र राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कायकारी अधिकृत कविराज खनालकाबीच दुई कम्पनीको संयुक्त लगानीमा डिजिटल पेमेण्ट कम्पनी स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल पेमेन्ट कम्पनीमा टेलिकमको ६२ प्रतिशत तथा बैंकको ३८ प्रतिशत लगानी रहेको छ ।
बैंकिङ तथा दूरसञ्चार क्षेत्रमा सहरदेखि गाउँसम्म वृहत् पहुँच भएका ठूला कम्पनीको सहकार्यमा आउन लागेको यो सेवाले नेपालमा डिजिटल कारोबारमा बढोत्तरी आउने अपेक्षा गरिएको छ ।
नमस्ते पे सेवामा इन्टरनेटविना नै रकम ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ । प्रयोगकर्ताले इन्टरनेट उपलब्ध नहुँदा पनि अनस्ट्रक्चरड सप्लिमेन्टरी सर्भिस डेटा (युएसएसडी) अर्थात कम्पनीले उपलब्ध गराएका कोड नम्बर प्रयोग गरेर रकम आदनप्रदान गर्न सकिनेछ । नेपालमा सञ्चालनमा आएका मोबाइल वालेटहरुमा इन्टरनेट विना युएसएसडी प्रविधिबाट रकम पठाउन सकिने नमस्ते पे पहिलो कम्पनी हुनेछ । यस एपमा आउने अर्को सुविधा भनेको ‘वालेट टु वालेट फण्ड ट्रान्सफर’ पनि गर्न मिल्ने कम्पनीले जनाएको छ ।
कोभिड–१९ को महामारीपछि नेपालमा पनि डिजिटल कारोबार पनि बढेको छ । भर्खर बामे सर्दै गरेको डिजिटल पेमेण्ट प्रणालीमा जोडिनेको संख्या एकै पटक बढेपनि सेवामा सीमितता छ भने सेवा प्रदायकले पूर्णरुपको सेवा दिन सकेका छैनन् ।
सरकारले नै डिजिटल पेमेन्टलाई प्राथमिकता दिएपनि भरपर्दो सेवाप्रदायक कम्पनी अझै छैनन् । विभिन्न वाणिज्य बैंकको सहायक कम्पनीका रुपमा यस्तो सेवा दिँदै आएका कम्पनीका पनि आफ्नै सीमितता देखिन्छन् ।
टेलिकम, दूरसञ्चारका क्षेत्रमा सवैभन्दा धेरै ग्राहक र नियमित नाफामा सञ्चालन भइरहेको कम्पनी हो । विश्वमा नै दूरसञ्चारका परम्परागत राजस्वका क्षेत्रहरुमा संकुचन आइरहेको अवस्थामा टेलिकमको अवस्था पनि त्यति सकारात्मक रुपमा अगाडि बढिरहेको छैन । यसले गर्दा टेलिकमले नयाँ क्षेत्रमा आम्दानीको स्रोत खोज्नैपर्ने बाध्यता थियो । टेलिकमलाई डिजिटल कारोबारमा अगाडी बढ्नु चुनौति पनि थियो । नयाँ कम्पनीसँगै टेलिकमको आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।