अलैंची उत्पादन र निकासी अवस्था «

अलैंची उत्पादन र निकासी अवस्था

मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने अलैंचीको माग तेस्रो देशमा बढ्दो छ ।

अलैंचीको खेती हुने पहाडी जिल्लाका ग्रामीण भेगहरूमा अलैंची खेती गर्ने किसानको संख्या बढदै गएको छ । सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैंची खेती गर्दै आएको व्यवसायीहरू बताउँछन् । एक जिल्लामा सरदर ८ सय क्विन्टलजति अलैंची उत्पादन हुने अनुमान छ । कुनै जिल्लाबाट त ३१ करोड ३७ लाख रुपैयाँबराबरको २ सय ५० मे.टन अलैंची बाहिर गएको भनिन्छ । अत्यधिक आम्दानी हुने अलैंची खेतीको विस्तार भइरहेको छ । पूर्वका पहाडी जिल्ला ते¥हथुम, ताप्लेजुङ, पाँचथर, सखुवासभासहित देशका ४० जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ । लमजुुङको अलैंची अरू जिल्लाभन्दा नेपालभरिमा सबैभन्दा राम्रो मानिएको देखिन्छ । अलैंची साउनदेखि मंसिरसम्म उत्पादन भइसक्छ । अलैंची उत्पादन हुने अरू जिल्लाहरूमा गोरखासहित अरू १८ वटा जिल्ला छन् ।
कृषिजन्य वस्तुमध्ये सबैभन्दा महँगोमा भारतीय बजारमा निर्यात हुने अलैंची नै हो । नेपालमा वार्षिक करिब ५ हजार मे.टन अलैंची उत्पादन हुने गरेको छ । यसको ९८ प्रतिशत भारतमा नै हुने गरेको छ ।
नेपालमा १४ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको छ । त्यसमा नेपालको कुल अलैंची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चलले ओगटेको छ । नेपालको पूर्वी पहाडमा उत्पादन भएका अलैंचीले कुनै वर्ष वार्षिक १० अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरेको देखिन्छ । नेपालमा विदेशी मुद्रा भिœयाउनेमा विप्रेषणपछि अलैंची कुनै वर्ष त दोस्रो स्थानमा परेको देखिन्छ ।
आ.व. ०६८/६९ र ०६७/६८ मा क्रमशः ७ हजार २ सय ६५ र ५ हजार २ सय १२ मे. टन अलैंची उत्पादन भएको थियो । मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने अलैंचीको माग तेस्रो देशमा बढ्दो छ ।

अलैंचीको मूल्य
२०७१ सालतिर प्रतिमन १ लाख रुपैयाँ माथि पुगेको अलैंचीको मूल्य त्यस वर्षपश्चात् २०७४ सम्म घट्दै गएको देखिन्छ । भारतीय बजारमा नेपालको निकासीमा समस्या बेलाबेलामा भएसँगै अलैंचीको मूल्यमा कमी हुँदै आएको देखिन्छ । तर, यसको खेतीमा विस्तार हुँदै गएको छ । ०७३/७४ मा प्रतिमन ४० हजार रुपैयाँमा अलैंची बिक्री गरेका किसानहरूले अलैंची खेती अझ विस्तार गर्दै आएका छन् ।
प्रतिकिलो जम्बो जेजेको ६ सय ८० देखि ७ सय रुपैयाँ, मिडियम साइजको ६ सय ५० देखि ६ सय ७० र चलनचल्तीको ६ सय रुपैयाँमा २०७४ मा बिक्री भएको थिए । तर, अघिल्लो वर्ष अर्थात ०७२/७३ मा प्रतिकिलो ठूला दानाको १ हजार १ सयदेखि १ हजार ४ सयसम्म, मझौलाको १ हजार १ सयदेखि १ हजार ३ सयसम्म र चलनचल्तीको १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म बिक्री भएको थियो । तर, ०७१/७२ मा प्रतिकिलो २ हजार ५० देखि २ हजार २ सयसम्म बिक्री भएको थियो । ०७३/७४ मा भने अलैंचीको मूल्यमा गिरावट आएको देखिन्छ ।
नेपालमा भन्दा भारतमा अलैंचीको उत्पादन बढी, चुरुम्फा अर्थात् नक्कली अलैंचीको प्रयोग, बाह्य बजारमा कम गुणस्तरको अलैंची जानु, पुल्ठो लगाउने अर्थात् पुच्छर पोल्ने कार्यले अलैंचीको मूल्यमा बर्सेनि कम हुँदै आएको छ । बाह्य बजारमा भारतको अलैंचीको मूल्य कायम हुने त्यसको चोटमा नेपालको अलैंचीले सहनुपरेको छ ।
०७४/७५ मा अलैंचीको मूल्य बढ्न सकेको छैन । ०७४/७५ मा अलैंचीको मूल्य प्रतिकेजी ७ सय ५० रुपैयाँमा बसेको थियो । २०६५ सालतिर प्रतिमन ३० हजार रुपैयाँका दरले अलैंची खरिद–बिक्री भएको थियो ।

निकासी स्थिति
अलैंचीको निकासीबाट वार्षिक ६ अर्ब नेपाल भित्रिने गरेको छ । नेपालबाट अलैंची निकासी ९९ प्रतिशत भारतीय बजारमा हुने गरेको छ । भारतले नेपालमा उत्पादन भएको अलैंची गुणस्तरहीन भन्दै दोष लगाएपछि नेपालमा उत्पादित अलैंचीले मूल्य गुमाएको बताइन्छ । नेपालमा उत्पादन हुने अलैंची भारतको सिलगुढी, जोगमनी भएर नयाँ दिल्लीसम्म पुग्दछ । नयाँ दिल्लीबाट पाकिस्तानमा समेत गरेर दैनिक १ सयदेखि डेढ सय मनसम्म बिक्री बिक्री हुन्छ । अरू बाँकी अलैंची खाडी बजारमा समेत पुग्छ ।
आ.व. ०६८/६९ मा अलैंची निर्यातबाट हालसम्मको बढी ३ अर्ब ४९ करोड रुपैयाँबराबरको बिदेशी मुद्रा आर्जन भएको भनिए पनि पछाडी कुनै वर्ष त्योभन्दा निकासी बढी भएको छ । नेपालबाट आ.व. ०६८/६९ देखि ०७२/७३ सम्म क्रमशः रु. ३.४ अर्ब, ३.८ अर्ब, ४.२ अर्ब, ३.८ अर्ब र ४.६ अर्बका अलैंची निकासी भएको तथ्यांकले देखिन्छ ।

ग्रेडिङ र टे«डमार्क दर्ता आवश्यक
अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्य घट्दो क्रममा देखिएपछि नेपालका किसान अलैंचीको ग्रेडिङ अर्थात् गुणस्तर निर्धारण गर्न लागेका देखिन्छन् । बाह्य बजारले गुणस्तरीय अलैंची माग गरेको र बिक्रीपछि छिटै हुने भएकाले किसानले यसको गुणस्तर कायम गर्न लागेका देखिन्छन् । अलैंचीको गुणस्तर कायम गरेर मात्र बिक्री गर्न व्यवसायी संघले भन्दै आएका छन् । गुणस्तरीय अलैंची कायम भएकामा जम्बो जेठ अर्थात जेज, मिडियम समूहमा मझौला दाना चलनचल्तीमा पुच्छर भएको, फुटेको र सानो प्रकारका अलैंचीको दाना पर्छन् ।
जे भए पनि अन्तर्राष्ट्रिय बजारमा गुणस्तरमा उत्कृष्ट छवि बनाएको नेपाली अलैंची अन्तर्राष्ट्रिय ट्रेडमार्क प्राप्त गर्ने प्रक्रियामा लागेस्वरूप ०७२/७३ मा नेपाली अलैंची भारत, चीनको भन्दा ठूलो र गुणस्तरीय भएकाले नेपाली अलैंचीको ब्रान्डिङ हुने भनिएको थियो । त्यस्तै गरी अलैंचीलाई युएई, पाकिस्तान र बंगलादेश पठाउनका लागि टे«ड मार्क दर्ता गरिएको थियो । एसियामै बढी उत्पादन गर्ने देशका रूपमा परिचित नेपालको अलैंची विश्व बजारमा १ नम्बरमा रहेको भनिन्छ ।

समस्या, सुझाव र निष्कर्ष
जिल्ला जिल्लाका किसानले लगाएका अलैंचीको बिरुवा गवारो कीराले नष्ट गर्ने गरेको छ । अलैंचीको व्यावसायिक उत्पादनसँगै जिल्ला–जिल्लाका किसानले यसको मूल्य निर्धारण गर्दै आएका छन् । बीउ रोपेर उमारिएको प्रतिबिरुवालाई केही वर्ष अगाडि १२ रुपैयाँ तोकिएको थियो । रोगका प्रयोग भएको अलैंची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेपछि क्रमिक रूपमा उत्पादनमा सुधार हुँदै गएको देखिन्छ । २२ जिल्लामा अलैंची रोग व्यवस्थापन क्रार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
नेपाल–भारत खुला सिमानाका कारण गुणस्तरीय नेपाली अलैंचीमा कम गुणस्तरको नेपाली अलैंचीमा मिसावट हुन थालेको देखिन्छ । भारतीय बजार हुँदै नेपाल आएका कम गुणस्तरका अलैंची मिसावटका कारण नेपाली अलैंची बजार समस्यामा पर्दै आएको छ अर्थात् विश्व बजारमा पहीचान भएको नेपाली अलैंचीको गुणस्तरमा बाह्य ग्राहको आँखामा शंका देखिएको छ । भारत र नेपालबीचको खुला सिमानाका कारण भारत, लाओस, चीन, भियतनामजस्ता देशबाट नेपाल–भारत खुला सीमा–नाका हुँदै कम गुणस्तरका अलैंची ल्याएर नेपालमा उत्पादित अलैंचीमा मिसाएर बेच्ने गरिएको देखिन्छ । रु. ५ सय प्रतिकिलोमा पाइने गुणस्तरहीन अलैंची मिसाएर बेच्ने गरेकाले नेपाली अलैंचीको बदनाम भएको देखिन्छ, तर नेपाली अलैंची गुणस्तरका कारण प्रतिकिलो २ हजारसम्म बिक्री हुँदै आएको छ । अलैंचीको दानामा अलैंचीका दानाजस्तै देखिने जंगली बिरुवाका दाना चुरुम्फो मिसावट गरिँदै आएकाले व्यापारीले दाना अलैंची किन्न छाडेका देखिन्छन् ।
भारतले ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि केही समय अलैंची कारोबार ठप्प थियो । जिल्ला–जिल्लामा किसानलाई समूह खडा गरी निःशुल्क रूपमा अलैंची भट्टी प्रदान गरिँदै आएको छ । सरकारी पहलमा किसानलाई अलैंचीका बिरुवा वितरण गरिँदै आएको छ ।
अलैंची खेतीमा लागेका किसानले अलैंची खेतीको दीर्घकालीन र व्यावसायिक विकासका लागि सरकारसँग सरकारी स्तरबाटै अलैंची विकास बोर्ड गठनको माग राख्दै आएका छन् । त्यस्तै अलैंची खेतीलाई आधुनिक र व्यवस्थित गर्न तथा अन्तर्राष्टिय बजारको आधिकारिक सुनिश्चितताका लागि राष्ट्रिय अलैंची नीति, २०७४ मा नै भनिएको थियो । किसानलाई ५० प्रतिशत ढुवानी अनुदानसहित बिरुवा उपलब्ध गराइँदै आएको छ ।
अलैंची उत्पादनमा देश आत्मनिर्भर भई विदेशमा निर्यातको सम्भावना रहे पनि यसको उत्पादन प्रक्रिया, गुणस्तर निर्धारण तथा प्रशोधन र निकासीमा भोग्दै आएका समस्या प्रस्तावित अलैंची नीतिमा सम्बोधन गरिने भनिएको छ ।
नेपालले निर्यात गर्ने तर आयात नगर्ने एक मात्र वस्तुको पहिचान बनाएको अलैंचीलाई विदेशमा बजार सुनिश्चित गरी निर्यातयोग्य वस्तु बनाउनका लागि प्रस्तावित अलैंची नीति ल्याउन लागिएको भनिएको छ । अलैंची नीतिले प्रशोधन प्रक्रियालाई आधुनिकीकरण गरी उच्च गुणस्तरको अलैंची उत्पादन गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्