कृत्रिम ताल निर्माण गर्न डीपीआर तयार «

कृत्रिम ताल निर्माण गर्न डीपीआर तयार

दमौली-गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तनहुँको घिरिङमा निर्माण हुने कृत्रिम तालको परियोजनास्थलको अवलोकन गरेका छन् ।
गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि वडा नं ३ मा गोफाखोला थुनेर बनाउन लागेको कृत्रिम तालको मन्त्री लम्सालले अवलोकन गरेका हुन् । मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनमा उत्कृष्ट प्रदेश रहेको भन्दै स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि चाल्ने हरेक गतिविधिमा प्रदेश सरकारको सहयोग रहने बताए । उनले भने, “पर्यटनबाटै प्रदेशलाई समृद्धि बनाउने सरकारको योजना छ, हरेक स्थानीय तहले यो लक्ष्यलाई पूरा गराउन सहयोग गर्नुपर्छ ।” उनले घिरिङ गाउँपालिकामा बनाउन लागेको कृत्रिम ताल उपयुक्त रहेको भन्दै ताल निर्माणमा प्रदेश सरकारको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता जनाए ।
घिरिङलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । घिरिङ पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेकोले ताल बनाएर ती स्थानहरूको प्रवद्र्धन गर्ने योजनामा जुटेको उनले बताए । उनका अनुसार कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समेत तयार भइसकेको छ ।
गाउँपालिकाले ताल निर्माणका लागि चालू आवमा ३० लाख बजेटसमेत विनियोजन गरिसकेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकोले प्रदेश र संघीय सरकारसँग आर्थिक सहयोग गर्न अनुरोध गरिएको रानाले बताए । तीन करोड लागत अनुमान गरिएको ताल निर्माण सुरु भएको तीन वर्षभित्र सक्ने लक्ष्य छ ।
५० रोपनी क्षेत्रफलमा फैलिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको तालको बीचमा मन्दिर बनाउने योजना छ । उनले भने, “डुंगा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवातालजस्तै गरि विकास गरिनेछ ।” ताल वरपरको क्षेत्रमा रेस्टुराँ, पिकनिकस्थल सञ्चालन गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्