कतै औषधि तस्करी, कतै इजाजतनवीकरण नगरी आयात «

कतै औषधि तस्करी, कतै इजाजतनवीकरण नगरी आयात

वीरगन्ज-भदौ २६ गते शनिबार सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले करिब २६ लाख रुपैयाँ बराबरको औषधि लगायतका किराना सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठायो । मुख्य भन्सार नाका एकीकृत भन्सार जाँचचौकीकै बाटो वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं सडकखण्डमा विल विजक भन्दा फरक सामान भन्सार छली गरी लोड गरेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
ना २ ख ९३५७ नम्बरको मालवाहक ट्रकमा भन्सार छलिका सामान लोड रहेको सूचनाको आधारमा गएको सशस्त्र प्रहरी गस्ती टोलीले ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा बिलविजक भन्दा फरक र भन्सार छलि गरेको २५ लाख९५ हजार ३ सय ७६ रुपैंयाको औषधि तथाकिराना सामान बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
बरामद गरेको सामान करिब २६ लाख मूल्यको र ट्रकको अन्दाजी मूल्य २५ लाख रुपैंया निर्धारण गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए । भन्सार राजस्व छलेर तस्करी गरेको औषधि र किराना सामान सहितको ट्रक सशस्त्र प्र्रहरीले बरामद गरेकै दिन नेपाल प्रहरीले व्यापारिक फर्म नवीकरण विना नै आयात गरेको एक ट्रक औषधि बरामद गरेको छ ।
नेपालको प्रतिष्ठित औद्योगिक समूह भाजुरत्न फर्माको नाममा वीरगन्ज भन्सारबाट पास भएको ७८६ कार्टुन पोलिबियोन औषधि लोड भएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । औषधीसँगै प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक वीरगन्ज २ छपकैया घर भएका सरोज मियाँ रहेका छन् । भारतबाट औषधि लिएर आउँदै गरेको ना.३ ख १३३५ नम्बरको ट्रक, वीरगन्ज १६ नगवामा रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई शंका लागेपछि औषधि लोड भएको ट्रक नियन्त्रणमा लिएको हो । बरामद गरिएको औषधीको बजार मूल्य १३ लाख ४८ हजार ७ सय ७६ रुपैयाँ रहेको छ ।
औषधि लोड सहित बरामद गरिएको ट्रक आवश्यक कारवाहीका लागि औषधि व्यावस्था विभागको कार्यालय वीरगन्जमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । औषधि व्यवस्था विभागको कार्यालयले भने औषधि आयात गर्ने फर्मको नवीकरण नगरिएको पाइएको बताएको छ । कार्यालयका अधिकृत भाग्यनारायण सिंहले औषधि आयात गर्ने कम्पनीको फर्म नवीकरण नै नगरिएको पाइएकोले औषधि सहितको ट्रक नियन्त्रणमा लिइएको बताए ।
औषधि बिक्री वितरण गर्न सरकारले दिएको अनुमति पत्रको नवीकरण नै नगरेको पाईएकोले औषधि नियन्त्रणमा लिएको उनले बताए । अनुमति पत्र नवीकरण गरेर ल्याएपछि मात्रै औषधि छोडिदिने सिंहको भनाइ छ। अनुमति पत्र नै नवीकरण नगरिएको फर्मले आयात गरेको सामान भन्सारमा कसरी भयो ? भन्ने प्रश्न वीरगन्ज भन्सार कार्यालयतर्फ तेर्सिएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भने आयातकर्ताको आयात निर्यात संकेत नम्बर (एक्जिम कोड) को आधारमा पास गरिने बताए ।
उनले भने, ‘भन्सारमा औषधि विभागले गरेको सिफारिस पत्र र एक्जिम कोड भएपछि पास गरिदिन्छौं ।’ एकपटक एक्जिम कोडमा पास भएको वस्तु फेरी त्यहि कोडमा नै पास हुने भएकोले भन्सारमा कम्पनीको नवीकरणको खासै आवश्यकता नभएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्