४० वर्षमा ६ किमि सडक, मुख्यमन्त्रीद्वारा उद्घाटन «

४० वर्षमा ६ किमि सडक, मुख्यमन्त्रीद्वारा उद्घाटन

हेटौंडा-निर्माण सुरु भएको चार दशकपछि मकवानपुरको मनहरिदेखि राक्सिराङ गाउँपालिकाको चैनपुर जोड्ने ६ किमि सडकको ट्रयाक तयार भएको छ । बिहीबार एक कार्यक्रमकाबीच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सडकको उद्घाटन गरेका हुन् ।
पूर्वपश्चिम राजमार्गस्थित मनहरिबाट चैनपुर जोड्ने सडक २०३३ सालदेखि बनाउन सुरु गरिएको थियो । पछिल्लो पटक गाउँपालिकाले गौरवको आयोजनामा राखेर १ करोड ३ लाख रुपैयाँ खर्च गरेको थियो । गाउँपालिका केन्द्र राष्ट्रिय राजमार्गमा जोडिएपछि खुसी भएका स्थानीयले मुख्यमन्त्री पौडेल र जनप्रतिनिधिलाई फूलमाला र पन्चेबाजाले स्वागत गरेका थिए । मनहरि–चैनपुरको सडक निर्माण सकिएकाले अब गाउँपालिकाको केन्द्रसँग विभिन्न गाउँ र वडा जोडिने सडक सञ्जाल विस्तार गरिने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । पाँच वर्षदेखि उक्त सडकमा पर्ने आँपखोल्सीको पहिरोले सडकको ट्रयाक नै बगाएकाले कुनै निकायले पनि लगानी गरेको थिएन । गाउँपालिकाले गत वर्षदेखि सडक निर्माणका लागि बजेट विनियोजित गरेपछि कामले तीव्रता पाएको थियो ।
पुल बनाउने कार्य भने सुरु भएको छैन । आँपखोल्सीमा पुल नबन्दासम्म हिउँद याममा मात्र मनहरि–चैनपुर सडकमा सवारी साधन आउजाउ गर्न सक्छन् । वर्षायाम लागेपछि पुलको अभावले सवारीसाधन आउजाउ गर्न सक्दैनन् । ट्रयाक खुलेसँगै अब राक्सिराङ गाउँपालिकाका साविकको काँकडा, सरिखेत, राक्सिराङ, खैराङ र कैलाश गाउँपालिकाको भार्ता, कालिकाटार, गोगने, नामटार र डाँडाखर्कका बासिन्दालाई मनहरि बजारमा आवतजावत गर्न सुविधा पुग्नेछ ।
बिहीबार उक्त सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नयाँ ट्रयाकबाट गाडीमार्फत चैनपुुर पुगेर राक्सिराङ गाउँपालिकाको चौथो गाउँसभा उद्घाटन गरेका थिए । काम सुरु गरेको तीन महिनामै मोटर चल्ने ट्रयाक खोलेपछि गाउँपालिको चौथो सभामा पुजन कन्स्ट्रक्सनलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । गाउँसभामा कन्स्ट्रक्सनका प्रमुख पुरुषोत्तम लामिछानेलाई दोसल्ला प्रसंसापत्र, ५० हजार रुपैयाँको चेकसहित प्रदान गरिएको थियो ।
विपन्न चेपाङ र तामाङले मोटर चल्छ भन्ने आश मारिसकेको अवस्थामा गाउँपालिकाको सक्रियतामा बाटो बनाएकोमा गाउँपालिका अध्यक्ष मल्लले खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । गाउँमा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको भन्दै उनले खुसी व्यक्त गरे । कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचिन इन्द्र बानियाँले उक्त सडक कालोपत्रे गर्न आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उक्त ट्रयाक नहुँदा हिउँदको समयमा कैलाश र राक्सिराङ गाउँपालिकाका स्थानीय खोलाका घुमाउरो बाटोबाट कष्टपूर्ण यात्रा गर्न बाध्य थिए ।

प्रतिक्रिया दिनुहोस्