नेपाली कांग्रेस दोलखाको ६ वटा स्थानीय तहको अधिवेशन सकियो «

नेपाली कांग्रेस दोलखाको ६ वटा स्थानीय तहको अधिवेशन सकियो

दोलखा – नेपाली कांग्रेस दोलखाको नगर तथा गाउँपालिका अधिवेशन सकिएको छ । देशभरका केही जिल्लाको विवादका कारण केन्द्रले पालिका अधिवेशन सहितको महाधिवेशनको मिति संशोधन गरे तापनि दोलखामा भने पूर्वनिर्धारित समयमै पालिकाको अधिवेशन भएको हो ।
जिल्लाको अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिहरु काठमाडौं र गाउँ–गाउँदेखि जम्मा भइसकेपछि २ दिनअघि मात्र केन्द्रले एक्कासि अधिवेशनको मिति संशोधन भए पनि दोलखामा कुनै विवाद पनि नभएको भन्दै जिल्ला कार्यसमिति र निर्वाचन समितिको बैठकले पालिका अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सचिव सन्तोष रिमालले जानकारी दिए ।
दोलखामा ९ वटा स्थानीय तह छन् । अधिकाँशमा सहमतिका आधारमा पालिकाको नयाँ नेतृत्व चयन भएको छ । केहीमा एउटै पदमा धेरै आकाक्षी भएपछि सहमति हुन सकेको छैन । जिल्ला निर्वाचन अधिकृत गोविन्द्रनारायण मानन्धरले ६ वटा स्थानीय तहको अधिवेशन सकिएको जानकारी दिए ।
उनका अनुसार भीमेश्वर नगरपालिकामा शंकर कार्की, बिगू गाउँपालिकामा हेमराज तमाङ, गौरीशंकर गापामा श्यामसुन्दर तमाङ, बैतेश्वर गापामा शमशेर घिसिङ र शैलुङ गापामा कृष्णध्व तमाङ सर्वसम्मत सभापति निर्वाचित भएका छन् । तामाकोसी गाउँपालिकामा भने २ जना आकांक्षीका कारण मतदान प्रक्रियाबाट कृष्ण फुयाल सभापति निर्वाचित भएका छन् ।
जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका र मेलुङ गाउँपालिकामा भने सभापतिको आकांक्षी धेरै भएका कारण केन्द्रले तोकेको असोज ९ गतेसम्म नयाँ नेतृत्व चयन गर्ने गरी रोकिएको छ । सबै तयारी पूरा भएकाले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै पालिका अधिवेशन भए तापनि सफत ग्रहण र प्रमाण पत्र वितरण भने संशोधित मितिमै हुने भएको छ ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी २० जिल्लामा विवाद समाधान भएपछि प्रदेश तथा केन्द्रको महाधिवेशनको मिति यथावत राखेर पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार संशोधित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाहरुमा आगामी असोज ५ गते वडा अधिवेशन हुनेछ ।
गाउँ र नगरपालिकाको अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुनेछ । पालिका अधिवेशनले प्रदेश तथा केन्द्रको महाधिवेशनमा कुनै असर नगर्ने हुनाले क्षेत्रीय र जिल्ला अधिवेशन नयाँ संशोधित मितिमै गर्ने गरी दोलखामा पालिका अधिवेशन आइतबार भएको हो ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवका अनुसार प्रदेश अधिवेशन आगामी कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्