चाडबाडको बेलामा किन बढ्छ महँगी ? «

चाडबाडको बेलामा किन बढ्छ महँगी ?

कोभिड–१९ को संक्रमणमा केही कमी देखिएसँगै सरकारले पूर्ण रूपमा निषेधाज्ञा खुला गरेको छ । त्यससँगै व्यापार–व्यवसायहरू पनि पुनः सुचारु हुँदै गएका छन् भने आर्थिक गतिविधिहरू सामान्य बन्दै गइरहेका छन् । होटल, पर्यटनजस्ता केही व्यवसायहरूको अवस्था केही समय अझै शिथिल हुने देखिए पनि अधिकांश व्यवसाय विस्तारै सहज रूपमा सञ्चालनको गतितिर जाँदै छन् । यस्तो अवस्थामा नेपालीहरूको महान् पर्व बडादसैं नजिकिँदै छ । दसैं आफैंमा पनि खर्चालु पर्व हो । एकतर्फ चाडपर्वले देशको व्यापार–व्यवसायमा टेवा पु-याउँछ भने अर्कातर्फ यस्ता चाडपर्व सर्वसाधारण जनताका लागि ठूलो चुनौतीको रूपमा देखा पर्छन् । कोरोना महामारीले देशमा बेरोजगारी बढेको छ भने बेरोजगारीले गरिबीको रेखामुनिको जनसंख्या पनि बढाएको छ । यस्तो अवस्थामा दसैंजस्ता चाडपर्वले उनीहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ । त्यस्तै विभिन्न पेसा–व्यवसायमा कुनै न कुनै रूपमा आबद्ध मानिसहरूलाई पनि दसैंंले केही आर्थिक भार थप्ने देखिएको छ । अर्कातर्फ दसैं नजिकिएसँगै मूल्यवृद्धि बढ्ने भएकाले पनि सर्वसाधारणलाई दसैं मनाउन निकै गाह्रो हुने गरेको छ । यस वर्ष पनि अत्यावश्यकीय सामग्री जस्तै खाने तेलदेखि चिनीसम्मका मूल्य बढिरहेका छन् । दसैंसम्ममा अन्य सामग्रीहरूको पनि मूल्यवृद्धि हुने देखिएको छ । दसैंंमा हुने आर्थिक गतिविधि र त्यसले मानिसको जनजीवनमा पार्ने प्रभावका विषयमा कारोबारकर्मी सुमित सुवेदीले गरेको कुराकानीको सार :

दसैंं खर्च कसरी धान्ने चिन्ता छ
मदन केसी
कर्मचारी

दसैं नजिकिँदै छ, त्योभन्दा पनि दसैंंको खर्च कसरी धान्ने भन्ने विषयमा चिन्ता पनि लागिरहेको छ । हामी निजी व्यवसायमा कर्मचारीको रूपमा काम गर्ने व्यक्तिहरूलाई चाडपर्व आउँदा निकै समस्या हुने गर्छ । एक त सीमित तलब, त्यसमा पनि घर खच्च धान्दा नै ठिक्क । अहिले बढेको महँगीमा चाहेको सामान्न किन्न पनि हम्मेहम्मे पर्छ । दसैंमा सामान किन्नकै लागि भनेर महिनौं अगाडिदेखि पैसा जम्मा पारेर राख्नुपर्छ । त्यसमा पनि महँगो सामान छुन सकिँदैन ।
अर्को आजकालका चाडपर्वहरू निकै भड्किला र खर्चिला हुने गरेका छन् । त्यसैले पनि महँगी बढेको हो । अब खर्च नगरौं भने पनि वर्षमा एक दिन आउने पर्व, खर्च गरौं भने दुई–चार महिनादेखि जम्मा पारेको बचत सबै सकिन्छ । त्यसमाथि महामारीको समय छ । दुई वर्षदेखि बन्द रहेर भर्खर गति लिइरहेका व्यवसायीहरूले यही हो मौका भन्ने गर्छन् ।
त्यसैले पनि यो पालिको दसैं निकै चुनौतीपूर्ण हुने देखिएको छ । महामारीको समयमा हामीहरू पनि कामविहीन बनेका थियौं । त्यस समयमा हाम्रो पनि आम्दानी भएन, तर अब त्यो कसले बुझ्ने ? उल्टै मौका हो भन्छन्, सामानको मूल्य दोब्बर तोक्छन्, यसले निकै अप्ठ्यारो हुन्छ । सुनिन्छ, सरकारले बजेटमार्फत पाँच लाख घरपरिवारलाई १० हजार रुपैयाँका दरले पैसा वितरण गर्न लागेको छ । एक त अहिलेको समयमा १० हजार रुपैयाँले के गर्ने ? त्यसमा पनि सरकारले त्यो पैसा कुन मापदण्डका आधारमा बाँड्छ ? वास्तवका गरिबहरूले त्यो रकम पाउन पनि निकै गाह्रो छ । त्योभन्दा बरु सरकारले महँगी नियन्त्रण गर्नतर्फ ध्यान दिएको भए राम्रो हुन्थ्यो । त्यसका लागि कुनै तयारी भएको सुनिँदैन ।
सरकारले यस्ता चाडपर्वहरूमा निरीक्षण बढाउने, दसैंकै लागि भनेर आवश्यक सरसामान स्टक राख्ने जस्ता काम ग-यो भने बरु महँगी केही मात्रामा नियन्त्रण हुन्छ कि जस्तो लाग्छ । दसैंमा त यतिसम्म कि घरसम्म जाने सवारी साधनले समेत दोब्बर भाडा असुल्छन् ।

महँगी नियन्त्रणमा जोड दिनुप-यो
विनिता रञ्जित
प्रधानाध्यापक, पञ्चकन्या आधारभूत विद्यालय

एक त हामी कोरोना महामारीबाट भर्खर बाहिर निस्किएको अवस्था छ । त्यसमा पनि बजारमा देखिएको महँगीले दसैंंलाई झनै चुनौतीपूर्ण बनाएको छ ।
कोरोनाका कारणले अर्थतन्त्र धराशायी भएको छ । त्यसमा पनि हामी शिक्षकहरूको आम्दानीको स्रोत भनेको तलब नै हो । सीमित स्रोतले असीमित खर्च धान्नुपर्ने अवस्था छ । बजारमा सबै चिज महँगो छ । सरकारले शिक्षकको तलब जम्मा दुई हजार रुपैयाँ बढाएको छ । बजारभाउको तुलनामा तलब १० प्रतिशतले मात्र बढेजस्तो लाग्छ । अब ९० प्रतिशत कभर गर्न त निकै नै चुनौतीपूर्ण हुन्छ नि ।
बजारमा मनपरितन्त्र चलेको छ । अनुगमन गर्ने सरकारी निकाय मौन छन् । एउटै सामानको मूल्य १० वटा पसलमा दस थरी छ । मानिसहरू पेट्रोलियम पदार्थको भाउ बढ्यो भनेर आन्दोलन गर्छन्, तर खाने तेलको भाउ बढेर आकाश छोएको छ । जेजति बढे पनि खान परिहाल्छ, लगाउन परिहाल्छ, किन्न बाध्य छौं । अनुगमन भएन भने यसपालिको दसैं झनै कठिन हुन्छ जस्तो लाग्छ ।
यो त हाम्रो अवस्था भयो । तर, नेपालमा कतिपय समुदाय त अन्य समयमा पनि खान–लगाउन सक्दैनन्, यो त झनै दसैं हो । उनीहरूका पनि बालबच्चा हुन्छन्, उनीहरूका बच्चालाई पनि दसैंमा मीठो खाऊँ राम्रो लगाऊँ भन्ने हुन्छ । दसैंं आएपछि बच्चाबच्चीहरूलाई लत्ताकपडा किन्नु नै प-यो । मासु खानु नै प-यो । औसत नेपालीको चार–पाँच जनाको परिवार हुन्छ । त्यसमा छ–सात दिनसम्म मासु खाने, आउने पाउनाहरूलाई दसैंमा टीका लगाएर दक्षिण दिने गर्नु नै प-यो । कम्तीमा पनि औसत रूपमा नेपालीले ३० हजारको हाराहारीमा खर्च गर्छ जस्तो लाग्छ । त्यसमा जोसँग पैसा छ उसले त गर्ला, तर नहुनेले के गर्ने ? हामीले पढ्दै, सुन्दै आएका पनि छौं । कोरोना महामारीमा कतिले रोजगारी गुमाए । देशको ठूलो जनसंख्या पुनः गरिबीको रेखामुनि गए । अब यस्तो अवस्थामा त्यो वर्ग समुदायलाई दसैं त दशाको रूपमा देखा पर्दै छ ।
हामीले हाम्रो विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई देखेका छौँ । बिहान खाएपछि बेलुका के खाने भन्ने अवस्था भएका विद्यार्थीहरू पनि पढ्न आउँछन् । त्यस्तो बच्चाको घरमा एक छाक मासु पाक्नु पनि निकै ठूलो कुरा हो । हुन त सरकारले दसैंंका लागि पाँच लाख परिवारलाई पैसा बाँड्ने भनेको छ । अब बिहान खाएर बेलुका के खान्ने भन्ने परिवारको हातमा त्यो पैसा प-यो भने त दसैं मनाउलान् । पाएछन् भने सरकारको त्यो निर्णयलाई पनि स्वागत गर्नुपर्छ । अन्यथा आफ्ना आसेपासेलाई नै खुवाउने हो भने त्यो पैसा नबाँडेको नै राम्रो हुन्छ । बरु त्यो रकमले काममा आधारित राहत दियो भने त्यो दिगो पनि हुन्छ । मानिसहरूले राहत पनि पाउँछन् । अर्कातर्फ सरकारले समयमा नै महँगी नियन्त्रण गर्नतर्फ जोड दिनुपर्छ । अन्यथा अहिलेको दसैंं हामी शिक्षकहरूलाई मात्र नभए अधिकांशलाई चुनौतीपूर्ण हुनेछ ।

यसपालिको दसैंं कठिन हुने भयो
रोशन भुजेल
विद्यार्थी

यसपालिको दसैंं अघिल्ला दसैंभन्दा निकै कठिन हुने देखिएको छ । एक त कोभिड–१९ ले देशको अर्थतन्त्र खस्किएको अवस्था, त्यसमा पनि मुखैमा आइरहेको दसैंं । हामी हिन्दूहरूका लागि दसैंं महान् पर्व हो । हाम्रो संस्कृतिअनुसार पनि दसैं बडो धूमधामका साथ मनाउने चलन छ । घरमा खसी बोका काट्ने, नयाँ–नयाँ लत्ता–कपडा लगाउनेदेखि खानपानसम्मका कुराहरू हुन्छन् । तर, अहिले यस्तो अवस्था छ कि दसैं नमनाऊँ भने कोरोना घटेर सरकारले सबैतिर खुला गरिसकेको अवस्था छ, मनाऊँ भने चरम आर्थिक संकट देखिएको छ । त्यसमाथि अहिले जताततै मूल्यवृद्धिले गर्दा सामानहरू छोइ नसक्ने अवस्थामा पुगेका छन् । त्यसमाथि बजारमा महत्वपूर्ण सामान अहिलेबाट नै सर्टेज हुने अवस्थामा पुगेका छन् । त्यसैमा टेकेर व्यापारीहरूले कालोबजारी गर्छन् । त्यसपछि बजारमा सामानहरू छोइ नसक्ने हुन्छन् । यस्तो अवस्थामा कसरी दसैंं मनाउने ?
सरकारले दसैंतिहारजस्ता चाडपर्वको समयमा छुट्टै मापदण्ड बनाएर, कुन–कुन सामान कति मात्रामा चाहिन्छ, पहिले नै स्टक राख्नुपर्ने हो । त्यसपछि सरकारले नै बजारलाई हस्तक्षेप नगरेसम्म यो समस्या जस्ताको तस्तै हुन्छ । त्यस्तै दसैंमा सबैभन्दा बढी बिक्री हुने खसीबोकाको पनि सर्टेज हुने गर्छ । त्यसमा पनि सरकारले आयातमा विशेष ध्यान पु-याउनुपर्ने देखिन्छ ।
अर्कातर्फ कोरोना महामारीका कारण ठप्प भएको अर्थतन्त्र चलायमान हुने अवस्थामा छ । यस्तो अवस्थामा दसैंतिहारजस्ता चाडपर्वमा हुने व्यापारले अर्थतन्त्रलाई बुस्ट गर्ने काम गर्छन् । अर्थात्, अर्थतन्त्रलाई थप गति प्रदान गर्न दसैंजस्तो महान् पर्वले ठूलो भूमिका खेल्छ । त्यसैलाई मध्यनजर राखेर सरकारले पनि अर्थतन्त्रलाई थप राहत पुग्ने खालका कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । तर, त्यसरी राहत र पुनरुत्थानका कुरा गर्दै गर्दा चाडपर्वमा हुने महँगीलाई भने सरकारले ध्यानमा राख्नुपर्छ ।
त्यस्तै दसैंमा सवारी साधनहरूको पनि चर्को किनबेच हुने गर्छ । त्यसले देशको अर्थतन्त्रमा फाइदा त पु-याउला, तर अर्थतन्त्रलाई बुस्ट गर्ने काम गर्छ । अर्थात्, अर्थतन्त्रलाई थप गति प्रदान गर्न दसैंजस्तो महान् पर्वले ठूलो भूमिका खेल्छ । त्यसैलाई मध्यनजर राखेर सरकारले पनि अर्थतन्त्रलाई थप राहत पुग्ने खालका कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । तर, त्यसरी राहत र पुनरुत्थानका कुरा गर्दै गर्दा चाडपर्वमा हुने महँगीलाई भने सरकारले ध्यानमा राख्नुपर्छ ।
त्यस्तै दसैंमा सवारी साधनहरूको पनि चर्को किनबेच हुने गर्छ । त्यसले देशको अर्थतन्त्रमा फाइदा त पु-याउला, तर अर्कातर्फ आयातमा पनि वृद्धि गर्छ । त्यसैले त्यसतर्फ पनि सरकारले ध्यान पु-याउनु आवश्यक छ । दसैंतिहारको समयमा लाखौँ-करोडौं रुपैयाँ जुवातासमा पनि खर्च हुने गरेको छ, यसलाई नियन्त्रण गर्न पनि सरकारले हरदम प्रयास गर्नुपर्छ ।
समग्रमा भन्नुपर्दा कोरोना महामारी र त्यसले पारेको असरका बीचमा आएको चाडपर्व नेपालीहरूका लागि निकै नै चुनौतीपूर्ण हुने भएकाले संयमतापूर्ण तरिकाले मनाउनुपर्ने देखिन्छ ।

सौन्दर्य व्यवसायी बढी समस्यामा छौं
कमला श्रेष्ठ
अध्यक्ष, सौन्दर्यकला व्यवसायी संघ नेपाल

कोरोना फैलिएदेखि नै हामी सौन्दर्यकला व्यवसायीहरूमा त्यसको निकै नै असर प-यो । सरकारले हाम्रो व्यवसायलाई सबैभन्दा पहिला बन्द गरायो भने खोल्न पनि सबैभन्दा अन्तिममा मात्र हामीलाई खोल्यो । त्यसैले हामी त्यसको मारमा नराम्रोसँग प¥यौं । यति लामो समयसम्म बन्द हुँदा न त हामीले कर तिर्न सकेको अवस्था छ, न लिएको ऋणको ब्याज नै तिर्न सकेका छौं । घरभाडा, कर्मचारीलाई दिने तलब पनि तिर्न हम्मेहम्मे परेको अवस्था छ । त्यस्तोमा सरकारबाट पाउने राहत सुविधाहरू पनि केही भएन । कतिपयले त व्यवसाय नै बेच्न बाध्य भएका उदाहरणहरू पनि छन् ।
सरकारले व्यापार–व्यवसायमा केही छुट दिएको थियो, त्यो पनि पहुँच पुग्नेहरूले मात्र लिए । नहुनेलाई त्यो पनि भएन । हाम्रो व्यवसाय सिजनमा चल्ने व्यवसाय हो । दसैंं, तिहार, तीज, विवाह तथा व्रतबन्धजस्ता चाडपर्व र अवसरहरू कोरोनाका कारण दुईवर्ष देखी बन्द हुन पुगे । त्यसले हाम्रो व्यवसायलाई झनै धराशाय बनायो । पार्टी, भोजभतेर सबै बन्द भएपछि मानिसहरू आउन नै छाडे । अब दसैं आउँदै छ । त्यसमा पनि मानिसहरूले घरघरमै बसेर टीका लगाउने भए भने त्यो सिजनमा पनि हाम्रो व्यवसायलाई असर गर्छ ।
यदि अहिले नै कोरोना रोकथाम भयो भने पनि हामीलाई सामान्य अवस्थामा आउन कम्तीमा पाँच-छ वर्ष लाग्छ । हैन र ? कोरोनाका दोस्रो, तेस्रो लहर आयो भने निकै चुनौतीको अवस्था सिर्जना हुनेछ । अहिले हामी लडिसकेको अवस्थामा छौं । पछिल्लो समय उभिन मात्र के थालेका थियौँ, पुनः दोस्रो लकडाउन भयो । अब पुनः उठ्न खोज्दै छौँ अर्थात् कोसिस गरिरहेका छौँ । तर, पहिलेको अवस्था ल्याउन पाँच–छ वर्ष लाग्छ ।
दसैंमा थोरै रिकभर भए पनि व्यवसाय नै उठ्ने देखिँदैन । सरकारले निषेधाज्ञा खोल्दैमा सबै कुरा सामान्य हुन्छ भन्ने होइन । एउटा परिवारमा पाँच–छ जना सदस्य हुन्छन्, एउटाले सतर्क गराए सबै डराउनुपर्ने अवस्था छ । पहिला सबैको घरघर गइन्थ्यो, टीका थापिन्थ्यो । तर, अहिले त्यसरी नहिँड्ने भएपछि त मेकअपको पनि आवश्यकता परेन । त्यसैले त्यति धेरै रिकभर हुने देखिँदैन । यति हो, बन्द नभइदियोस् । पाँचजना आउने ठाउँमा दुई जना आइदिए भने पनि केही राहत भने हुन्छ ।
त्यसमाथि हामी सामानहरू आयात गर्न तेस्रो राष्ट्रसँग निर्भर छौँ । बाहिरको मुख ताक्नुपर्ने कारणले गर्दा दोब्बर-तेब्बर भाउ तिरेर हामीले आफ्नो सामान ल्याउनुपर्ने अवस्था छ । उनीहरूले पनि कोरोनाकै कारण देखाउँदै जनशक्ति र कच्चापदार्थ कम भएकाले उत्पादनमा ह्रास आइ भाउ बढेको बताउँछन् । अब हामीलाई कस्तो अप्ठ्यारो प-यो भने हामीले आफ्नो भाउ बढायौं भने अलि–अलि आएका ग्राहकहरू पनि आउन छोड्लान् भन्ने डर, भाउ नबढाऊँ भने घाटा भइरहेको छ । पहिला पाँच रुपैयाँ नाफा लिन्थ्यौँ भने अब २ रुपैयाँ नाफामा झरेका छौँ । सेवा दिँदा पनि छुट दिनुपरेको छ, उता उत्पादन किन्न हामीलाई महँगो परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्